पोखरा, धर्म, कला र संस्कृतिको संरक्षण गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन। विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको सन्दर्भमा सिटीवान टेलिभिजनले पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले चाडपर्वले आपसी आत्मीयता, सद्भाव र एकतालाई थप बलियो बनाउने विश्वास समेत ब्यक्त गरेका छन।
कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य बिना गुरुङले राष्ट्र निर्माण र नागरिकलाई सर्वसुलभ सेवा दिन आफू निरन्तर क्रियाशील रहने बताइन्। उनले वर्तमान सरकारले आफ्नै ढङ्गले देशको हितमा काम गरिरहेको उल्लेख गर्दै सरकारलाई रचनात्मक सुझाव दिन आग्रह गरिन्।
समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पूर्वाधार क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको बताए। उनले मुलुकको समृद्धिका लागि सबै राजनीतिक दल गम्भीर बन्दै साझा प्रयासमा जुट्नुपर्नेमा जोड दिए। चाडपर्वका नाममा देखिने विकृति र घृणा गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
यसैगरी गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा शेषनारायण पौडेलले देशमा सुशासन र सदाचार कायम भए मात्र आर्थिक विकासले गति लिने बताए। चाडपर्वको सांस्कृतिक महत्त्वसँगै आर्थिक पक्ष पनि जोडिएकाले यसले समस्यामा परेको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा उनले राखे।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडपर्वहरू संस्कृतिका अमूर्त सम्पदा भएकाले तिनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने औँल्याए। यस्तै पोखरा महानगरपालिका वडा नम्बर १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीले सबै नागरिकले सहज र समान रूपमा चाडपर्व मनाउन पाउने वातावरण निर्माण हुनुपर्ने बताइन्।
सिटीवान टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले वर्तमान परिस्थितिमा टेलिभिजन सञ्चालन सहज नभए पनि सबैको साथ र सहयोगले यहाँसम्म पुग्न सफल भएको बताए। उनले आगामी दिनमा पनि सरकार र व्यवसायीको सकारात्मक भूमिकाको अपेक्षा गरे।
टेलिभिजनका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कोषाध्यक्ष राजेन्द्र ओझाले देशमा आएका विपत्तिले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै उद्योगी व्यवसायीलाई सरकारको साथ आवश्यक रहेको बताए। टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा उद्योगी व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी र कर्मचारीहरूको उपस्थिति रहेको थियो।













