पोखरा, सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका – १७ मा पर्ने रातो पैर्हो सामुदायिक वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । वन क्षेत्रको भिरालो पाखोमा २ सय ५० वटा बाँसका विरुवा रोपिएको उक्त कार्यक्रमको शुभारम्भ पोखरा – १७ का वडा अध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर गरेकी थिईन
त्यस अबसरमा बोल्दै उनले मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताइन वडाअध्यक्ष शाहीले पोखरा- १७ मा रातोपैह्रा र कालजरुवा सजिबन घारी गरि दुईवटा सामुदायिक वन समुह रहेको र चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५ सय बाँसका विरुवा रोप्नका लागि दुवै समुहलाई प्रोत्साहन गरिएको जानकारी दिईन ।

यसअघि पोखरा- १७ मै बिक्रम भण्डारी अध्यक्ष रहेको कालजरुवा सजिवन घारी सामुदायिक वन समूहमा २ सय ७० वटा बाँसका विरुवा रोप्ने कार्य सम्पन्न भएको थियो ।दुवै सामुदायिक वनमा रोपिएको विरुवा वडा कार्यालय पोखरा -१७ ले निशुल्क उपलव्ध गराएको थियो ।
सेतीनदी र फुस्रेखोलाको किनारामा अवस्थित दुवै वन समुहको आयआर्जन र माटो संरक्षणमा बाँसले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ् दुवै बन समुहले बाँसका बिरुवा रोपेका हुन ।
उक्त कार्यक्रममा डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल काफ्लेले वन संरक्षण गर्नु भनेको वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्नुभएको बताए । विश्वमा जनसंख्या वृद्धिसंगै वातावरणीय सन्तुलनमा परेको प्रभाव न्यूनिकरणमा सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेकोले वनलाई उद्यमसंग जोड्नुपर्ने आवश्यकता उनले औंल्याए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य एवम समुहका बरिष्ठ सल्लाहकार हरिप्रसाद बास्तोलाले सिन्धुपाल्चोक जिल्लाको ठोर्कपा सामुदायिक वन समूहबाट शुरु भएको सामुदायिक वनको अभियान हाल मुलुकका ७७ वटै जिल्लामा विस्तार भएको बताउंदै अहिले नेपाललाई सामुदायिक वनको देशका बिदेशमा चिन्न थालिएको बताए ।
साढे बाह्र हेक्टर क्षेत्रफलमा फैलिएको रातोपैह्रा सामुदायिक वन क्षेत्र विभिन्न समयमा वृक्षारोपण गरिएका चाँप, लप्सी, उत्तीस, रुद्राक्ष, बाँससंगै स्थानीय प्रजातिका बोट विरुवाले हराभरा हुँदैगएको छ उपयोग भन्दापनि संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका वन समूहलाई राज्यको तर्फबाट आवश्यक सहयोग गर्नुपर्नेमा बाँस्तोलाको जोड थियो ।
वन समूहका अध्यक्ष भगवान पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु थापाले स्वागत र सचिव लेस्ली ठुसाजुले कार्यक्रम सञ्चालन गरेकी थिईन ।
















