चितवन, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिबेशनले रास्वपाको कमजोर ब्यबस्थापकीय क्षमता र पार्टीका प्रतिनिधिहरुको चरम महत्वाकाक्षा स्पष्ट रुपमा देखाएको छ जसका कारण महाधिबेशनको अबधि लम्बिदै गएको छ देशमा थिति बसाल्ने संकल्प गरेको रास्वपाले आन्तरिक जीवनको लागि ऐतिहासिक मानिएको प्रथम महाधिवेशनमा समेत आफ्नो क्षमता र कार्यकुशलता देखाउन सकेन । पुराना दलहरूको प्रचार शैलीको विरोध गर्दै आएको रास्वपाले तिनै दलको सिको चुनाबी प्रचारका क्रममा देखाएको छ । उम्मेदवारका लागि तयार पारिएका पर्चा सामग्री महाधिवेशन वरपर छरपष्ट देखिएका छन ।
असार ७ गते आइतबार उल्लासपूर्ण वातावरणमा सकिएको उद्घाटन सत्रपछि सोमबारको लागि तय गरिएको बन्दसत्रको सेसन शुरु नहुँदै महाधिवेशनको प्रक्रियामा गतिरोध उत्पन्न भयो । सोमबार विहानको खाजा लगत्तै ८:३० बजेबाट बन्द सत्र सुरु गर्ने कार्यतालिका घोषणा गरिएकोमा ९ घण्टा भन्दा बढी समय टनटलापुर घाममा पर्खिएर बन्दसत्र सुरु हुने अपेक्षामा कार्यकर्ताहरु प्रतिक्षा गर्न बाध्य भए । सोमबार १:१५ बजे बन्दसत्र सकेर निर्वाचनको प्रक्रिया सुरु गर्ने कार्यतालिका थियो ।
सोमबर बन्द सत्र शुरु हुन नसकेपछि तेस्रो दिन (असार ९) गतेका लागि बन्द सत्रको समय निर्धारण गरियो । मंगलबार दिउँसो २ बजेबाट बन्दसत्र सुरु गर्ने घोषणा गरियो । तर, तोकिएको समयमा बन्दसत्र सुरु हुन सकेन । दिउँसो ३:३० बजेबाट मात्रै बन्दसत्र प्रारम्भ भयो । बन्दसत्रमा पेस भएका प्रतिवेदनमा बहस र छलफल नगरी पारित गरियो । प्रतिनिधिहरूको टुंगो नलागेकै कारणले अघिल्लो दिनको बन्दसत्र सुरु हुन सकेको थिएन । असार ९ गते बन्दसत्र सुरु गरिएपनि प्रतिनिधिको यकिन संख्या भने सार्वजनिक गरिएन ।
बन्दसत्र समापन भए लगत्तै ( मंगलबार साँझदेखि) निर्वाचन आयोगले उम्मेदवारका लागि दर्ता फारम वितरण सुरु गरिहाल्यो । तर महाधिबेशन प्रतिनिधिहरुको टुंगो लागिसकेको थिएन । सोमबार साँझबाट नै प्रतिनिधिको कार्ड वितरण भनिएपनि कतिपय प्रतिनिधिहरुले कार्ड प्राप्त गर्न सकेका छैनन् । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको जानकारी अनुसार साँझ ७:३० देखि ९:३० बजेसम्म केन्द्रीय सदस्यको फारम वितरण अवधि थियो । फारम वितरण र उम्मेदवार दर्ता मंगलबारको राति १ बजेसम्म जारी रह्यो ।
सहमहामन्त्री विपिन आचार्यले केन्द्रीय सदस्यका लागि इच्छुक सबै व्यक्तिले उम्मेदवार बन्न पाउनुपर्ने पार्टी नीति अनुसार नै दर्ताको अवधि लम्ब्याएको बताएका थिए। सोमबार राति आचार्यले भने,‘समय घर्कियो भनेर उम्मेदवार दर्ताका लागि लाइनमा बसेकालाई अन्याय हुन रास्वपाले दिँदैन ।’ मंगलबार नयाँ नेतृत्व चयन गरेर सकिने भनिएको महाधिवेशनको समयावधि दुई दिन थपिएको छ । बुधबार (असार १०) पनि तोकिएको समय अनुसार कार्यतालिका कार्यान्वयन नभएपछि बिहीबारसम्मको लागि महाधिवेशन लम्बिने भएको छ ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीले बुधबार बिहान ९ बजेदेखि केन्द्रीय सदस्यको लागि निर्वाचन हुने बताएका थिए । जबकी, उम्मेदवारको प्रारम्भिक नामावली समेत निर्वाचन आयोगले सार्वजनिक गर्न सकेको थिएन । बुधबार बिहानदेखि महाधिवेशन हल पुगेका प्रतिनिधिले दिउँसो अपरान्ह ४ बजेमात्रै उम्मेदवारको प्रारम्भिक सूची देख्न पाए । उम्मेदवारको प्रारम्भिक सूचीमा ३८४ जना केन्द्रीय सदस्यको उम्मेदवार छन् । निर्वाचन आयोगले बुधबार अपरान्ह निकालेको विज्ञप्तिमा ८:३० बजेबाट मतदान सुरु हुने भनिएको छ ।
एक प्रतिनिधिले मतदान गर्न लाग्ने समयावधिमा रास्वपाका नेताहरू र विद्युतीय भोटिङ मेसिनका प्राविधिकमा फरक फरक धारणा आएको छ। एक व्यक्तिले ९९ जनालाई मतदान गर्न १५ देखि १८ मिनेट लाग्ने राम–लक्षण भोटिङ मेसिनका प्राविधिक रामप्रसाद रिमालको भनाई छ । रास्वपाका नेताहरूले ७ देखि १० मिनेटमा एक प्रतिनिधिले मतदान गरिसक्ने दाबी गरेका छन् । विद्युतीय मतदानका प्राविधिक रिमालका अनुसार निर्वाचन आयोगले अन्तिम सूची उपलब्ध गराएपछि उम्मेदवारको नाम मेसिनमा प्रविष्ट गर्न ५ देखि ६ घण्टा लाग्छ ।
सबै उम्मेदवारको फोटो सहित नाम अपलोड गर्दा उक्त समयावधि आवश्यक पर्ने प्राविधिक पक्षको भनाई छ । उम्मेदवारहरूको नाम विद्युतीय मेसिनमा प्रविष्ट गराउन लाग्ने समयावधिको बारेमा निर्वाचन आयोग र नेताहरूले प्रतिनिधिहरूलाई जानकारी गराएका छैनन् । निर्वाचन आयोगले ६:३० बजे अन्तिम नामावली प्रकाशन गरेपछि दुई घण्टाभित्र उम्मेदवारहरुको नाम मेसिनमा प्रविष्ट गर्न प्राविधिकका अनुसार सम्भव देखिँदैन ।
विद्युतीय भोटिङ मेसिनका प्राविधिकले प्रतिनिधिहरूको संख्या अनुसार मतदान सकिन १० देखि ११ घण्टा लाग्न सक्ने बताएका छन् । रास्वपा नेताहरु मतदान प्रक्रिया अधिकतम् ४ घण्टामा सकिने दाबी गरेका छन् । ‘राति १/२ बजेसम्म केन्द्रीय समितिको नतिजा निकालिसक्नेगरी तयारी गरेका छौं,’ प्रवक्ता मनिष झाले भने । मतदानका लागि ७५ वटा विद्युतीय मेसिन तयार पारिएको छ । प्रवक्ता झाले गरेको ब्रिफिङ अनुसार, एक जना केन्द्रीय सदस्यका लागि ७ देखि १० मिनेट मतदानका लागि समय लाग्नेछ।
बन्दसत्र सुरु गर्नका लागि प्रतिनिधि विवादले एक दिन ढिलो भएको भएको थियो । मतदानको समय तोकिँदा समेत प्रतिनिधिहरूको यकिन संख्या रास्वपाले सार्वजनिक गरेको छैन । निर्वाचन आयोग र रास्वपा नेताहरुले ४ हजार १ सयको हारहारी प्रतिनिधि रहेको जानकारी गराएका छन् । मंगलबार सक्ने गरी बनाइएको कार्यतालिका कार्यन्वयन गर्न ढिलाइ गरिएपछि कतिपय प्रतिनिधि घर फर्किइसकेका छन् । मधेस प्रदेश समितिका एक सदस्यका अनुसार मतदान सुरु हुन नसकेपछि १० देखि २० प्रतिशत प्रतिनिधि फर्किसकेका छन ।
प्रतिनिधिहरूको बसाइ लम्बिएपछि खर्च पनि बढेको छ । सभापति रवि लामिछानेले प्रतिनिधि वापत लाग्ने शुल्क फिर्ता गर्न निर्देशन दिएका थिए। महाधिवेशनको समयावधि लम्बिएको र भद्रगोल अवस्था रहेको विषयमा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेललसँग जिज्ञासा राख्दा सकरात्मक पक्षका लागि विलम्ब भइरहेको दाबी गरे । सोचेको भन्दा बढी उम्मेदवार र महाधिवेशन प्रतिनिधि हुँदा झन सकरात्मक पक्ष भएको उनी दाबी गर्छन् ।
रास्वपा प्रबक्ता मनिष झाले उमेदवारहरुको प्रचार शैली बेठिक भएको स्वीकारेका छन् । महाधिवेशनलाई कार्यतालिका अनुसार सम्पन्न गर्न नसकेको र थिति बसाल्न नसकिएको प्रश्नमा केन्द्रीय सदस्यको उम्मेदवार समेत रहेका मन्त्री पोखरेल रास्वपा थिति बसाल्नकै लागि बनेको पार्टी भएको दाबी गर्छन् । तोकिएको समय भन्दा थोरै पर गएको हो । किनभने कहिलेकाही नकरात्मक तरिकाले ढिलाई हुन्छ । कहिले सकरात्मक तरिकाले हुन्छ । सकरात्मक कारणले ढिलाई भएको हो ।’
सरकार सञ्चालन गरिरहेको सम्पूर्ण ध्यान यतिबेला चितवनमा छ । प्रधानमन्त्री बुधबार काठमाडौं फर्किइसकेका छन् । अधिकांश मन्त्री चितवनमै छन् । महाधिवेशनको समयावधि लम्बिँदा सरकारको काम कारबाही प्रभावित नभएको सरकारका प्रवक्ता पोखरेल दाबी गर्छन् ।पोखरेलले सरकारका मन्त्रीहरू ‘पेन्डिङ’ कामहरू महाधिवेशन सुरुभन्दा अगाडि नै सम्पन्न गरेर चितवन आएको प्रतिक्रिया दिए । उनी भन्छन्,‘धेरैजसो मन्त्रीज्यूहरू पेन्डिङ कामहरु अगाडि नै सकेर आउनुभएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘हाम्रो मन्त्रालयको केसमा पनि हामीले २-३ दिन जतिको पेन्डिङ कामहरू चाँडै नै सक्काएर आएका हौं ।’
महाधिवेशन अझै दुई दिन लम्बिने निश्चित भएको छ । केन्द्रीय समितिको मतदान समय निर्वाचन आयोगले तोकेपनि पदाधिकारीका लागि हुने दोस्रो चरणको मतदानको समय निर्धारण गरिएको छैन । रास्वपा विधान अनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन पहिलो चरणमा हुनेछ। सभापतिमा लामिछाने निर्विरोध भइसकेको हुँदा केन्द्रीय सदस्यको मात्रै अब निर्वाचन हुनेछ । पदाधिकारीका लागि हुने दोस्रो चरणको मतदान बिहीबार ९ बजेदेखि सुरु गर्ने तयारी रहेको प्रवक्ता मनिष झाले जानकारी गराए ।
















