काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित सुकुमवासीको होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता पक्राउ परेको विषयमा सरकारको आलोचना गर्दै फरक मत सुन्न नसक्ने सरकारको शैलीलाई कायरताको संज्ञा दिएका छन । शनिबार राति फेसबुकमार्फत सभापति थापाले राज्यले फरक मत सुन्न नसक्नु राज्यको कायरता भन्दै आलोचना गरेका हुन ।
‘कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरूमध्ये केहीको नाम उल्लेख गर्दै कांग्रेस सभापति थापाले भनेका छन ‘कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ। करुणा विहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!’

उनले सरकारलाई चेतावनी दिंदै भनेका छन ‘लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो। फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो! गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्’।
पक्राउ गरिएका हरुमध्ये सरिश्मा थापा र नहेंद्र थापालाई केहि घण्टा हिरासतमा राखेर रिहा गरिएको भएपनि अन्सारीलाई भने अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा टाउको र अनुहारमा बुटले हानेको र उनि घाइते भएको बुझिएको छ । उनलाई त्रिबि शिक्षण अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ।

प्रतिशोध साधेर अन्सारीलाई पक्राउ गरिएको जेनजी फ्रन्टको आरोप, शिघ्र रिहा गर्न र घाइतेको उपचार गर्न माग
यसैबीच नेपाल जेनजी फ्रन्टले जेनजी अभियन्ता माजिद अन्सारीको गिरफ्तारीलाई ‘प्रतिशोध’ भनेर टिप्पणी गरेको छ । शनिबार माजिदको पक्राउबारे वक्तव्य सार्वजनिक गर्दै जेनजी फ्रन्टले माजिदले सुकुमवासीमाथिको राज्यको दमनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन हालेकाले प्रतिशोध साँधिएको दाबी गरेको छ।
‘सुकुमवासीमाथिको राज्यदमनविरुद्ध रिट लिएर सम्मानित सर्वोच्च अदालत पुगेका निवेदकमध्येका जेनजी अभियन्ता माजिद अन्सारीलाई राज्यले आज प्रतिशोध साँध्दै गैरकानुनी पक्राउ गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जेनजी फ्रन्टको वक्तव्यमा भनिएको छ, ‘सुकुमवासीलाई व्यवस्थापन गर्ने बहानामा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा गए रातिको निरन्तर वर्षाका कारण डुबान भएपछि सोको वस्तुस्थिति बुझ्न पुगेका माजिदसहितका जेनजी अभियान्तालाई नेपाल प्रहरीले विद्यार्थी भएर राजनीति नगर भन्ने धम्की सहित कुटपिट गरी अनुहारलगायत शरिरका संवेदनशील स्थानमा चोट पुर्याइ पूर्वाग्रह र प्रतिशोधका भरमा पक्राउ गरेको स्पष्ट छ ।

नेपाल सरकारले प्रहरीलाई झन् बढी निरंकुश र अधिनायक बनाउँदै आफू फासीवादतर्फउन्मुख भएको सन्देश दिएको भन्दै जेनजी फ्रन्टले सरकारसँग ४ बुँदे माग पनि राखेको छ । जसअनुसार.गैरकानुनी रूपमा बन्दी बनाइएका माजिद अन्सारीलगायतका सम्पूर्ण जेनजी अभियान्तालाई तुरुन्त रिहा गर्नुपर्ने र कुटपिट गरी घाइतेसमेत बनाएकाले यथाशीघ्र उपचार गर्नुपर्नेमा जेनजी फ्रन्टले जोड दिएको छ।
यसैगरी नेपालको संविधानप्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र सङ्गठित हुन पाउने स्वतन्त्रताका विरुद्ध प्रतिशोध र धम्कीपूर्ण रूपमा निजलाई पक्राउ गर्ने प्रहरी अधिकारीलाई तुरुन्त कारबाही गर्नुपर्ने, दीर्घकालीन प्रहरी सुधारका विषय सहित सम्पूर्ण जेनजी सम्झौता अक्षरस: कार्यान्वयन गर्नुपर्ने र सुकुमवासी, मजदुर, भूमिहीनको मानवअधिकार सुनिश्चित गर्नुपर्ने लगायतका रहेका छन जेनजी फ्रन्टको वक्तव्यमा ‘निलो बर्दीका भरमा सिर्जित राज्य आतङ्कका विरुद्ध नेपाल जेन–जी फ्रन्ट सदैव खडा रहनेछ’ उल्लेख छ ।
यस अगाडी काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी र सरिश्मा थापासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि अन्सारीसहितका केही अभियन्ताहरू त्यहाँ पुगेका थिए । अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताएका छन् । ‘प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लिंदा अन्सारी घाइते भएको छन उनको अनुहारको बिभिन्न स्थानमा चोट लागेको कारण उपहारको लागि अस्पताल राखिएको छ।
















