चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मतदान गर्ने क्रम अहिले जारी छ । गएराति १२ बजेबाट निरन्तर चलेको मतदान प्रक्रिया अहिले बिहान १० बजेसम्म जारी राख्ने भनिएकोमा मध्यान्ह १२ बजेसम्मको लागि थपिएको छ रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन।
केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा अहिले सम्म आधाभन्दा केहि बढी मत खसेको छ । कुल ४ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको रास्वपा अधिवेशनमा भएको चुनावमा बिहान ८ बजेसम्मको अपडेट अनुसार २१ सय मत खसेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख केसीले जानकारी दिए । प्रतिनिधिले भोट हाल्न समय लाग्ने देखिएपछि मतदानको समयावधि थप गरिएको हो । यस अनुसार अब प्रतिनिधिहरूले १२ बजेसम्म मतदानमा सहभागी हुन पाउनेछन् ।
उनका अनुसार ९९ जना केन्द्रीय सदस्य पदका लागि मतदान कार्य भैरहेको हो। ३ सय ८४ जनाको उमेदवारी भएपनि उमेदवारको अन्तिम सूचीमा २ सय ४ जनामात्र उमेदवार कायम रहेको बताइन्छ । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
असार ७ गतेबाट शुरु भएको महाधिबेशन असार १० गते सकिने कार्यक्रम थियो। तर, महाधिबेशन प्रतिनिधिको नाम सार्बजनिक गर्ने लगायतका बिषयमा बिबाद भएको कारण महाधिबेशनको अबधि लम्बिएको हो । बिबादका कारण कतिपय प्रतिनिधिले असन्तुष्टि सार्बजनिक गरिरहेको छन भने कतिपय महाधिबेशन स्थल छाडेर आफ्नो गन्तब्यतिर लागेका छन ।
















