पोखरा, पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङको शनिबार साँझ मृत्यु भएको छ । सशस्त्र प्रहरीले उनलाई दिउँसो करिब ३ बजे फेवातालको ३० फिट जति गहिराईबाट अचेत अवस्थामा उद्धार गरे पनि उपचारका क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो ।
उदयपुर घर भएका तामांग पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि कायकिङ गर्दा उनी तालमा डुबेका हुन् । उनी डुबेको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटर कालिका फेवा रेस्क्यु टावरबाट टोली खटिएको थियो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको विपद् उद्धार टोलीले तालबाट बाहिर निकाल्दा उनी अचेत अवस्थामा थिए । उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसो २ बजेर ५५ मिनेटमा गण्डकी मेडिकल कलेज पठाइएको थियो । अस्पतालमा उपचारकै क्रममा साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।














