काठमाडौँ, नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो । जसअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई भने २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
यसैगरी सोही प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ । दुवै जना मुद्दाको सुरुवातदेखि नै पुर्पक्षका लागि थुनामा छन्। अब दुलाल र भण्डारी एक वर्ष जेल सजाय भुक्तान पछि छुट्ने छन्।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले यस प्रकरणका ‘मास्टरमाइन्ड’ मानिएका दुवै जनालाई जनही ४० हजार रुपैयाँ जरिवाना समेत गर्ने फैसला गरेको हो । अदालतले उनीहरूलाई ठगी, सङ्गठित अपराध, सरकारी लिखत किर्ते र राज्य विरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत सजायको सिद्धान्त बमोजिम यो फैसला सुनाएको हो ।
मुख्य योजनाकार मानिएका दुलाल र भण्डारीलाई सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार जरिबाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, सङ्गठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना सुनाएको छ। २३ असारमा अदालतले प्रतिवादी ३१ मध्ये १५ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ र ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश गरेको थियो
अदालतको फैसला अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारीसहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढी ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै सजाय पाउनेहरूमा सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्।



















