पोखरा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर क्षेत्रमा अबैध रुपमा माटो उत्खनन गरेर बिक्रि गर्नको लागि लैजाने उद्देश्यले लोड गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ३ वटा टिप्पर र १ जेसिभीलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जनाएको छ। यहि साउन ७ गते बिहिबार ति सवारी साधनलाई नियन्त्रणमा लिईएको थियो ।
अबैध रुपमा प्राकृतिक दोहन अर्थात माटो उत्खनन भैरहेको भन्ने जानकारीको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले ति चारवटा सवारी साधन नियन्त्रणमा लिएको थियो। त्यसपछि थप कारबाहीको लागि पोखरा महानगरपालिका पठाएकोमा पोखरा महानगरले ७५ हजार रुपैया जरिवाना तिराएर ति सवारी साधन छोडिएको कास्की प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारी साधनहरुमा ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६ नम्बरको टिप्पर, बा १ क ८१७७ नम्बरको टिप्पर र लु १ ख २९२० नम्बरको टिप्पर रहेको कास्की प्रहरीका सुचना अधिकारी समेत रहेका प्रहरी नायब उपरिक्षक बिरेन्द्र कुमार पासवानले गुरुकुल खबरलाई जानकारी दिए।















