काठमाडौँ, फिफा विश्वकप- २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३-२ ले पराजित गरेको छ। एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा इजिप्ट ६७ औँ मिनेटसम्म २-० ले अगाडि रहेपनि अन्तिम ११ मिनेटमा ३ गोल गर्दै अर्जेन्टिनाले सनसनीपूर्ण जित निकालेको हो।
यो जितसँगै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको छ । अब टोली स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले १५ औँ मिनेटमा यासेर इब्राहिमको हेडरमार्फत अप्रत्याशित अग्रता लियो। त्यसपछि गोलरक्षक मोस्तफा शोबिरले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाका लगातार प्रयास विफल पारे। उनले लियोनेल मेस्सीको पेनाल्टी बचाउनुका साथै एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका उत्कृष्ट प्रहार पनि रोके।
५९ औँ मिनेटमा इजिप्टले दोस्रो गोल गर्यो। हाइसेम हसनको शानदार दौडपछि मोहम्मद सलाहले जिजोलाई पास दिएका थिए र उनले गोल गरेका थिए। तर निर्माणक्रममा फाउल भएको भन्दै उक्त गोल अस्वीकृत गरियो। यद्यपि, त्यसको केही समयपछि इजिप्टले काउन्टर अट्याकमा दोस्रो गोल गर्न सफल भयो। सलाह र हसनको समन्वयमा जिजोले ६७ औँ मिनेटमा गोल गर्दै इजिप्टलाई २-० को बलियो अवस्थामा पुर्याए।
तर त्यसपछि खेलको दृश्य नै बदलियो। ७९ औँ मिनेटमा क्रिस्टियन रोमेरोले एक गोल फर्काए। त्यसको ५ मिनेटपछि कप्तान मेस्सीले उत्कृष्ट फिनिसिङ गर्दै खेल २-२ को बराबरीमा ल्याए। जारी विश्वकपमा सर्वाधिक ८ गोल गरेका मेस्सीको समग्रमा २१ गोल पुगेको छ। इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३-२ को ऐतिहासिक जित दर्ता गर्दै विश्वकप उपाधि रक्षाको यात्रालाई जीवित राख्यो।
रेफ्रीको निर्णय प्रति इजिप्टको गम्भीर प्रश्न
यसैबीच विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को अविश्वसनीय हार बेहोरेपछि इजिप्टले रेफ्रीको निर्णयमाथि गम्भीर प्रश्न उठाएको छ। इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले टोलीमाथि ‘अन्याय भएको’ दाबी गर्दै विश्व च्याम्पियन अर्जेन्टिना र कप्तान लियोनेल मेस्सीलाई प्रतियोगितामा राख्न खोजिएको आरोपसमेत लगाए।

निर्धारित समय सकिन ११ मिनेट बाँकी रहँदा इजिप्ट २-० ले अगाडि थियो। त्यसबेला टोली इतिहासकै पहिलो विश्वकप क्वार्टरफाइनल पुग्ने संघारमा थियो। तर त्यसपछि क्रिस्टियन रोमेरो, लियोनेल मेस्सी र इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनाले ३-२ को अविश्वसनीय पुनरागमन जित निकाल्यो।
भिएआर निर्णयमा इजिप्टको आपत्ति
इजिप्टको सबैभन्दा ठूलो गुनासो भिएआरको निर्णयप्रति थियो। टोली १-० ले अगाडि रहेका बेला मोस्तफा जिकोले गरेको दोस्रो गोल भिएआरले रद्द गरिदियो। गोल हुनुअघि मिडफिल्डर मारवान अटियाले लिसान्द्रो मार्टिनेजको खुट्टामा हल्का टेकिएको भन्दै फाउलको निर्णय गरिएको थियो।
यति मात्र होइन, इन्जुरी समयमा अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहलाई पेनाल्टी क्षेत्रमा फाउल गरिएको दाबी पनि इजिप्टले गरेको छ। तर त्यस घटनालाई भिएआरले पुनरावलोकन नगरेको भन्दै टोली आक्रोशित बन्यो।
खेल सकिएपछि धेरै इजिप्टेली खेलाडी मैदानमै निराश भएर ढलेका थिए।
‘सायद मेस्सीलाई प्रतियोगितामै राख्न चाहन्थे’
खेलपछि हसनले भने, ‘हामीमाथि अन्याय भयो। मैदानभित्र र बाहिर धेरै प्रश्न उठ्ने घटनाहरू भए। विश्व च्याम्पियनलाई प्रतियोगितामा राख्न चाहेको जस्तो देखियो। सायद उनीहरू मेस्सीलाई अझै प्रतियोगितामा राख्न चाहन्थे। अर्जेन्टिनाले सबै तहबाट साथ पाएको जस्तो महसुस भयो।’
उनले थपे,’हामीले सम्मान र निष्पक्ष खेल देखेनौं। हाम्रो पेनाल्टी दाबी हेरेनन्, दोस्रो गोल पनि अचम्मलाग्दो रूपमा रद्द गरियो। खेलमा निष्पक्षता नदेखिएपछि खेलकुदमा न्याय कहाँ छ?” इजिप्टका फरवार्ड मोस्तफा जिकोले पनि रेफ्रीको निर्णयको आलोचना गरे। ‘रेफ्री निकै अन्यायी थिए। अन्याय स्पष्ट देखिन्थ्यो। खेल सुरु भएदेखि नै हाम्रो टोलीप्रति निष्पक्ष व्यवहार भएन।’
इजिप्ट बाहिरिएसँगै विश्वकपमा अफ्रिकाबाट अब मोरक्को मात्र बाँकी रहेको छ। चार वर्षअघि अफ्रिकाबाट पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोले क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ।
















