पोखरा, गण्डकी प्रदेशका सांसद सुनिता थापाले आगामी यहि जुन ९ देखि ११ (जेठ २६ देखि २८) सम्म अमेरिकाको न्युयोर्कमा हुने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको १९औँ सत्रमा सहभागी बन्ने भएकी छन। संयुक्त राष्ट्र संघको मानव अधिकार उच्चायुक्तको कार्यालय अन्तर्गतको ‘युनाइटेड नेसन्स भोलन्टरी फण्ड’ बाट प्राप्त यात्रा अनुदान स्वीकृत भएपछि प्रदेश सांसद थापा उक्त उच्चस्तरीय सम्मेलनमा सहभागी हुन लागेकी हुन।
विश्वका बिभिन्न मुलुकबाट अपांगताको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको सहभागिता रहने उक्त कार्यक्रममा थापाले नेपालको तर्फबाट प्रस्तुती दिने भएकी छन। गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकारका लागि विधेयक बनाउने र पारित गराउनको लागि महत्वपूर्ण भूमिका निर्बाह गरेको कुरालाई उनले प्राथमिकताका साथ उजागर गर्ने भएकी छन।
प्रदेश सांसद सुनिता थापाको पहलमा बिधेयक बनाउने र पारित गराउने काम समेत भएको भन्दै अपांगताको क्षेत्रमा उनको भूमिकाको प्रशंसा हुँदै आएको छ। नेपालका सातवटा प्रदेशमध्ये अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकारका लागि विधेयक बनाउने गण्डकी प्रदेश पहिलो प्रदेश हो । यहि उपलब्धिलाई विश्वमञ्चमा सशक्त रूपमा प्रस्तुत गर्ने तयारीमा सांसद थापा लागेको बताइएको छ । गण्डकी प्रदेश सभा सदस्य थापा आँफै पनि श्रवण शक्ति गुमेकी अपांग हुन्।
‘नेपालको प्रदेश तहमा अपाङ्गता भएका व्यक्तिहरू आफैँले नेतृत्व गरेर कसरी अधिकारमुखी कानुन निर्माण गर्न र पारित गराउन सफल भए भन्ने कथा विश्वभरका प्रतिनिधिहरू माझमा मैले राख्ने छु।, यसले गण्डकी प्रदेश र नेपालले अपांगता भएकाहरुको पक्षमा गरेको कामको अन्तराष्ट्रियस्तरमा चर्चा हुनेछ।’ संसद थापाले गुरुकुल खबरसंग भनिन ।
यस वर्ष हुन लागेको सम्मेलनको मुख्य नारा “CRPD at 20: celebrating and consolidating achievements and shaping the next phase of implementation in a changing world” रहेको छ।














