पोखरा, भोटेकोशीमा आएको आकस्मिक बाढीमा परेर ज्यान गुमाएकाहरुमध्ये १०२ जनाको शव पोखरामा ल्याइएकोमा ७६ वटा पोखरामा नै जमिन मुनि गाडेर व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिका- १६ दीपस्थित सेती नदीको किनारको जंगलमा मंगलवार ७६ वटा शव व्यवस्थापन गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा राखिएका शवहरु उक्त जमिनमुनि लगेर व्यवस्थापन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्रांगत बरालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन गरिएका सबै शव थप पहिचानको लागि डिएनए गर्न नमुना राखिएको छ ।
यसैबीच कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार उक्त बाढीका कारण कास्की जिल्लाका ५४ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ कतिपयले घटनमा परेका आँफन्तको बारेमा जानकारी नपाउँदा यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएपनि हालसम्म कास्की जिल्लाका ५४ जना बेपत्ता भएको जानकारी जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको बरालले गुरुकुल खबरलाई जानकारी दिए ।
भोटेकोशीमा यहि भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका व्याक्तिहरुको शव पोखरा ल्याइएको थियो । गण्डकी प्रदेश र धादिङस्थित नदी किनारमा भेटिएका शव व्यवस्थापनमा सम्बन्धित जिल्लाहरुमा समस्या भएपछि पोखरा ११ गतेदेखि नै पोखरा ल्याउन सुरु गरिएको थियो । अस्पतालको तथ्यांक अनुसार गैंडाकोटबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ जनाको शव पोखरामा ल्याइएको थियो । प्राप्त शवहरुमध्ये सोमबार सबैको पोस्टमार्टम गरिएको बताइएको छ ।
शव पहिचानमा सहज होस् भनेर गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको परिसरमा मृतकका परिवारका सदस्यले मृतकको तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको थियो । पहिचान भएका शवहरुलाई कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ । यस क्रममा सोमबारसम्म १६ जनाको शव पहिचान भएर परिवारलाई बुझाइएको थियो । मंगलबार मात्र ५ शव पहिचान भएपछि बाँकी रहेका ७६ शव उक्त स्थानमा व्यवस्थापन गरिएको हो ।

‘बिहानसम्म ७८ शव व्यवस्थापन गर्ने कुरा भएको थियो । त्यही क्रममा २ शव आफन्तले पहिचान गरी लगेपछि ७६ जनको व्यवस्थापन गरिएको छ,’ उनले भने । जसमध्ये धादिङबाट ल्याइएको २२, गोरखाबाट ल्याइएको ७ नबलपरासी (पूर्व) बाट ल्याइएको २५ र तनहुँबाट ल्याइएको २२ वटा शव छन् । कास्कीका प्रहरी उपरीक्षक नबिन कार्कीका अनुसारमा गाडिएका शवमा ट्याग राखिएको छ । बाँकी ५ जनाको शव पहिचानका लागि अस्पताल मै राखिएका छन् । पोखरामा ल्याएको शवमध्ये २१ शव आफन्तले पहिचान गरी लगेका छन् ।
पहिचान भएकाहरुमा भरतपुर चितवनका ३६ वर्षीय सत्यसुन्दर प्रजापति, अर्घाखाँची पाणिनी गाउँपालिका ७ का ४५ वर्षीय नारायण बहादुर थापा, मकवानपुर हेटौंडा ५ का ३६ वर्षीय उद्धव खड्का, नवलपरासी पश्चिम सुस्ता गाउँपालिका १ का ३७ वर्षीय यादव भण्डारी, शव नम्बर १ (ख) का ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी, धादिङ खनियाबास ५ घर भई हाल काठमाडौँको मनमैजु बस्ने ४२ वर्षीय संजोग घर्तीमगर, नुवाकोट विदुर ७ की ५६ वर्षीया शारदा ढकाल, गोरखा पालुङटार नगरपालिका ६ का ५५ वर्षीय यमबहादुर थापा, पाल्पा तानसेन १० घर भई हाल रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ३४ वर्षीय प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव रहेको र ति शव आफन्तले बुझेर लागेको बताइएको छ।
यसैगरी नुवाकोट विदुर १० आग्रीटारका ५ वर्षीय बालक प्रतिन्स तामाङ, रसुवा उत्तरगया ५ का बालक प्रभास भनिने पुरुषोत्तम रैला, सप्तरी खडक ५ रञ्जितपुरका २८ वर्षीय सन्तोष चौधरी, काभ्रेपलाञ्चोक पाँचखाल ६ का ४६ वर्षीय डिकबहादुर कायस्थ, गोरखा पालुङटार ५ का ४० वर्षीय केदार पण्डित, काठमाडौंको बौद्ध बस्ने ३४ वर्षीय राजु सुनार, बिरबहादुर श्रेष्ठ, अनिता तामाङ, अष्टलक्ष्मी डंगोल, सोनिया डंगोल, तारा रानाभाट र हसना खतुनको शव पनि आफन्तले पहिचान गरी बुझेर लगेको बताइएको छ ।

काठमाडौँमा ८५ वटा शवको ब्यबस्थापन
यसैबीच रसुवा, नुवाकोट र धादिङ जिल्लाका भोटेकोशी तथा त्रिशुली नदी किनारका क्षेत्रहरूमा आएको भीषण बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव मध्ये पहिचान भएका शवहरू सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिए पनि काठमाडौँको शिक्षण अस्पतालको मर्चरीमा रहेका अधिकांश शवहरू क्षत विक्षत, अङ्गभङ्ग भएको र कुहिँदै गएको अवस्थामा छन् । अस्पतालमा थप शवहरू आउने क्रम जारी रहेको, शव राख्ने स्थानको अभाव भएको र समयमै उचित व्यवस्थापन नभए दुर्गन्ध तथा महामारी फैलन सक्ने उच्च जोखिम सिर्जना भएकाले शव व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो ।
जिल्ला सुरक्षा समिति काठमाडौँको भदौ १५ गतेको निर्णयअनुसार हालसम्म पहिचान हुन नसकेका ८५ वटा शवलाई पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ (संशोधन २०८३ सहित) को प्रावधान बमोजिम अस्थायी रूपमा सुरक्षित तरिकाले व्यवस्थापन गरिएको छ । शव व्यवस्थापन गर्दा प्रत्येकको फोटो, डिएनए परीक्षणका लागि अङ्गको नमुना र ‘बडी ट्यागु लगाई राष्ट्रिय मानव अधिकार आयोग, नेपाल रेडक्रस सोसाइटी र आईसीआरसीको रोहवरमा अन्तर्राष्ट्रिय प्रोटोकल पालन गरिएको छ ।















