पोखरा, बर्तमान सरकारले पोखरामा प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सरकारको तर्फबाट प्रस्तुत गरेको बजेटमा पोखरामा आयुर्वेद तथा प्राकृतिक उपचार सेवाको विस्तार गरिने उल्लेख छ ।
बजेट भाषणका क्रममा उनले प्राकृतिक चिकित्सा, वैकल्पिक उपचार पद्धति तथा आयुर्वेद सेवालाई प्रबर्दन गर्ने नीति अनुरूप पोखरामा सुविधासम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने बताएका छन ।
यसैगरी सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्ने अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यमार्फत घोषणा गरेका छन विमानस्थलहरूको प्रभावकारी सञ्चालनका लागि निजी क्षेत्रसँग साझेदारी गरिने घोषणा उनले गरेका हुन ।
यसैगरी मुस्ताङ र मनाङका दुई सय वर्षभन्दा पुराना बौद्ध गुम्बा संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने योजना पनि सरकारले अगाडी सारेको छ । स्थानीय पर्यटन प्रबर्द्दनका लागि गण्डकी प्रदेशमा साइकल ट्रेल निर्माण तथा मधेस, कर्णाली र सुदूरपश्चिमका दलित बस्तीमा नमुना होमस्टे सञ्चालन कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।
पर्यटन विविधीकरणअन्तर्गत पहाडी क्षेत्रमा हिल स्टेसन विकास, ग्रेट हिमालयन ट्रेललगायत रणनीतिक पदमार्गको स्तरोन्नति तथा अन्तर्राष्ट्रिय प्रबर्द्दन गरिने भएको छ । नामकरण नभएका ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको मौलिक नामकरण गरी अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्दन गरिने सरकारको योजना छ।














