काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताएका छन । १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने ‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो’ ।
राष्ट्रपति पौडेल गणतन्त्रका मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न नसकिने भन्दै सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न आजको दिनले प्रेरणा दिने बिश्वास व्यक्त गरे।
उनले आज नागरिकले सुशासनसहितको सम्बृद्धि खोजेका छन् भन्दै यसका लागि हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक भएको बताए । “अनि मात्र आर्थिक विकास र सम्बृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो, यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौ”, राष्ट्रपति पौडेलले भने ।
राजनीतिक उपलब्धिहरू मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन भन्दै उनले हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ र हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने धारणा व्यक्त गरे । “गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु”, उनले भने ।
हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय भएको धारणा व्यक्त गरे ।
राष्ट्रपति पौडेलले स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिमको जिम्मेवारी निर्वाह गरिरहेको भन्दै यस शासकीय व्यवस्थामा जनताको घर आँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए । “नागरिकको गुनासो भए शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ, यसले लोकतन्त्रको जरा बलियो बनाउँछ, लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ”, राष्ट्रपति पौडेलले भने।














