पोखरा, नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तर्गत संचालित प्रादेशिक रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नयाँ र सुबिधा सम्पन्न भवनमा संचालनमा रहेपनि सोही अनुसारको प्राविधिक उपकरण जुटाउनुपर्ने आवश्यकता औंल्याईएको छ । रक्तसञ्चार केन्द्र पोखरामा लामो समय काम गरेर हालै सेवानिवृत्त भएका अर्जुन ज्ञवालीले ब्लड बैंकको सुविधा सम्पन्न भवनमा प्राविधिक उपकरणको भने कमी रहेको बताए ।
लामो समय काम गरेर बिदाई हुँदै गर्दा ज्ञवालीले रक्तसञ्चार सेवालाई समय सापेक्ष तथा गुणस्तरीय बनाउन आवश्यक प्राविधिक उपकरण जुटाउन कार्यसमितिलाई सुझाव दिंदै कास्की रेडक्रस र ब्लड बैंकको कारण आँफुले समाजको सबै तहमा पुग्ने अवसर पाएको प्रतिक्रिया दिए । उनले रक्तसंचार केन्द्रमा रगतको अभाव हुन नदिन रेडक्रस र रक्तसंचार केन्द्रका जिम्मेवार व्यक्ति सचेत र जिम्मेवार बन्न आग्रह गरे ।
रक्तदान गर्ने बिषय मानबिय सहयोगको विषय भन्ने सोचाई नागरिक तहमा फैलाउन ज्ञवालीले आंफ्नो जन्म दिनमा हरेक नागरिकले रक्तदान गर्न उपयुक्त हुने भन्ने संदेश प्रवाह गरेपछि पोखराको रक्तसंचार केन्द्रमा पुगेर रक्तदान गर्नेहरुको संख्या बढ्दो छ । रगतको अभाव हुन् नदिन सर्बसाधारणले आंफ्नो जन्म दिनमा केन्द्रमा पुगेर रक्तदान गर्न सक्ने ब्यबस्था मिलाइएको छ।
आंफ्नो जन्म दिनमा रक्तदान गर्ने र कसैको जीबन बचाउने मानबिय सेवाको अभियान ज्ञवालीको सोचका कारण संचालनमा छ। उनले शुरु गरेको यो अभियानलाई सरोकारवाला सहित धेरैले प्रशंसा समेत गरेका छन।
कास्की रेडक्रसका कार्यालय प्रमुख कृष्णप्रसाद कोइराला पनि रक्तसञ्चार केन्द्रका निवर्तमान प्रमुख ज्ञवालीले समाजमा रक्तदानको संस्कृति बसाउन र रगतको अभाव टार्न जन्मदिनलाई मानव सेवामा जोड्दै आफैँले रक्तदान गर्ने तथा अरूलाई पनि प्रेरित गर्न अभियान शुरु गरेकोमा अहिले मानिसहरु आएर जन्म दिनको सन्दर्भमा रक्तदान गर्ने क्रम बढेको बताउंछन ।
आकस्मिक रक्तदान युनिट पोखराका व्यवस्थापक हरिश्चन्द्र शर्माका अनुसार ज्ञवालीको सोच र मार्गदर्शनबाट ‘जन्मदिनमा रक्तदान गरी, रगतको अभावलाई न्यून गरौँ भन्ने अभियान शुरु गरिएकोमा अहिले उक्त अभियान प्रभावकारी बनेको छ ।
केन्द्रका निमित्त इञ्चार्ज महेन्द्र केसीले पनि ब्लड बैंकलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन ज्ञवालीको योगदान रहेको जानकारी दिए । केन्द्रका नयाँ प्राविधिकले ज्ञवालीको योगदानको अनुशरण गर्न पर्ने उनले उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले केन्द्रको संस्थागत विकास, सेवा विस्तार, व्यवस्थापन सुदृढीकरण तथा रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धिमा ज्ञवालीको महत्वपूर्ण योगदान रहेको बताइन् । उनले केन्द्रको स्तरोन्नतीको लागि चासो र चिन्ता गर्न आग्रह गरिन् ।
कास्की रेडक्रसका निवर्तमान सभापति डण्डराज शर्मा पौडेलले रक्तसञ्चार सेवा जस्तो संवेदनशील मानवीय क्षेत्रमा कार्यरत रहँदा ज्ञवालीको जिम्मेवारीलाई सदैव उच्च प्राथमिकतामा राख्ने चर्चा गरे । उनले रक्तदाताको सम्मान, सेवाग्राहीप्रतिको संवेदनशीलता, सहकर्मीप्रतिको सहकार्य र संस्थाप्रतिको निष्ठालाई ज्ञवालीले व्यवहारमा उतारेको बताए ।
रेडक्रस सोसाइटीको कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले रक्तसञ्चार केन्द्रलाई थप व्यवस्थित, प्रभावकारी, सेवामुखी बनाउन तथा आधुनिक प्रविधि भित्र्याउन ज्ञवालीले कार्यसमितिको भन्दा बढी योगदान दिएको बताए ।
यसैगरी सोसाइटिका उपसभापति रमा कोइराला न्यौपानेले सेवाग्राहीको चापलाई मध्यनजर राख्दै पोखरा स्वास्थ्य विज्ञान परिसरमा सञ्चार केन्द्रका लागि नयाँ भवन आवश्यक रहेको जानकारी दिइन् ।















