Play

प्रहरीको व्हिललक र जरिवानाले आत्मदाहको प्रयास गरेका गणेशको अबस्था गम्भीर, पिडामा रहेका आँफन्त के भन्छन?

थप उपचारको लागि भारत लगिने भनिएको भएपनि चिकित्सकको सल्लाह अनुसार तत्काल अन्यत्र नलगिने


गुरुकुल खबर


काठमाडौं, प्रहरीको कार्यशैलीको कारण काठमाडौँको त्रिपुरेश्वर नजिक आत्मदाहको प्रयास गरेका मुगु जिल्लाको सोरु गाउँपालिका- १ का २५ बर्षीय गणेश नेपालीलाई उपचारको लागि भारत लैजाने चर्चा चलेको भएपनी उनलाई थप उपचारको लागि सरकारले तत्काल भारत नलैजाने भएको छ । चिकित्सकहरूको सुझाव अनुसार उनलाई तत्कालन भारतै नलैजाने निर्णय भएको बताइएको छ ।

उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुआतमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको र तत्कालै विमानस्थल पुर्याएर उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) मार्फत भारत लैजाने र थप उपचार गर्ने साथै त्यसको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने कुरा सार्बजनिक गरेको सरकारले अब भने उनलाई भारत नलैजाने जनाएको छ।

वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र लैजाँदा  झन् जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो। वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो

चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् । त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) खटिरहेको बताइन्छ । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना एका नेपालीको शरीर ५५ प्रतिशत भन्दा बढी भाग जलेको बताइएको छ ।

हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उहाँको जीवन रक्षाका लागि खटिएको छ। चिकित्सकहरूको टोलीले उहाँको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ ।

कस्ता थिए गणेश नेपाली ? के भन्छन उनका आंफन्त ? 

मोटरसाइकलमा पठाओ गरेर काठमाडौँमा डेरामा बस्ने आंफ्नो परिवारको गुजारा चलाउँदै आएका गणेश नेपालीको मोटरसाइकल गलत ठाउँमा पार्किंग भएको भन्दै प्रहरीले व्हिल लक् लगाएको र त्यसपछि कम्तिमा १० हजार जरिवाना गर्ने भन्ने कुरामा बिबाद भएपछि उनले मोटर साइकलको पेट्रोल झिकेर सोहि ठाउँमा आत्मदाहको प्रयास गरेका हुन् ।

केहि मिनेटमात्र मोटरसाइकल रोकिंदा व्हिल लक लगाएर १० हजार भन्दा बढी जरिवाना तिर्नुपर्ने बाध्यता सुनेपछि गणेशले त्यो जरिवाना रकम समेत कसरि तिर्ने भन्ने चिन्तामा एक्कासी आत्मदाहको निर्णय लिएको बताइन्छ प्रहरीले भने व्हिल लक् लगाएको तर जरिवानाको चिट काट्न नपाउंदै उक्त घटन भएको दाबि गरेको छ प्रहरीको उक्त भनाइले पनि गणेशलाई मोटो रकम जरिवाना तिर्नुपर्ने कुराले मानसिक आघात पुगेको महशुश गर्न सकिन्छ ।

वीर अस्पतालको आकस्मिक कक्ष बाहिर दौडधुप गरिहेका गणेश नेपालीका दाजु मदन नेपालीको आँखाबाट आँसु बगिरहेको छ भने आवाज मलिनो छ । आंफ्नो शरीरमा आगो लगाएका मदनका भाइ गणेश नेपालीलाई अस्पताल ल्याएपछि साढे २ बजेतिर प्रहरीले खबरले गरेको र अस्पताल आएर हेर्दा भाइको शरीर सबै जलेको मदनले देखेका थिए’ दाजु मदनले भावुक हुँदै  भाईको बारेमा भने, ‘भाइको आँखाबाट आँसु बगिरहेको थियो । सकिनसकी बोलिरहेको थियो।’

त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका २६ वर्षीय गणेश नेपाली अहिले जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन् । अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् भने अस्पताल बाहिर परिवारका सदस्यहरू चिन्तामा डुबिरहेका छन् ।

गणेश अहिले बोल्न सक्ने अवस्थामा छैनन् । तर अस्पताल ल्याइएपछि उनले निकै मुस्किलले उच्चारण गरेका केही शब्द भने दाइ मदनको मनमा गहिरो गरी गढेको छ । ‘उसले मलाई एउटै कुरा भन्यो,’ दाजु मदन भक्कानिँदै भन्छन्, ‘यो सबै महानगर प्रहरीले गर्दा भएको हो…। आमा–बुवालाई राम्रो गर्नू । त्यसपछि उसले केही बोल्न सकेन ।’

त्यो वाक्य मदनका कानमा निरन्तर गुञ्जिरहेको छ । ‘हामी धेरै कमजोर परिवार हौँ । फार्मेसीमा एक जना डाक्टरले उधारो मिलाइदिनु भएको छ। भाइको उपचार कसरी गर्ने भन्ने चिन्ता छ,’ गणेशका दाजु मदनले सुनाए ।

परिवारका सदस्यका अनुसार गणेशको व्यवहार कहिल्यै अस्वाभाविक थिएन । बरु उनी भविष्यका योजना बनाइरहेका थिए । विदेश जाने तयारीबारे परिवारसँग छलफल गर्थे । ‘तपाईंभन्दा पहिले म विदेश जान्छु दाइ, तपाईं घर सम्हाल्नू,’ गणेशले केही दिनअघि मदनसँग भनेका थिए ।

बिहीबार बिहान पनि गणेश दाइ बसेको कोठामा आएका थिए । ‘बिहान मेरै कोठाबाट निस्किएको हो,’ मदन सम्झिन्छन्, ‘बुहारी पनि सँगै आएकी थिइन् । कोठा सार्ने कुरा थियो । त्यतिबेला उसको व्यवहार अस्वाभाविक थिएन ।’ भक्तपुरको कमलविनायकमा बस्दै आएका गणेश पछिल्लो साढे दुई वर्षदेखि पठाओ चलाउने काम गर्थे । त्यही कामबाट परिवार चलिरहेको थियो ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश ७ वर्ष अगाडि काठमाडौं छिरेका थिए । कृषि विषयमा जेटी (जुनियर टेक्निसियन) अध्ययन गरेका गणेशले जीवन सजिलो होला भन्ने आशामा काठमाडौं रोजेका थिए । तर रोजगारी मिलेन ।

गणेशका श्रीमती, दुई वर्षकी छोरी र वृद्ध आमा–बुबा गाउँमा छन् । ६ वर्षअघि विवाह गरेका गणेशको कमाइले नै परिवार धानिन्थ्यो । श्रीमती गृहिणी हुन् । ‘भाइले कमाएर ल्याउँथ्यो । त्यसैले बच्चाको खर्च चल्थ्यो, स्कुल पठाउने सोच थियो,’ मदन भन्छन् । परिवार आर्थिक रूपमा सम्पन्न छैन । अस्पतालमा उपचार खर्च जुटाउन पनि उनीहरूलाई समस्या छ ।

‘हामी धेरै कमजोर परिवार हौँ । फार्मेसीमा एक जना डाक्टरले उधारो मिलाइदिनु भएको छ । भाइको उपचार कसरी गर्ने भन्ने चिन्ता छ,’ मदनले भने । मदन एउटा कुरा पटक–पटक दोहोर्‍याउँछन् । गणेश आर्थिक ऋण वा पारिवारिक तनावका कारण यस्तो कदम चाल्ने व्यक्ति थिएनन् ।

उनी सधैं शान्त स्वभावको मानिसका रूपमा चिनिएका थिए । धेरै नबोल्ने, अनावश्यक विवादमा नपर्ने, आफ्नो काममा मात्र केन्द्रित रहने बानी थियो । ‘ऊसँग ठूलो ऋण थिएन । मानसिक तनाव पनि देखेको थिइनँ । धेरै सहनशील थियो,’ मदन भन्छन्, ‘म चाँडै रिसाउने मान्छे हुँ । ऊ कहिल्यै कसैसँग झगडा गर्ने, जिद्दी गर्ने वा रिसाउने खालको थिएन ।’

अहिलेको घटनाले परिवारलाई स्तब्ध बनाएको छ । घटनाबारे परिवारले पनि अझै स्पष्ट बुझ्न सकेको छैन । गणेश राहदानी विभाग किन पुगेका थिए ? आफ्नै कामका लागि कि सेवाग्राहीलाई लिएर ? त्यो अझै खुलिसकेको छैन । मदनका अनुसार भाइले आफूलाई महानगर प्रहरीसँग विवाद भएको मात्र संकेत गरेका थिए ।

उसले ‘बिना कारण लफडा भयो’ भन्ने कुरा गरेको थियो,’ मदन भन्छन्, ‘पछि के भयो, कसरी यति ठूलो घटना भयो, त्यो उसले विस्तारमा भन्न सकेन।’ गणेशका जेठान विकास उक्त घटना सञ्चार माध्यमबाट थाहा पाएको बताउँछन् । ‘म त ड्युटीमै थिए,’ उनी भन्छन्, ‘न्युज हेर्दा यस्तो भएको थाहा भयो ।’

विकास आफैं स्वास्थ्यकर्मी हुन् । तारकेश्वर सिटी अस्पतालमा कार्यरत उनी अस्पतालमा बिरामीको उपचारमा व्यस्त थिए । त्यही बेला गणेशको आत्मदाह प्रयासको खबर थाहा पाए । अस्पतालमा बिरामीको जीवन बचाउने काम गरिरहेका विकासले आफ्नै परिवारको सदस्य मृत्यु र जीवनको दोसाँधमा पुगेको खबर सुनेका थिए ।

‘के कारणले यस्तो भयो, हामीलाई पनि थाहा छैन,’ विकास भन्छन्, ‘प्रहरीले बाइक लक गर्दा यस्तो भएको सुनेका छौं । तर वास्तविक कारण के हो, केही थाहा छैन ।’ गणेशबारे बोल्न थालेपछि विकासको स्वर केही बेर रोकिए जस्तो हुन्छ । उनी कुनै ठूलो परिचय दिन खोज्दैनन् । काम गरेर खाने मान्छे हो । उनले भने, ‘ऊ झगडा गर्ने, धेरै कुरा गर्ने मान्छे होइन ।’

परिवार आर्थिक रूपमा सम्पन्न थिएन । तर अभावमा बाँचिरहेका हजारौं नेपाली परिवारभन्दा धेरै फरक पनि थिएन । ‘ऋण धेरैथोर सबैको हुन्छ। तर अहिले ऋण नभएको घर कहाँ छ र ? सबैजसो ऋणमै चलिरहेका छन्,’ विकास भन्छन्, ‘प्रहरीको व्यवहारले यस्तो घटना भयो कि भन्ने अनुमान हो ।’

ऋण, जिम्मेवारी र भविष्यको खोजीबीच गणेशले विदेश जाने तयारी पनि गरिरहेका थिए । राम्रो अवसरको खोजीमा उनी वैदेशिक रोजगारीको प्रक्रियामा थिए। शरीरमा गहिरा जलनका घाउ छन् । चिकित्सकले उनलाई बचाउन प्रयास गरिरहेका छन् ।

गम्भीर घाइते गणेशको  घटना सार्बजनिक भएलगत्तै माइतीघर मण्डलामा स्वतस्फुर्त रुपमा बिरोध प्रदर्शन भएको थियो भने सामाजिक संजाल मार्फत सरकारी कार्यशैलीको चौतर्फी आलोचना भैरहेको छ।

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै उनको गृहजिल्ला मुगुवासीले काठमाडौंमा प्रदर्शन गरेका छन् । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए ।

उनको न्यायका लागि भन्दै मुगुवासीले बिहिबार साँझ माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले हातहातमा विभिन्न नाराजडित पप्लेट बोकेर प्रदर्शन गर्दा केहीले नाराबाजी समेत गरिरहेका छन् । प्रदर्शनमा मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खडकबहादुर शाही पनि सहभागी छन् ।

सबैतिरबाट आलोचना भएपछि आईसियूमा राखेर उपचार गरिएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको कुरा सार्बजनिक भएको छ । वीर अस्पतालमा उपचाररत नेपालीलाई थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको पनि केहि समय अगाडी तत्काल भारत नलैजाने भन्ने बुझिएको छ ।

चिकित्सक भन्छन् : अवस्था गम्भीर छ

उपचारमा संलग्न चिकित्सक डा. पियुष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण गणेशलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार थालिएको छ । प्लास्टिक सर्जन डा. दाहालका अनुसार, बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

‘उहाँको अवस्था अहिले निकै गम्भीर छ । अनुहारदेखि छाती, घाँटी, हात र खुट्टासम्म जलेको छ । शरीरको करिब ६० प्रतिशत भागमा जलन देखिएको छ । अहिले आकस्मिक उपचारका सबै प्रक्रिया पूरा गरेर आईसीयूमा सारेका छौं,’ डा. दाहालले भने । जलनका कारण हुने सम्भावित जटिलतालामध्यनजर गर्दै चिकित्सकहरूको निगरानीमा सघन उपचार सुरु गरिएको छ ।

चिकित्सकका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम उच्च हुने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टा अत्यन्त संवेदनशील मानिन्छ ।

२६ असार २०८३, शुक्रबार ०७:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा