पोखरा, नेपाल प्रेस युनियन गण्डकी प्रदेशकी सदस्य एबम अधिबक्ता गीता लामिछानेलाई पितृशोक परेको छ । मानव मिलन नारी जागरण नेपाल पोखराको कार्यसमितिको उपाध्यक्ष र नेपाल ट्रेड युनियन कांग्रेस सहित बिभिन्न संघ संस्थामा क्रियाशील गीताका बुवा विष्णुप्रसाद लामिछानेको सोमबार निधन भएको हो ।
स्यांग्जा जिल्लाको फेदीखोला -४, आरुखर्क घर भएका लामिछानेलाई जेठ १० गते आइतबार पोखराको ड्यामसाइडमा मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। दुर्घटनापछि पोखराको चारक अस्पतालमा उपचारार्थ लगिएका ७३ बर्षीय लामिछानेको उपचारको क्रममा मंगलवार बिहान निधन भएको बुझिएको छ ।
मानव मिलन नारी जागरणकी अन्तराष्ट्रिय सचिब समेत रहेकी सावित्री पौडेल शर्माका अनुसार स्यांग्जाको सर्केटारी बस्ने विष्णुप्रसाद लामिछाने केहि समयदेखि आंफ्नो छोरा बुहारीसंग पोखरामा आएर बसेका थिए। तर यहि बिचमा उनलाई सडकमा मोटरसाइकलले ठक्कर दिएको कारण निधन हुन पुगेको हो ।
स्व बिष्णुप्रसादकी धर्मपत्नी सिता लामिछाने, छोराहरु अशोक लामिछाने र बुद्ध लामिछाने रहेकोमा बुद्ध लामिछाने सशस्त्र प्रहरीमा कार्यरत छन भने छोरीहरु गिता लामिछाने, रिता लामिछाने र रजनी लामिछाने रहेको बताइएको छ ।
मोटरसाइकल चालक को हुन् ?
यसैबीच, लामिछानेलाई पोखरा -१७ ड्यामसाइडको ड्रागन मार्ट अगाडीको सडकमा ठक्कर दिने व्यक्ति पर्बत जिल्लाको जलजला घर भई हाल पोखरा -१४ चाउथे बस्ने रोहित बिक भएको बुझिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक बिष्णु प्रसाद रेग्मीले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार मोटरसाइकल चालक १७ बर्षीय रोहितको सवारी चालक अनुमती पत्र समेत छैन।
निज रोहितले शुरुमा आंफ्नो दाइको सवारी चालक अनुमति पत्रलाई नै आंफ्नो भनेर देखाएको थिए। तर, पछि उनि संग लाइसेन्स नभएको खुलेको छ उनिसंगै मोटरसाइकलमा पछाडी बसेका १७ बर्षीय सुजन सुनारको भने अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरी सहायक निरिक्षक रेग्मीले लाइसेन्स नभईकन सवारी साधन चलाएको र दुर्घटनामा मानिसको मृत्यु समेत भएकोले उनि जेल जाने निश्चित छ। यस सम्बन्धि आबश्यक अनुसन्धान गरि अदालतमा मुद्दा पेश गर्ने प्रक्रिया अगाडी बढिरहेको बुझिएको छ।














