काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको चौतर्फी बिरोध शुरु भएको छ। संसदमा बिपक्षी पार्टीका सांसदको बिरोधसंगै सडकमा युवा बिधार्थीहरु समेत बिरोध र प्रदर्शनमा उत्रिएका छन। बिशेष गरि नेपाली काँग्रेस र नेकपा एमाले सहित अन्य दलका नेता कार्यकर्ताहरुको तहबाट पनि बिरोध र असन्तुष्टिका स्वर सुनिन थालेका छन एमाले सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले सडकमा मसाल जुलुस नै प्रदर्शन गरिसकेको छ ।
आज आइतबारको संसद बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। भारत र चीनले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवर यात्रा सुरू गरेको विषयमा उनको प्रश्न केन्द्रित थियो। उक्त प्रश्नको उत्तरमा प्रम बालेन्द्रले भने ‘यो विषय कुटनीतिक रूपमा टेलब टक… तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले आज संसदमै भने, ‘यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ।’
प्रधानमन्त्रीले यस्तो कुरा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रश्न उठाएकी थिईन। ‘प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनेर मिचिएको हो, यो विषयमा हामीलाई छिटोभन्दा छिटो जानकारी गराउनुपर्यो, प्रधानमन्त्रीले तथ्यबिना दुई देश सीमाबारे बोलेको कुरा सत्य हो भने राखिन पर्यो, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन्। संसदमा रहेका अन्य दलको तर्फबाट मात्र नभएर संसद बाहिरबाट पनि प्रम बालेन्द्रको उक्त अभिव्यक्तिको बिरोध भैरहेको छ।

यसैगरी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सीमाविद् र विज्ञहरूले पनि गम्भीर आपत्ति जनाएका छन् । सीमाविदहरुले प्रधानमन्त्रीले आंफ्नो भनाईलाई लिएर तत्काल सार्बजनिक रुपमा स्पष्टिकरण सहित क्षमा याचना गर्न र उनको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन समेत माग गरेका छन ।
आइतबार प्रधानमन्त्री शाहले संसदमा प्रतिपक्षि सांसदहरुको प्रश्नको जवाफ दिंदै नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको हो। ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी प्रधानमन्त्रीले सदनमा व्यक्त गरेको धारणाप्रति सीमाविद्हरूले औपचारिक रूपमा खेद प्रकट गरेका हुन् ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राडा. पीताम्बर शर्मा, प्रा.डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा र डा. द्वारिका नाथ ढुङ्गेलले प्रधानमन्त्रीको भनाइप्रति आश्चर्य व्यक्त गर्दै एक बिज्ञप्ती मार्फत बिरोध जनाएका छन । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले राष्ट्रियता र सीमाको संवेदनशील विषयमा अनावश्यक भ्रम सिर्जना गरेको विज्ञहरूको ठहर छ । विज्ञहरूले प्रधानमन्त्रीको उक्त भनाइलाई आधारहीन र प्रमाणविहीन भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आजसम्म नेपालले भारतको सीमा मिचेको कुरा कुनै पनि आधिकारिक निकायबाट सुनिएको थिएन । नेपाल–भारत संयुक्त सीमा आयोगले ९८ प्रतिशत काम सम्पन्न गरिसक्दा पनि कतैबाट नेपालले अतिक्रमण गरेको निष्कर्ष निस्किएको छैन ।’ बरु, महाकाली नदीको मुहान र सुस्ता क्षेत्रको विवाद समाधान हुन बाँकी रहेको तथ्यलाई स्मरण गराउँदै विज्ञहरूले राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा कार्यकारी प्रमुखबाटै तथ्यहीन अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्
नेपालले आफ्नो अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिसकेको स्मरण गराउँदै विज्ञहरूले प्रधानमन्त्रीसँग प्रश्न गरेका छन्, ‘यो अभिव्यक्ति दिनुको आधार वा प्रमाण के हो ?’ प्रधानमन्त्रीको अभिव्यक्तिका कारण आम नागरिकमा भ्रम सिर्जना भएको भन्दै विज्ञहरूले तीन बुँदे माग अघि सारेका छन् ।
१. प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे तत्काल सार्वजनिक रूपमा स्पष्टीकरण दिनुपर्ने।
२. भ्रम सिर्जना गर्ने खालको सो अभिव्यक्तिप्रति प्रधानमन्त्रीले क्षमायाचना गर्नुपर्ने।
३. प्रतिनिधि सभामा दिइएको उक्त गलत अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन सभामुख समक्ष आग्रह।














