पोखरा, पोखराको सिद्धार्थ क्लब बार्षिक साधारण सभा एबम अधिबेशनबाट आगामी कार्यकालको लागि अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा एबम अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा नवराज गोठाजु, द्वितीय उपाध्यक्षमा प्रकाशमान श्रेष्ठ, निर्देशकमा ज्ञानेश्वर राज श्रेष्ठ, सचिवमा अनिल श्रेष्ठ र कोषाध्यक्ष मदन मुल्मीलाई चयन गरिएको छ।
यसैगरि क्लबको सहसचिवमा जमुना अधिकारी एबम सदस्यहरुमा शशी मर्सानी र वीरेन्द्र बाटाजुलाई चयन गरिएको छ। वि.सं. २०४१ सालमा स्थापना भएको सिद्धार्थ क्लबले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लबले आगामी दिनमा बाल शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा सामाजिक सेवाका कार्यक्रमलाई थप व्यवस्थित बनाउने जनाएको छ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शनिबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका थिए। निर्वाचन संयोजक इन्दिरा मर्सानी श्रेष्ठको संयोजनमा नयाँ नेतृत्व चयन गरिएको हो।

समारोहमा गैरसरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदम पहारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, सल्लाहकार समिति संयोजक सचिन श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तलगायत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरू पनि सहभागी थिए।
पदभार ग्रहण गर्दै नबनिर्बाचित अध्यक्ष श्रेष्ठले सिद्धार्थ क्लबलाई सेवा, सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबको विधान, नीति, नियम र मूल्य–मान्यतालाई आत्मसात् गर्दै पारदर्शिता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्ने बताए।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको सुरुवातमै बालबालिकाको शिक्षाका लागि आंफ्नो परिवारको तर्फबाट २ लाख रुपैयाको अक्षय कोष स्थापना गर्ने घोषणा सहित दुईलाखको चेक क्लबलाई हस्तान्तरण गरिएको छ। उनले आफ्ना स्वर्गीय बुबा डिलबहादुर श्रेष्ठको स्मृतिमा ‘स्वर्गीय डिलबहादुर श्रेष्ठ स्मृति अक्षयकोष’ स्थापना गर्ने घोषणा गर्दै सिद्धार्थ क्लब मार्फत सञ्चालन गरिने उक्त कोषबाट आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराउने लक्ष राखिएको छ।

पदस्थापना समारोहमा क्लबको बाल शैक्षिक कार्यक्रमअन्तर्गत विद्यालय पोशाक तथा स्टेशनरी वितरण, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग तथा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो।













