पोखरा, विश्व संगीत दिवसको अवसरमा पोखरामा बिभिन्न संस्थाले बिभिन्न कार्यक्रमको आयोजना गरेको छन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले आइतबार आयोजना गरेको १५ औं बृहत् रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । यसैगरी पोखराको जोजिजु म्युजिक सेन्टरले सांगीतिक कार्यक्रम आयोजना गरी विश्व संगीत दिवस मनाएको छ।
हरेक वर्ष जुन २१ मा संसारभर मनाइने विश्व संगीत दिवसलाई शक्ति, सिर्जना र एकताको उत्सवको रूपमा यो दिवसलाई लिने गरिन्छ। सन् १९८२ मा फ्रान्सबाट सुरु भएको यो अभियान अहिले १२० भन्दा बढी देशमा फैलिएको छ।
नेपाली लोक संस्कृति, शास्त्रीय र आधुनिक संगीतका विविध पक्षलाई सम्मान गर्दै कलाकार र संगीतप्रेमीले यो दिनलाई विशेष बनाएका छन्। संगीतले भाषा, धर्म र भूगोलभन्दा माथि उठेर मानिसलाई एक आपसमा जोड्ने काम गर्छ। यसैक्रममा जोजिजु म्युजिक सेन्टरले आयोजना गरेको सांगीतिक कार्यक्रममा बोल्दै संस्थापक बिनित जोजिजुले नयाँ पुस्तालाई संगीतमा जोड्न निरन्तर प्रयास गरिरहेको र संगीतलाई जीवनको आधार बनाउन प्रेरणा दिइरहेको बताए।

जोजिजु परिवार संगीतप्रतिको लगाव र मिहिनेतको उत्कृष्ट उदाहरण हो। यस परिवारका सदस्यले संगीतका विभिन्न क्षेत्रमा सफलता हात पार्दै नेपाली संगीत जगतमा योगदान दिएका छन्। गण्डकी प्रदेश पोखराका गौरव उत्प्रेम जोजिजुले २ वर्षकै उमेरमा ड्रम सेट बजाएर विश्व कीर्तिमान बनाएका थिए। उनी अहिले युवा प्रतिभाको रूपमा परिचित छन्। उनको अनुशासन र लगावले नयाँ पुस्तालाई हौसला मिलेको छ। त्यस्तै भायोलिनवादक सानु जोजिजुले आफ्नो कलामार्फत श्रोताको मन जित्दै आएकी छन्। उनको निष्ठाले जोजिजु परिवारको सांगीतिक यात्रालाई अझै बलियो बनाएको छ।
यसैगरी सानै उमेरदेखि गायनमा रुचि राख्ने उत्प्रेरणा जोजिजु भविष्यकी आशालाग्दो गायिकाको रूपमा अगाडि बढिरहेकी छन्। उनको मधुर स्वर र आत्मविश्वासले संगीत क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। जोजिजु म्युजिक स्कुलका संस्थापक, गायक तथा संगीत उद्यमी बिनित जोजिजुले २ दशकभन्दा लामो समयदेखि नयाँ कलाकार उत्पादनमा जोड दिएका छन्। उनले यस वर्ष पनि प्रशिक्षक र प्रशिक्षार्थीलाई मञ्च प्रदान गरी प्रतिभा उजागर गर्ने काम गरे। संगीतको माध्यमबाट समाजमा सकारात्मक ऊर्जा र एकता फैलाउने उनको लक्ष्य छ। ‘संगीतको यो यात्रा आगामी दिनमा अझै प्रेरणादायी र विश्वव्यापी बनोस्,’ उनले भने।
यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष जुन २१ का दिन रगत संकलन गर्दै आएको छ । विश्व संगीत दिवस सन् १९८१ जुन २१ मा फ्रान्सबाट सुरु भएको हो । नेपालमा विसं २०४५ देखि यो दिवस मनाउन थालिएको हो। यस पटक आयोजित कार्यक्रममा ५२ युनिट रगत संकलन भएको हो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित विसं २०५८ देखि २०६१ सम्मका संस्थापक कार्यसमिति, संरक्षक र सल्लाहकारलाई सम्मान गरेको छ । संस्थापक अध्यक्ष तारापति सुवेदी लगायतलाई दोषल्ला र सम्मानपत्र प्रदान गरियो । प्रतिष्ठानकी अध्यक्ष माया गुरुङले संगीतलाई समाजसेवासँग जोड्न रक्तदान गरिएको बताउंदै संकलित रगतले अभाव झेलिरहेका बिरामीलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरिन । कार्यक्रममा कलाकारहरुले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका साथै प्रतिष्ठानका पूर्व अध्यक्षहरु प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेले संगीतको महत्वबारे चर्चा गरे। प्रतिष्ठानका अध्यक्ष राजन कार्की, संरक्षक ओम गुरुङ र उपाध्यक्ष दिलु लामाले मन्तव्य राखेका थिए । सचिव रामजी पौडेल, प्रशासनिक सचिव जीवन दाहाल र सचिवहरु शंकर विरही गुरुङ तथा घनश्याम रिजालले पनि सम्बोधन गरे । कास्कीका अध्यक्ष परशुराम अधिकारी र सचिव सुनिल गायकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
















