पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र भिजिविलिटी कम भएको समयमा पनि बिमानको उडान र अवतरण प्रक्रियालाई सहज बनाउनभूउपग्रहमा आधारित आधुनिक प्रविधि जडान गरिने भएको छ। आरएनपी एआर नाम दिइएको उक्त प्रविधि सञ्चालनमा आएपछि खराब मौसमका कारण विमान डाइभर्ट हुने र उडान रद्द हुने समस्या घट्ने बिश्वास लिईएको छ। हाल पोखरा विमानस्थलमा रेडियो संकेतका आधारमा मात्र उडान र अवतरण हुँदै आएको छ।
पोखराको भौगोलिक अवस्थिति र वरपरका पहाडी भूबनोटका कारण प्रतिकूल मौसममा उडान सञ्चालन गर्न चुनौती रहेकोमा उक्त प्रणाली कार्यान्वयनमा आएपछि कम भिजिविलिटीमा पनि जहाज सुरक्षित रूपमा अवतरण गर्न सक्ने छन्। यसले पुनः अवतरणको प्रयास गर्नुपर्ने र उडान अन्यत्र मोड्नुपर्ने झन्झट अन्त्य गर्ने छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पोखराको हवाई सेवालाई थप सुरक्षित र विश्वसनीय बनाउन यो तयारी गरिएको बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ। यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध र रद्द हुने समस्या घटाउन सहयोग पुग्ने छ,’ उनले भने।
यो प्रविधि पूर्ण रूपमा लागू गर्न केही प्राविधिक चरण पार गर्नुपर्ने हुन्छ। विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्यांकन र नियामकीय मापदण्ड अनुसार स्वीकृति प्राप्त गरेपछि प्रणाली सञ्चालनमा आउने छ। सम्पूर्ण प्रक्रिया पूरा भएपछि यात्रुले थप नियमित, भरपर्दो र सुरक्षित हवाई सेवा पाउने विश्वास लिइएको छ।













