Play

रास्वपा महाधिबेशन: प्रतिनिधि बिबादका कारण ढिलाई भएको बन्दसत्र दिउँसो १ बजे, महाधिबेशन लम्बिने निश्चित

गुरुकुल खबर


चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अझै सम्म शुरु हुन् सकेको छैन । सोमबार बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले ढिलाई भएको भनिएको छ । यसका लागि आज बिहान ७:०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिने भनिए पनि बिहान १० बजेपछि मात्र परिचय पत्र वितरण शुरु गर्न लागिएकोले बन्द सत्र दिउँसो १ बजे शुरु हुने बताइएको छ ।

आयोगका पदाधिकारी र पार्टीका महामन्त्री, सहमहामन्त्रीलगायत छ्लफलमा जुटेपछि परिचयपत्र वितरण सुरु गर्न लागिएको हो । राति छपाइ भएका कार्ड प्रदेशमार्फत वितरण गरिने प्रवक्ता मनिष झाले जानकारी दिए ।  सात प्रदेश र समायोजन एवं प्रवाषका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।

कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।

महाधिबेशनको कार्यतालिका अनुसार हिजो बिहानै बन्द सत्रस्थलमा प्रतिनिधिहरू पुगेका थिए । उखरमाउलो गर्मी खेपेर दिनभर बन्द सत्र सुरु हुने आशामा बसेका प्रतिनिधिहरू अन्तत: निराश हुँदै फर्किएका थिए  । गर्मी छल्न केहीले डीडीसी प्रोडक्टको साहरा लिएको भेटिन्थे भने कोही बन्द सत्रकै हलमा असरल्ल पल्टिरहेका थिए । केही चाहिँ नाचगानमा व्यस्त देखिन्थे ।

करिब ९ घण्टासम्म बन्द सत्र सुरु नभएपछि साँझ प्रवक्ता मनिष झाले पत्रकार सम्मेलन गरे । उनले क्षमा माग्दै भने, ‘समयमा बन्द सत्र सुरु हुन सकेन । क्षमाप्रार्थी छौं । धैर्य गर्न अनुरोध गर्छौं ।’ यसैबीच केही प्रतिनिधिहरू रुष्ट देखिए । केहीले सञ्जालबाटै आक्रोश पनि पोखे । एक प्रतिनिधिले आक्रोशित भावमा भने ‘हिजो वरिष्ठ नेता (बालेन) ले एक्सप्रेस गतिमा चल्छौं भन्नुभएको थियो । आजै ब्रेक पो लाग्यो ।’

आजै सभापतिले बन्दसत्र प्रारम्भ गर्ने कार्यतालिका थियो । त्यसपछि क्रमश: अनुशासन समितिको प्रतिवेदन, पार्टीको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान अनुमोदन, अर्थ राजनीति प्रस्तावना, सभापतिको राजनीतिक प्रतिवेदन, अन्तरिम व्यवस्थापन समिति गठन गर्ने कार्यतालिका थियो ।

किन शुरु हुन सकेन बन्दसत्र ?

महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लगाउनुप अनिवार्य शर्त हो । प्रतिनिधि यकिन नभई महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुँदैन । दिनभर प्रतिनिधिको टुंगो लगाउने प्रयास भए पनि निर्वाचन आयोगले सकेन । प्रतिनिधिको टुंगो नलगाई महाधिवेशन गर्दा जटिलता आएको निष्कर्ष रास्वपा नेताहरूको छ ।

पार्टी, समूह, अभियन्ता लगायतलाई एकता र  समायोजन गराउँदै आएको रास्वपाले द्रुत गतिको कार्यतालिका बनाएर महाधिवेशन गर्ने निर्णय लिएको थियो । महाधिवेशन प्रतिनिधि टुंगो लगाउन नसक्दा महाधिवेशन लम्बिने भएको छ।

रास्वपाले अघिल्लो सातासम्म प्रतिनिधि  ३ हजारको हारहारीमा हुने बताउँदै आएको थियो । तर महाधिवेशन प्रारम्भ भएपछि  प्रतिनिधिको संख्या बढेको जानकारी गराइयो । निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्मको अवस्था अनुसार करिब ४ जार ३ सय प्रतिनिधि हुने भएका छन् । प्रतिनिधि निश्चित भएपछि मात्र कार्ड वितरण गर्ने योजना अनुसार टुंगो लागिसकेका प्रतिनिधिले समेत कार्ड प्राप्त गर्न सकेनन् ।

रास्वपाका एक नेताका अनुसार प्रतिनिधि चयन भएकाहरूमध्ये पाँच सय बढी विवादित छन् । प्रतिनिधिमा टुंगो लगाउन रास्वपालाई प्रमुख समस्या मधेशमा देखिएको छ । हालसम्म पनि मधेशका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छैन ।  मधेशमा ५ सय ९२ जनाको नाम प्रतिनिधि चयन भएको जानकारी गराइएको थियो । तर, ९६ जनाको थप नाम समावेश समावेश गर्नुपर्ने माग मधेशका नेताहरूको रह्यो ।

विशेषगरी मधेशका प्रतिनिधिको संख्या यकिन हुन नसक्दा निर्धारित कार्यतालिका नै अवरुद्ध बन्न पुगेको हो । समायोजनबाट आएका, यसैगरी सभापतिले मनोनीत गर्ने र महामन्त्रीलाई टुंगो लगाउन जिम्मा दिइएका प्रतिनिधिबारे विवाद रहेको पनि नेताहरू बताउँछन् । प्रथम महाधिवेशन भएको र सिक्ने क्रममै रहेको हुनाले कार्यतालिका समय अनुसार हुन नसकेको प्रवक्ता मनिष झाले स्वीकारे ।

‘समय बरु अर्को तय गर्‍यौं तर प्रतिनिधि नछुटुन् भनेर आजका लागि स्थगित गरेका हौं,’ प्रवक्ता झाले भने, ‘जसोतसो बन्द सत्र गर्न सकिन्थ्यो । तर, त्यो प्रतिउत्पादक हुन्थ्यो ।’ रास्वपाको अनुशासन समितिले कारबाहीको सिफारिस गरेका १६ जनालाई समेत प्रतिनिधि बनाएकोप्रति पार्टीमा प्रश्न उठेको छ ।

बन्दसत्र सुरु गर्न नै समय लागेपछि महाधिवेशन लम्बिने निश्चित भएको छ । यसको असर देशभर तथा देशबाहिरबाट आएका प्रतिनिधिलाई परेको छ । चितवनको होटल होटलमा प्रतिनिधि बसेका छन् । तर महाधिवेशन लम्बिने भएपछि चिन्तित छन्, प्रतिनिधिहरू । महाधिवेशनको अवधि लम्बिएपछि प्रतिनिधिको खर्च समेत थपिने भएको छ । कतिपय कार्यकर्ता प्रतिनिधि हुने विश्वासमा चितवन आएका छन् । तर, उम्मेदवार दर्ता र निर्वाचन प्रक्रियामा जाँदा पनि कार्यतालिका यसै गरी प्रभावित भयो भने प्रतिनिधिको बसाईं थप लम्बिने छ ।

कार्यतालिका अनुसार कार्य नहुँदा त्यसबाट प्रतिनिधिको खर्च बढ्ने र त्यसबाट उनीहरूलाई पर्ने असरबारे सोधिएको प्रश्नमा प्रवक्ता झाले ‘वैकल्पिक व्यवस्था गरेर टाढाबाट आएका प्रतिनिधिका लागि खर्चको जोहो गरिने’ आश्वासन दिए । महाधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था बन्दसत्र स्थलमै गरिएको छ ।

प्रतिनिधिहरूलाई बिहान खसीको मासु र भात खुवाइने छ । बेलुका भने मिक्स भेज तरकारी खुवाइनेछ । बिहान ७ बजेदेखि ब्रेक फास्ट, दिउँसो १ बजेदेखि २.३० बजेसम्म खाना, दिउँसो ३ बजेदेखि ५ बजेसम्म हाइटी र बेलुका ६ बजेदेखि ९ बजेसम्म खानाको व्यवस्था गर्ने तालिका रहेको छ । आइतबार गेस्ट हाउस चौरमा उद्घाटन भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिने कार्यतालिका छ ।

केन्द्रीय समिति कस्तो बन्छ ?

संशोधित रास्वपाको विधान अनुसार १५१ जनाको केन्द्रीय समिति हुनेछ । महाधिवेशनबाट ९९ जना निर्वाचित केन्द्रीय सदस्य आउने छन् भने सभापतिलाई मनोनित गर्ने अधिकार ५१ जना छुट्याइएको छ । विधानमा १९ पदाधिकारीको व्यवस्था गरिएको छ । सभापति, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना पदाधिकारी हुनेछन् । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र एक उपसभापतिमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत चयन हुनेछन् ।

रास्वपाका नेताहरूका अनुसार पदाधिकारीका अन्य पदमा पनि सर्वसम्मत बनाउने प्रयत्न भइरहेको छ । सर्वसम्मत हुने अवस्था बन्न नसके उपसभापति १, महामन्त्री १, सहमहामन्त्री ३ जनामा निर्वाचन हुनेछ । रास्वपाको विधान अनुसार पहिलो चरणमा सभापति र निर्वाचनबाट आउने केन्द्रीय सदस्यका लागि मतदान गर्नुपर्दछ । दोस्रो चरणमा पदाधिकारीका लागि मतदान हुनेछ । केन्द्रीय सदस्यमा निर्वाचित भएर पदाधिकारीमा प्रतिस्पर्धा गर्न नेताहरूले मत माग्ने कार्यलाई तीव्रता दिएका छन् ।

९ असार २०८३, मंगलवार १०:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा