काठमाडौँ, काठमाडौँका केहि संचारसंस्थाको प्रवेशद्वारमा संकास्पद किसिमले गाडी पार्किंग गरेर अबरोध खडा गरिएको बिषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतकले समेत गम्भीर आपत्ति प्रकट गरेका छन। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले नै संकास्पद ढंगले गाडी पार्किंग गरेको र गृह मन्त्रालयको दवाबमा बिना जरिवाना गाडी जिम्मा लगाइएको कुरा सार्बजनिक भएपनि सोहि पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहलाई घेराबन्दी गरेर वा भौतिक अवरोध सिर्जना गरेर सत्यको आवाज कहिल्यै थुन्न नसकिने भन्दै उक्त कार्यप्रति आपत्ति प्रकट गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै परियारले राजधानीका एक अग्रणी सञ्चारगृहको मुख्य प्रवेशद्वारमा सवारीसाधन पार्किङ गरी आवतजावत अवरुद्ध पार्ने प्रयासप्रति कडा आपत्ति जनाए। उनले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सञ्चार माध्यमलाई तर्साउने कुत्सित प्रयासको संज्ञा दिए। उनले सत्यसँग डराउनेहरूले मात्र यस्ता गतिविधि गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको “हत्केलाले सूर्य छेक्न खोज्नु” जस्तै भएको उल्लेख गरे। सञ्चारगृह घेरेर वा अवरोध खडा गरेर सत्यको आवाज रोक्न नसकिने उनको भनाइ थियो।
परियारले नेपाली पत्रकारिताले निरंकुश शासनकालदेखि नै अनेक चुनौती सामना गर्दै आएको स्मरण गराउँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला सैनिकहरू समाचार कक्षमै पुगेर समाचार सेन्सर गर्ने अवस्था रहे पनि नेपाली सञ्चारमाध्यम नझुकेको बताए। त्यतिबेला बन्दुकको त्रासले नडराएको पत्रकारिता आज केही सवारीसाधन तेर्स्याएर तर्सिने कल्पना दिवास्वप्न मात्र हुने उनको तर्क थियो।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको दल भएको उल्लेख गर्दै सत्ता वा कुनै स्वार्थका नाममा प्रेसमाथि हुने कुनै पनि प्रकारको दबाब स्वीकार्य नहुने बताए।
सञ्चारमाध्यमभित्र पनि सुधार आवश्यक रहेको स्वीकार गर्दै परियारले स्वतन्त्र प्रेस जति जिम्मेवार हुन्छ, त्यति नै लोकतन्त्र र समृद्धिको आधार बलियो हुने धारणा राखे। महात्मा गान्धीको भनाइ उद्धृत गर्दै उनले अनियन्त्रित कलमले पनि क्षति पुर्याउन सक्ने भएकाले पत्रकारिता जिम्मेवार हुनुपर्ने बताए।
उनले सरकार र गृह प्रशासनको ध्यानाकर्षण गराउँदै सबै सञ्चारगृह र पत्रकारले त्रासरहित वातावरणमा निर्बाध रूपमा काम गर्न पाउने सुरक्षा सुनिश्चित गर्न माग गरे। साथै प्रेस स्वतन्त्रतासँगै जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्न पनि उनले जोड दिए।
















