बिराटनगर, प्रहरीले लखेटेपछि मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीमा पोखरीमा हाम फालेको कारण मृत्यु भएका १७ वर्षीय किशोरको शव उठाउने क्रममा शुक्रवार तनाव उत्पन्न भएको छ। शव पोस्टमार्टमका लागि लैजान खोज्दा स्थानीय र मृतकका आफन्तले अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २१ सेल अश्रुग्याँस प्रहार गर्नु परेको हो।
मृतक भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादव हुन्। उनी शुक्रवार बिहान करिब १०ः३० बजे स्थानीय पोखरीको बीच भागमा पानीमाथि तैरिरहेको अवस्थामा मृत फेला परेका थिए। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लैजान खोजिए पनि मृतकका आफन्त र स्थानीयले शव उठाउन नदिई विरोध प्रदर्शन गरेका थिए।
उनीहरूले किशोरलाई लखेट्ने प्रहरीमाथि कारबाही गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिन हुनुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका थिए। प्रदर्शन चर्किएपछि प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १० सेल र सशस्त्र प्रहरीले ११ सेल गरी कुल २१ सेल अश्रुग्याँस प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। आवश्यक परेपछि सामान्य लाठीचार्जसमेत गरिएको उनले बताए।
ढुंगामुढाका क्रममा सशस्त्र प्रहरीका इन्स्पेक्टर तारानाथ गौतमको दाहिने कुइना र घुँडामा सामान्य चोट लागेको छ भने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी जवान दिलीप आचार्यको बायाँ आँखामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवैको अवस्था सामान्य रहेको बताइएको छ।
घटनास्थलमा होहल्ला तथा अराजक गतिविधि गरेको आरोपमा जहदा गाउँपालिका–१ का २१ वर्षीय राजदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको बलप्रयोगपछि प्रदर्शनकारीहरू तितरबितर भएका छन् भने अहिले अवस्था सामान्य रहेको जनाइएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ।
यो घटना गत बुधवार बिहान भएको प्रहरी अपरेसनसँग जोडिएको हो। अस्थायी प्रहरी पोस्ट भेडियारीको टोलीले बीआर ५० एएल ३६८७ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडेर भागेका थिए। भाग्ने क्रममा मञ्जितकुमार यादवले नजिकैको पोखरीमा हाम फालेपछि उनी बेपत्ता भएका थिए। दुई दिनपछि शुक्रवार बिहान उनको शव सोही पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो।
घटनाकै क्रममा मोटरसाइकलको पछाडि सवार भारतको बिहार राज्य, सुपौल जिल्ला, गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले पक्राउ गरेको थियो। उनीसँग रहेको झोला जाँच गर्दा ६ किलो १३० ग्राम गाँजा बरामद भएको एसपी कटवालले बताए। पक्राउ परेका भारतीय नागरिकमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनापछि स्थानीयवासीले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। मृतक पोखरीमा हाम फालेपछि उद्धारका लागि तत्काल प्रभावकारी प्रयास भए वा नभएको विषयमा पनि निष्पक्ष छानबिन हुनुपर्ने माग स्थानीयको छ। प्रहरीले भने घटनाका सम्पूर्ण पक्षमाथि अनुसन्धान जारी रहेको जनाएको छ।
















