Play

बुढी गण्डकीमा बाढीको बितण्डा: १० जना सम्पर्क बिहिन, ६ वटा पुल बगे, करिब २ सय घर क्षतिग्रस्त

गुरुकुल खबर


पोखरा, गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा गएको पहिरोपछि बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि नदी आसपासका बस्ती, पुल, पदमार्ग र अन्य संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण कम्तिमा ६ वटा पुल बगेको र कम्तीमा १० जना सम्पर्कविहीन भएका छन। बाढीले त्रिपुरासुन्दरी गाउँपालिकाका १५९ बढी घरमा क्षती पुगेको छ भने चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर बगाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा समेत ठूलो क्षति पुर्‍याएको छ। आयोजनाका ९ वटा ब्लक र ६ वटा पब्लिक बिल्डिङ बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आयोजनामा कार्यरत १८ जना कर्मचारीले भने भागेर ज्यान जोगाएका छन्। स्थानीयले बाढी आउन लागेको सूचना दिएपछि उनीहरू सुरक्षित स्थानमा पुगेका थिए।  ‘प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू आआफ्नो क्षेत्रमा उद्वारको लागि परिचालित गरिएको थियो। उद्धारका लागि सेनाको हवाई टोली काठमाडौंँबाट परिचालित भएको छ। स्थलगत रूपमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका छन्।

बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुलसमेत बगाएको छ। पुल बगेपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ। गोरखासँगको सम्पर्कसमेत टुटेको छ। त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार बाढीले त्यस क्षेत्रका करिब १५० घरमा पसेर क्षति पुर्‍याएको छ। घरहरूमा क्षति हुनुका साथै दुई पालिकालाई जोड्ने मुख्य पुल पनि बगेको उनले बताए। ‘हाम्रो मुख्य पुल नै बाढीले बगाएपछि गोरखासँगको सम्पर्कसमेत टुटेको छ,’ अध्यक्ष उप्रेतीले भने। पुल बगेपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ। बाढीबाट प्रभावित घरपरिवार र पुलमा भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुई वटा मोटरेबल पुल र चार वटा झोलुंगे पुल बगाएको छ। धादिङको त्रिपुरासुन्दरी र गोरखाको आरुघाटस्थित सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ। आरुघाटस्थित मध्यपहाडी लोकमार्गमा पर्ने पुल पनि बगेको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ हुल्चोक र वडा नम्बर ३ उहिया जोड्ने बेलिब्रिज बाढीले बगाएको छ। धार्चे गाउँपालिका–५ माछीखोला र केरौँजा जोड्ने झोलुंगे पुल पनि बगेको छ।

चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुलसमेत बाढीले बगाएको छ। सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुंगे पुल पनि क्षतिग्रस्त भएको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ। स्थानीयका अनुसार बूढीगण्डकी नदी बेलाबेला थुनिने गरेको छ। नदी थुनिएपछि एक्कासि लेदोसहितको बाढी आउने गर्दा आसपासका बस्तीमा क्षति हुने गरेको उनीहरूले बताएका छन्।

बाढीको प्रभाव गोरखा र धादिङमा मात्र सीमित छैन। बूढीगण्डकी नदीको जलसतह जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्म बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।

२६ आश्विन २०८३, सोमबार ०७:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा