काठमाडौं, फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनको बिचमा प्रतिष्पर्धा हुने भएको छ तिन पटकसम्म विश्वकप जित्न सफल अर्जेन्टिना यस बर्ष समेत दर्दा सातौँ पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यस अगाडी २०२२ मा विश्वकप जितेको अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ । अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्ने निश्चित भएको छ ।
सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।
अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे । इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरे । अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो भने १९३०, १९९० र २०१४ मा फाइनलमा पराजित भएको थियो ।
सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्ड सेमिफाइनलमा तेस्रोपटक पराजित भएको छ । यसअघि १९९० र २०१८ मा पनि सेमिफाइनल पुगेर पराजित भएको थियो । तनावपूर्ण बनेको पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाउन नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा तीन गोल भयो ।
खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । गोर्डनले मोर्गन रोजर्सको क्रसमा गोल गरेका थिए । तर, अन्तिम समयमा अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड सेमिफाइनलमै राेकिन पुग्याे । अर्जेन्टिनाले भने च्याम्पियन शैलीमा अन्तिम पाँच मिनेटको खेल बाँकी हुँदा शानदार पुनरागमन गर्यो । यसअघि प्रिक्वाटरफाइनलमा दुई गोलले पछि पर्दा अन्तिम समयमा कमब्याक गर्दै ३ गोल गरेर खेल जितेको अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यही खेल देखायो ।
८५ औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाला२ खेलमा फर्काए । बराबरि गोल गरेपछि अर्जेन्टिना खेलमा हावी बन्न थाल्यो भने इंग्ल्यान्ड दबाबमा पर्यो । पहिलो गोल गरेपछि इंग्ल्यान्ड रक्षात्मक रणनीति अपनाउँदै अर्जेन्टिनालाई गोल गर्न नदिने प्रयास गरेको थियो । तर लगातारको प्रयास पछि अर्जेन्टिनाले डेडलक तोड्यो । जसले गर्दा खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो ।
दोस्रो हाफमा ९ मिनेटको अतिरिक्त समयमा थप गरिएको थियो । त्यही अतिरिक्त समयको दोस्रो मिनेटमा सुपर सब मार्टिनेजले मेसीकै पासमा गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । महत्तपूर्ण समयमा अग्रता लिएको अर्जेन्टिनाले त्यो अग्रता अतिरिक्त समयमा जोगाउँदै जित हात पार्यो । यो खेलमा दुवै टिमबाट गरी खेलभर २६ वटा फाउल भएको थियो ।
गोल्डेन बुटको दाबेदार को को ?
अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २-१ को पुनरागमन जित हात पार्दा मेसीले दुवै गोलमा असिस्ट गरेका थिए ।
अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्याउँदै उपाधि रक्षा अभियान कायम राख्दै महत्वपूर्ण भूमिका खेलेका मेसी व्यक्तिगत अवार्डतर्फ पनि मुख्य दाबेदार बनेका छन् । इंग्ल्यान्ड विरुद्ध गोल गर्न असफल रहे पनि मेसीले दुई असिस्ट गरेपछि फ्रान्सका किलियन एमबाप्पेलाई असिस्ट संख्यामा पनि पछि पार्दै सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि बढेका हुन् ।
मेसी र एमबाप्पेले ७ खेल खेल्दै समान ८ गोल गरेका छन् । तर मेसीको असिस्ट ४ पुग्दा एमबाप्पेको असिस्ट ३ छ । एमबाप्पेको कप्तानीमा रहेको फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै विश्वकपबाट बाहिरिसकेको छ । अब एमबाप्पेको फ्रान्सले तेस्रो स्थानको लागि इंग्ल्यान्डसँग खेल्नेछ । एक खेल खेल्न बाँकी रहेकोले एमबाप्पेको पनि गोल्डेन बुटको सम्भावना भने बाँकी नै छ ।
एमबाप्पे बाहेक मेसीलाई चुनौती दिने अन्य खेलाडीहरु मेसीको छेउछाउ छैनन् ।
यस्तै ७ गोल गर्दै तेस्रो स्थानमा रहेका नर्वेका एर्लिङ हालान्ड पनि विश्वकपबाट बाहिरिसकेका छन् । सर्वाधिक गोल गर्ने सूचीमा इंग्ल्यान्डका दुई खेलाडी थिए । कप्तान ह्यारी केन र जुड बेलिङघमले समान ६ गोल गरेका थिए । तर सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि दुवैको गोल्डेन बुट दाबेदारी समाप्त भएको छ । यस्तै ५ गोल गरेका फ्रान्सका उसमान डेम्बेले पनि यो होडबाट बाहिरिसकेका छन् ।
फाइनल पुगेको स्पेनका मिकेल ओजाबायाल ५ गोलका साथ सर्वाधिक गोल गर्नेमा सातौं स्थानमा छ । अब फाइनलमा ५ गोल गरे मात्र ओजाबायालले मेसीलाई भेट्नेछन् । अन्यथा मेसी सर्वाधिक गोलकर्ता बन्ने सम्भावना बढी छ । यदि मेसीलाई अन्य खेलाडीले पछि पार्न नसकेमा मेसीले फिफा विश्वकपमा पहिलो पटक सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट अवार्ड जित्नेछन् ।
सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेका मेसीले दुई पटक गोल्डेन बल अवार्ड भने जितिसके । सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्याउँदा उत्कृष्ट खेलाडी बन्दै मेसीले पहिलो पटक गोल्डेन बल अवार्ड जितेका थिए भने सन् २०२२ मा अर्जेन्टिनाले उपाधि जित्दा मेसीले दोस्रो पटक उक्त अवार्ड जिते । मेसी दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो र एक मात्र खेलाडी हुन् ।
यस विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्याएपछि मेसी फेरि गोल्डेन बलको दाबेदारमा पनि अघि आएका छन् । अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक उपाधि जिताउने लक्ष्यमा मेसी छन् । ३९ वर्षको उमेरमा पनि उस्तै जोश र लयका साथ खेलिरहेका मेसीले यस विश्वकपमा नयाँ नयाँ कीर्तिमान बनाउने क्रम जारी राखेका छन् । उनले विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने र नकबउट चरणमा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाए ।
यस्तै मेसीले यसै विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक असिस्ट गर्ने लगायत दर्जनौं कीर्तिमान बनाएका छन् । उनले विश्वकपमा सर्वाधिक ३३ खेल खेलेका छन् भने सर्वाधिक २१ गोल गरेका छन् । यस्तै विश्वकपमा मेसीले नै सर्वाधिक ११ असिस्ट गरेका छन् ।
















