Play

सभापति थापाको बिश्वास- कांग्रेसको आन्तरिक शक्ति संघर्षमा अदालत प्रवेश गर्दैन, महाधिबेशन पनि रोकिन्न

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकताको बिषयमा निर्वाचन आयोगको निर्णयको परीक्षण अदालती बहसबाट पनि निरूपण भइसकेको दाबी गर्दै अदालत फेरी पार्टीका आन्तरिक शक्ति संघर्षको बिषयमा प्रवेश गर्नु न्यायिक संयमता नहुने बताएकाछन । ‘म विश्वाश गर्छु पार्टी भित्रको आन्तरिक शक्ति संघर्षमा सम्मानित सर्वोच्च अदालत प्रवेश गर्दैन भन्ने विश्वास छ । त्यो न्यायिक संयमताभित्र पर्दैन’ सोमबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले भने।

महाधिबेशनको प्रक्रिया शुरु भयो, अशोज १६ मा महाधिबेशन हुन्छ 

सभापति थापाले पार्टीको आगामी महाधिवेशनको मिति तय भइसकेको र अब यसमा कुनै पनि बहानाबाजी नचल्ने समेत स्पष्ट पारेका छन् ।थापाले महाधिवेशनको मिति अब हेरफेर नहुने ठोकुवा गरे र भने ‘असोज १६ गते किन्तु परन्तु महाधिवेशन सुरु हुन्छ,’  भने, ‘यो तिथि अब कुनै पनि हालतमा तलमाथि हुँदैन । भोलिबाटै अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ ।’ उनले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीभित्र हुने गुटगत भागबण्डाप्रति कटाक्ष गर्दै थापाले अब विशेष र नविशेष भनेर वर्गीकरण गर्न नहुने बताए । उनले अधिवेशनको प्रक्रियाबाट कोही पनि छुट्न नहुने भन्दै सबैलाई सहभागी हुन आग्रह गरे । ‘अझै पनि साथीहरू नछुट्नुस् भनेर हामीले आग्रह गरेका छौँ,’ उनले थपे, ‘तर कसैले पनि अधिवेशनको प्रक्रिया रोक्न भने पाउनुहुन्न ।’ थापाले अधिवेशनलाई मर्यादित र धाँधलीरहित बनाउन आफू हरतरहले तयार रहेको बताए । उनले असन्तुष्ट पक्षलाई लक्षित गर्दै भने, ‘अधिवेशनका लागि के–के विषय मिलाउँदा यो स्वच्छ र निष्पक्ष हुन्छ, त्यो गर्न म तयार छु । तर, तपाईंहरू अधिवेशनमा आउनुपर्छ ।’

इतर पक्षले गरेको भेलाको निर्णय स्वीकार्य नहुने 

सभापती थापाले इतर पक्षले गरेका भेलाको निर्णयहरू स्वीकार्य नहुने बताए। ‘त्यसलाई हामी सम्मान गर्छौं तर त्यहाँका निर्णयहरू नीतिको कुनै अंग बन्दैनन्, ‘ उनले भने, ‘कांग्रेस भित्र भेला गर्न पाइँदैन त ? पाइन्छ हाम्रो पार्टीको परम्परा पनि छ । पार्टीको सभापति शेरबहादुर देउवा हुँदैगर्दा मैले धेरै भेला गरेको छु। भेलाहरू हुन्छन् । परम्परा छन् तर त्यसरी नै लिन्छौं ।’

उनले भेलाबारे कांग्रेसको धारणा के‍ हो भन्ने प्रश्न उठिरहेको भन्दै उनले थपे, ‘कांग्रेस को धारणा हिजो जे थियो, त्यही हो। कांग्रेसको आधिकारिक धारणा महासमिति बैठकले गर्छ। जुन अस्ति गोदावरीमा शेरबहादुर देउवाकै सभापतित्वमा सम्पन्न भएको हो।’ उनले संस्थापन इतरसमूहको भेलामा के भइरहेको भन्नेबारे आफूले सुनेको पनि बताए। ‘भेलामा के नेताहरूले भनिरहनुभएको छ भन्नेबारे नेताहरूले सुन्नुपर्छ। मैले पनि सुनेँ,’ उनले भने।

शेरबहादुर दाइ ! तपाईंलाई निकटस्थले हिजो पनि डुबाए र भबिष्यमा पनि दुबाउँछन

कांग्रेस सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नै निकटस्थहरूबाट सतर्क रहन भन्दै देउवालाई निकटका सहयोगी हरूले नै विगतमा डुबाएको र भविष्यमा पनि त्यस्तै हुन सक्ने भन्दै  टिप्पणी गरे । ‘देउवा दाइ सभापतिको नेमप्लेट राखिदिएका छन्, त्यसमा मेरो केही गुनासो छ,’ थापाले भने, ‘तपाईंलाई आफ्नै मान्छेले डुबाए र फेरि पनि डुबाउँछन् भन्ने मलाई लाग्छ ।’ उनले देउवालाई सही सल्लाह दिनेभन्दा पनि आफ्नै स्वार्थमा चलाउनेहरू हाबी भएको सङ्केत गरे ।

सर्वोच्च अदालत र निर्वाचन आयोगमा भएका कानुनी बहसहरू एकपक्षीय नभएको थापाले उल्लेख गरे । पार्टीभित्रै पनि फरक–फरक धारणा आएको भन्दै उनले बैठकको सन्दर्भ जोडे। ‘अहिले संस्थापनबाट उपसभापति विश्वप्रकाश शर्मासहितले आफ्नो धारणा राख्नुभयो, अर्कोतर्फबाट निवर्तमान कार्यवाहक सभापति एवं उपसभापति पूर्णबहादुर खड्कासहितले पनि आफ्नो कुरा राख्नुभएको छ’ उनले भने । थापाले पार्टीभित्रको यो बहसलाई स्वाभाविक र जीवन्त लोकतन्त्रको अभ्यासका रूपमा अर्थ्याए ।

थापाले आगामी १५ औँ महाधिवेशनपछि सभापति देउवालाई सम्मानजनक बिदाइ गर्ने आफ्नो योजना पनि सुनाए । उनले देउवालाई अब कार्यकारी भूमिकाभन्दा माथि उठेर अभिभावकीय भूमिकामा देख्न चाहेको बताए। ‘हामी चाहन्छौँ, १५ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई निवर्तमान सभापतिका रूपमा विशेष अतिथिका रूपमा सम्मान गर्न पाइयोस्’ थापाले आफ्नो प्रस्ताव राख्दै भने।

१ भाद्र २०८३, सोमबार २१:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा