Play

तिनलाख बढी नेपाली रहेको जापानमा १० महिनामा ७२ नेपालीको मृत्यु, २८ जनाले गरे ‘आत्महत्या’

गुरुकुल खबर


काठमाडौँ, नेपालबाट बिधार्थीको रुपमा एबम रोजगारीको रुपमा आकर्षक गन्तब्य मानिने जापानमा पुगेका नेपालीहरुमध्ये ज्यान गुमाउने नेपालीहरुको संख्या पनि उल्लेखनीय छ। एक तथ्यांक अनुसार जापानमा ३ लाख बढी नेपाली रहेकोमा स्थायी आवाशीय परिचयपत्र पाउनेको संख्या करिब १० हजार मात्र रहेको छ। यसरि हेर्दा बिशेष गरि पैसा कमाउनकै लागि भनेर जापानमा नेपालबाट बिधार्थी एबम अन्य पुग्ने गरेको छन।

जापान सरकारको अभिलेखअनुसार सन् २०२५ सम्म १ लाख १६ हजार नेपाली विद्यार्थी भिसामा जापानमा पुगेका छन् । यो संख्या चीनपछि दोस्रो हो । अहिले जापानमा रहेको आप्रवासीको सूचीमा नेपालीको संख्या पाँचौंमा पर्छ । नेपालीहरुको संख्या उल्लेखनीय रहेको जापानमा बिभिन्न कारणले मृत्यु हुने र आत्महत्या गरेर ज्यान फाल्नेहरुको संख्या पनि बढ्दो छ अघिल्लो १० महिनाको अबधिमा जापानमा रहेका ७२ जना नेपालीको ज्यान गएको तथ्यांक परराष्ट्र मन्त्रलाय संग छ।

मृत्यु हुनेहरुमध्ये २८ जना विद्यार्थीले आत्महत्या गरेको जनाइएको छ। गैरआवासीय नेपाली संघ, जापानका अनुसार उच्च ब्याजमा ऋण काढेर जापान आएका नेपाली विद्यार्थी मानसिक दबाबमा फसेका छन् । ‘जापान महँगो भएकाले कोठाभाडा, खानपिन र कलेज शुल्क धान्न २८ घण्टाको कमाइले पुग्दैन,’ एनआरएन जापानका सचिव सचिन आचार्यले भने, ‘नेपालको ऋण तिर्न परिवारले पैसा माग्दा मानसिक तनाव हुन्छ । विद्यार्थी भिसाबाट श्रम भिसा लिन भाषा आवश्यक पर्छ । यो एकदमै कठिन छ । जसले गर्दा आत्महत्या बढ्न थालेको देखिन्छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असार तेस्रो सातासम्म ७२ नेपालीको ज्यान गएको हो । बिरामी भएर मृत्यु हुनेको संख्या न्यून तर दुर्घटनामा परेर तथा आत्महत्या गरेर मृत्यु हुनेको संख्या बढी देखिन्छ कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसोमा ‘पत्ता नलागेको’ (कारण नखुलेको) लेखिएका छन् । मृत्यु वा आत्महत्या भएका नेपालीहरू विशेष गरी निर्माण क्षेत्र, नेपालीबाट सञ्चालित होटल तथा रेस्टुरेन्ट, सप्लाई कम्पनीमा कार्यरत छन् । रेस्टुरेन्ट सञ्चालकले श्रमिकको स्वास्थ्य बिमा र सामाजिक सुरक्षा रकम भुक्तानी गर्दैनन् ।

उनका अनुसार विद्यार्थी भिसा सजिलो पाइने भएकाले विद्यार्थी भिसामा श्रमिक आउन थालेका हुन् । ‘काम नपाउनेले त झन् नेपालबाटै पैसा मगाएर खर्च चलाउनुपर्छ । २८ घण्टाभन्दा बढी काम गरेको भेटिएका केसमा दैनिकजसो नेपाली पक्राउ परिरहेका छन्,’ उनले भने, ‘नेपाली दूतावासमा न्यून जनशक्ति छ । जसले गर्दा जेलमा जान दूतावासलाई कठिन भइरहेको छ ।’

जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि शव व्यवस्थापन निकै जटिल बनेको बताए । ‘कतिपय परिवारका सदस्यले यहाँ नै अन्तिम संस्कार गर्ने गरेका छन्, कतिपय केसमा अन्तिम संस्कार भइसके पनि पछि आफन्तले दूतावासलाई जानकारी पनि दिने गरेका छैनन्,’ उनले भने ।

जापानबाट नेपालमा शव ल्याउनका लागि झन्डै १२ लाख रुपैयाँ लाग्छ । शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा गएका विद्यार्थीको शव नेपाल पठाउन लाग्ने खर्चसमेत बेहोर्ने गरेका छैनन् । त्यस्ता शैक्षिक संस्थाहरू दूतावासको सम्पर्कमा आउने गरेका छैनन् । पछिल्लो समय भाषा पढ्न भन्दै विद्यार्थी भिसामा जापानमा काम गर्न जानेको संख्या बढी छ । यसरी विद्यार्थी भिसामा जानेलाई वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छैन । श्रम स्वीकृति नलिएका श्रमिकको मृत्यु भएकामा शव ल्याउन वा व्यवस्थापन गर्न वैदेशिक रोजगार बोर्डले खर्च दिँदैन ।

नेपाली विद्यार्थी उमा खत्रीले जापानको बसाइ निकै कठिन रहेको बताइन् । ‘जापान आएपछि धेरै दुःख गर्नुपर्छ भनेर मैले सोचेको नै थिइनँ । जापानी भाषामा दक्खल भएर आउनुपर्दो रहेछ । मिहिनेत गर्नेका लागि राम्रो छ, तर विद्यार्थीलाई कठिन छ,’ उनले भने, ‘सहरमा बस्न निकै महँगो छ । गाउँतिर घरभाडा सस्तो तर काम पाइँदैन । कलेजमा ८० प्रतिशत उपस्थिति अनिवार्य छ । यो भएन भने भिसा नवीकरणमा समस्या आउँछ ।’

१३ लाख ५० हजारभन्दा बढी रुपैयाँ बुझाएर जापान पुगेका बागलुङ हिरा श्रीषले हप्तामा २८ घण्टाभन्दा बढी काम गर्दा पनि खान, लाउन र ब्याज तिर्न नपुग्ने बताए । ‘नेपालबाट धेरै अपेक्षा गरेर आउँछन्, तर दुई वर्षभित्र ऋण तिर्न पनि मुस्किल पर्छ,’ उनले भने, ‘नेपालमा सोच्ने र जापानमा भोग्ने वास्तविकता निकै फरक छ । नेपालमा बस्दा धेरैलाई ७०–८० हजार धेरै हो जस्तो लाग्छ । तर जापानमा एक लाखभन्दा बढी कमाइ हुँदा पनि घर पठाउन सकिँदैन । यहीं टिक्न पनि कठिन छ । पैसा हातमै बस्दैन ।’

उनले कन्सल्टेन्सीका मिठा कुरामा विद्यार्थी फस्ने गरेको बताए । ‘भाषा एक वर्ष सिक्नुपर्छ । कामको ग्यारेन्टी हुँदैन । पार्टटाइममा पनि धेरै प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘पैसा बचाउन दुई वटा काम गर्नुपर्छ, जुन गैरकानुनी हो । यसले भिसा रद्दसमेत हुन सक्छ ।’ सीपयुक्त कामदारको हैसियतमा जापान जाने निकै कम छन् । व्यवसाय र कृषि क्षेत्रमा प्रशिक्षार्थी कामदार जाने गरेका छन् । नेपाली दूतावासले व्यक्तिगत श्रम स्वीकृति लिएर नपठाउन परराष्ट्रमार्फत श्रम मन्त्रालयमा पत्र पठाएको छ । गत आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) लिएर जानेको संख्या मात्रै १८ हजार ७ सय ४४ जना रहेका छन् । जसमा महिला मात्रै ५ हजार ८ सय छन् ।

दूतावासबाट मागपत्र प्रमाणीकरण भएर आएको र प्रशिक्षार्थी कामदार समस्या लिएर जानेको अभिलेख भेटिन्छ । ‘उनीहरूको मृत्यु भएमा रोजगारदाता कम्पनी वा नेपालको म्यानपावरलाई नै जिम्मेवार बनाउन सकिन्छ । नेपालमा शव पनि पठाउन सहज छ,’ उनले भने, ‘व्यक्तिगत श्रम स्वीकृति लिएर आएका श्रमिक र विद्यार्थीको अभिलेख दूतावाससँग नरहेको कान्तिपुरका होम कार्कीले लेखेको समाचारमा समेत जनाइएको छ ।

२२ असार २०८३, सोमबार १०:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा