पोखरा, भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण पिडित र प्रभावित नागरिकहरुको लागि पोखरा क्षेत्रक बिभिन्न व्यक्ति र संघसंस्थाले आर्थिक सहयोग गर्ने क्रमलाई निरन्तरता दिएका छन।
यसै क्रममा कास्कीको सार्दीखोलामा संचालित गण्डकी रेन्बो ट्राउट फार्मले ५ लाख ५ सय ५ रुपैयाँ सहयोग गरेको छ । फार्मका सञ्चालक लक्षिन गुरुङ र अमृत गुरुङले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । त्यस्तै फार्ममा कार्यरत कर्मचारीले पनि १५ हजार ५ सय रुपैयाँ संकलन गरी सोही कोषमा जम्मा गरेका छन् ।

यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित नागरिकका लागि लेखनाथ उद्योग वाणिज्य संघले २ लाख रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको छ । विपद्को यो कठिन समयमा प्रभावितको उद्धार र राहतमा सघाउनु संस्थागत दायित्व भएको संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले बताइन् । निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारसँग सहकार्य गर्दै आएको उनले जानकारी दिइन् ।

यसैगरी बाढीबाट पीडित नागरिकका लागि युनाइटेड क्लब पोखराले १ लाख रुपैयाँ सहयोग गरेको छ । क्लबले सरकारको एकद्वार प्रणालीलाई पछ्याउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । कोषमा रकम जम्मा गरेपछि क्लबका अध्यक्ष लोकबहादुर थापा नेतृत्वको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर यसबारे जानकारी गराएका छन् ।

भोटेकोशी र रसुवा क्षेत्रका बाढी प्रभावितको सहयूग्को लागि पोखराको सहारा क्लबले पनि १ लाख ५० हजार ६ सय ४२ रुपैयाँ सहयोग गरेको छ । क्लबले आफ्नो तर्फबाट ५० हजार रुपैयाँ र विभिन्न व्यक्तिबाट संकलन भएको १ लाख ६ सय ४२ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा जम्मा गरेको हो । प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार र उपचारमा सघाउन यो रकम प्रदान गरिएको क्लबले जनाएको छ ।

क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार बाढी पीडितको राहतका लागि सदस्यहरूलाई सहयोगको आह्वान गरिएको थियो । उक्त आह्वानमा क्लबका ३१ जना सदस्यले स्वतःस्फूर्त रूपमा रकम जुटाएका हुन् । फोटो पत्रकार तथा क्लब सदस्य सुदर्शन रञ्जितले सबैभन्दा धेरै १६ हजार ९ सय रुपैयाँ र क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले १० हजार ५ रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।
यसैगरी पोखराको सिध्दार्थ टोल विकास संस्थाले तिज कार्यक्रमको लागि भनेर छुट्याइएको रकममा स्थानीयस्तरमा घरदैलो गरेर संकलन गरिएको रकम समेत जोडेर १ लाख १७ हजार १५ रुपैया बाढी पिडितको लागी सहयोग गरेको छ । संस्थाका पुर्व अध्यक्ष पार्वती माकाजु, पुर्व अध्यक्ष सम्झना माकाजु, उपाध्यक्ष कल्पना गौतम, सचिव जमुना आचार्य, कोषाध्यक्ष, लिला श्रेष्ठ, सदस्य अनिता लिगल, सर्मिला पराजुली र राहत संकलन कार्यक्रमका संयोजक देव श्रेष्ठको पहलमा उक्त रकम संकलन भएको संस्थाकी पुर्व अध्यक्ष पार्वती माकाजुले गुरुकुल खबरलाई जानकारी दिईन।

यसैगरी पोखराको सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीहरूले पनि बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिने उद्देश्यले आँफुहरुबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन। बहिरा बिधार्थीहरुले ९ हजार ५८० रुपैया संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको सोही बिधालयका शिक्षक गंगा थापा मगरले गुरुकुल खबरलाई जानकारी दिईन ।

विपद्को कठिन समयमा आफूहरूले सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ विद्यार्थीहरू स्वस्फूर्त रूपमा सहयोग अभियानमा सहभागी भएको उनले बताईन । उमेर र क्षमताले सानो भए पनि विपतमा परेका नागरिकलाई सहयोग गर्ने विद्यार्थीहरूको प्रयास उदाहरणीय र प्रशंसनीय रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्माले जनाएका छन । रसुवाका बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले संकलन गरेको रकम जम्मा गरिएको हो।
यसैगरी पोखराको चिप्लेढुंगास्थित पोखरा ट्रेडमलमा व्यापार ब्यबसाय गर्ने महिलाहरुको दिदीबहिनी समुहले पनि बाढी पिडितहरुको राहत र उद्वारको लागि ५० हजार १ सय रुपैया सहयोग प्रदान गरेको छ यस बर्षको तीज कार्यक्रमका लागि भनेर छुट्याएको रकम बाढी पिडितको लागि भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको दिदीबहिनी समुहकी सिमा कोइरालाले गुरुकुल खबरलाई जानकारी दिईन।
















