पोखरा, नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका होटल ब्यबसायी सन्तोष पोखरेलसहित पांच जना सदस्य नियुक्त भएका छन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री खडकराज पौडेलका अनुसार बोर्ड सदस्यका रूपमा पोखराका पोखरेलसहित डा. सोविता श्रेष्ठ ढकाल (आरोग्य पर्यटन), पेम्बा शेर्पा (एटके एक्सपिडिसन), खुमबहादुर सुवेदी (टानका पूर्वअध्यक्ष) र सृजना केसी (आईटी तथा वेलनेस पर्यटन विज्ञ) नियुक्त भएका छन् ।
पोखराका होटल ब्यबसायी पोखरेलले नाट्टा गण्डकी प्रदेश, रोटरी क्लब अफ पोखरा मिडटाउन, पोखरा जेसिज लगायत विभिन्न संस्थाको जिम्मेवारी सम्हालिसकेका छन होटल उनि होटल पोखरा बाटिका र बसुन्धरा रिसोर्टका सञ्चालक पनि हुन। पोखराबाट पोखरेल सहित अन्यले पनि पर्यटन बोर्डको सदस्य बन्ने चाहना राखेको भएपनि मन्त्री पौडेलको रोजाईमा पोखरेल पर्न सफल भएका छन।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले ११ सयभन्दा बढी आवेदनमध्ये मूल्यांकन गरी १० जनाको नाम सिफारिस गरेको बताइएको छ । सोही सूचीबाट मन्त्रीस्तरीय निर्णयमार्फत पाँच सदस्य नियुक्त गरिएको र उनीहरुको कार्यकाल तीन वर्षको हुने मन्त्रालयले जनाएको छ ।
पर्यटन बोर्डको संरचनाअनुसार बोर्डमा निजी क्षेत्रका ५ सदस्यबाहेक ५ पदेन सरकारी सदस्य पनि रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सचिव बोर्डका अध्यक्ष रहनेछन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) सदस्यसचिव हुने व्यवस्था छ । हाल पर्यटन बोर्डको सीईओ पद रिक्त रहेकाले अब त्यसको छनोट प्रक्रिया अघि बढाइने मन्त्री पौडेलले जानकारी दिए ।
पर्यटन बोर्डको सदस्य छनोट गर्न गठित सिफारिस समितिका संयोजक पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने र समितिका सदस्यहरुमा अरविन्दकुमार झा र पूर्णकुमार शेर्पा रहेका थिए ।
















