पोखरा, पोखरा महानगरपालिका -१४ मा संचालनमा रहेको सामुदायिक कलेज कालिका बहुमुखी क्याम्पस पोखराको ३५औँ क्याम्पस सभा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथिको रुपमा बोल्दै क्याम्पसका संरक्षक समेत रहेका लेफ्टिनेन्ट कर्नेल जेपी क्रसले कालिका बहुमुखी क्याम्पस शिक्षाको ज्योति बनेर देशविदेशमा आफ्नो प्रकाश फैलाउन सफल भएको बताए । क्याम्पसको परिकल्पना गर्ने र निस्वार्थ भावनाले समय दिने सबै सरोकारवालालाई उनले धन्यवाद दिए ।
ब्रिटिस इन्डियन आर्मीमा रहँदा सेवाको सुरुवाती दिनमा एक नेपाली सिपाहीले आफ्नो नाम, बुवाको नाम र गाउँको नामसमेत स्पष्टसँग भन्न नसकेको क्षण स्मरण गर्दै क्रसले नेपालमा शिक्षाको ठूलो महत्व रहेको बताए । त्यही अनुभव र चेतनाले आफूलाई नेपाल आएर शिक्षा क्षेत्रमा योगदान पुर्याउने निर्णय लिन प्रेरित गरेको उनले सुनाए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले तीन दशकको अवधिमा क्याम्पसले हासिल गरेको प्रगति र उन्नतिका लागि संस्थागत स्थायित्व महत्वपूर्ण रहेको बताए । क्याम्पसको विकासलाई केन्द्रमा राखेर काम गर्न उनले उपस्थित संरक्षक र सिनेटरलाई आग्रह गरे । क्याम्पसलाई यस क्षेत्रको प्रतिष्ठित क्युएए प्रमाणपत्र प्राप्त सामुदायिक क्याम्पसका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।
सभामा क्याम्पसको शैक्षिक विकास, संस्थागत स्थायित्व, आर्थिक तथा प्रशासनिक पारदर्शिता र आगामी शैक्षिक कार्यक्रमको बारेमा छलफल गरिएको थियो। आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित वार्षिक बजेटको साथै क्याम्पस प्रमुख प्रा. बिरन्जी गौतमले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा नीति र कार्यक्रम पनि सभाले अनुमोदन गरेको छ ।
सभामा बोल्ने वक्ताहरूले आगामी दिनमा दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । बजारको मागअनुसारका शैक्षिक कार्यक्रम सञ्चालन गरी आवश्यक सीप र दक्षता भएका जनशक्ति उत्पादन गर्नुपर्ने उनीहरूको सुझाव थियो ।
सभामा क्याम्पसका संस्थापक सदस्य डा. कृष्ण केसी, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका सदस्य गोकर्ण कार्की, त्रिभुवन विश्व विद्यालयका प्रतिनिधि डा. पितृराज बास्तोला, सिनेटर तथा पूर्वक्याम्पस प्रमुख बालाकृष्ण शर्मा र संस्थापक प्राध्यापक रामराज रेग्मीलगायतले धारणा राखेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको सभामा सिनेटर माधवप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए भने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रहेका पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्वागत गरेका थिए ।













