Play

आकस्मिक बाढीमा ६२६ को शव भेटियो, २४ सय बढी सम्पर्कबिहीन: प्राधिकरण, दुबैतर्फको संख्या अझै बढ्ने

गुरुकुल खबर


काठमाडौँ, रसुवाको भोटेकोशीमा आकस्मिक रुपमा आएको बाढीका कारण मृत्यु हुने मध्ये ६ सय २६ जनाको शव भेटिएकोराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भोटेकोसी बाढीसम्बन्धमा शनिबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै प्राधिकरणले  विभिन्न मानव अङ्गसहित हालसम्म ६ सय २६ जनाको शव फेला परेको जनाएको हो।

बाढीमा भेटिएका शवको विवरण हेर्दा सबैभन्दा बढी चितवनमा २ सय ३३ वटा, नवलपरासी पूर्वमा १ सय ५८ वटा, नवलपरासी पश्चिममा ४७ वटा शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणको तथ्याङ्क छ।

बाढीमा परी अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएपनि यो संख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ। बेपत्ता हुनेमा ठुलो सङ्ख्या जलविद्युत् आयोजनाका कामदारहरूको पनि रहेको छ। आयोजनाहरूबाट मात्रै ९ सय ३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना बेपत्ता छन्।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार रसुवामा ५ सय ६२, नुवाकोटमा १ सय १५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन छन्। विदेशी नागरिक ५ सय १७ जना र बिदा मनाउन आएका विदेशमा बस्ने नेपाली १ सय २७ जनाको अवस्था पनि अज्ञात छ। भन्सार कार्यालयका १५, अध्यागमनका ४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बेपत्ताको सूचीमा छन्।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार २ सय २४ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ६ हजार ७ सय ५५, नेपाल प्रहरीका ४ हजार ८ सय ११ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना खटिएका छन्।

हालसम्म ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १ सय ९१ जनालाई जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएको हो। आज मात्रै ५ सय १७ जनाको हवाई उद्धार गरिएको छ। विदेशी नागरिक १ सय २९ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

हवाई उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत ९९ उडान भरिएको छ। घाइतेमध्ये १ सय १ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उपचारका लागि सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।

बाढीले सञ्चार क्षेत्रमा पनि ठुलो क्षति पुर्‍याएको छ। कुल १ सय ९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १ सय ४४ वटा सञ्चालनमा ल्याइएको छ। सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिएको छ।

नेपाल सरकारबाट रसुवा र नुवाकोटलाई १/१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ। हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरमार्फत ७ उडान गरी थप सामग्री र सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

उद्धार कार्यलाई निरन्तरता दिन इन्धनको पनि व्यवस्थापन भइरहेको छ। नुवाकोटस्थित विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात छ। हवाई इन्धनतर्फ ३९ हजार लिटर नुवाकोट पठाइसकिएको छ। हाल ८ हजार लिटर मौज्दात छ भने थप ९ हजार लिटर बाटोमा रहेको प्राधिकरणले उल्लेख गरेको छ।

१३ भाद्र २०८३, शनिबार ११:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा