पोखरा, नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार सम्हालेका छन्। बडादसैँको फूलपातीका अवसरमा शनिबार दिउँसो ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन्।
हालै राजधानीमा सम्पन्न १५औँ महाधिवेशनबाट उनी भारी मतका साथ विजयी भएका थिए । वटुकबाट स्वस्ति वाचन र शपथपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालगायतले माला पहिर्याइदिएका थिए । शपथ ग्रहणलगत्तै उनले सानेपास्थित केन्द्रीय कार्यालय पुगेर पार्टी सभापतिको कार्यकक्षमा पदबहाली गरेका छन्।

शपथ ग्रहण समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नवनिर्वाचित केन्द्रीय समितिका बाँकी पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण भने दसैँलगत्तै आयोजना गरिनेछ। धेरैजसो निर्वाचित प्रतिनिधिहरू दसैँ मनाउन गृहजिल्लातर्फ गइसकेकाले सभापतिको मात्रै शपथ गराइएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज २३ गते नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो। त्यसपछि राष्ट्रिय सभागृहमा सुरु भएको सभापति पदको मतगणना असोज २४ गते सकिँदा गगनकुमार थापा भारी मतका साथ सभापतिमा निर्वाचित भएका थिए।
केन्द्रीय समितिका बाँकी पदहरूको मतगणना भने सानेपास्थित पार्टी कार्यालयमा गरिएको थियो। असोज ३० गते बिहान मधेस र बागमती प्रदेशको मतपरिणाम आएसँगै महाधिवेशनको सम्पूर्ण मतगणना कार्य सकिएको हो।
निर्वाचन समितिका अनुसार यसपटक महाधिवेशनमा कुल ७ हजार ३९२ मतदाताले भाग लिएका थिए। कुल २२९ पदका लागि भएको प्रतिस्पर्धामा ७७ प्रकारका पद समावेश थिए र प्रत्येक प्रतिनिधिले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए। महाधिवेशनबाट कुल २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।
दसैँपछि नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम हुनेछ। त्यसपछि बस्ने नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा रणनीति तय गर्ने जनाइएको छ













