पोखरा, नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीको हालको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच बार्ता गरेर जतिसक्यो छिटो एकताको १५ औं महाधिबेशन गर्नुपर्नेमा जोड दिएका छन। पोखरामा पार्टीको बिशेष महाधिबेशनबाट बनेको गगन थापा नेतृत्वको समितीको कार्यशैलीको बिरोध गर्दै बृहत्तर एकता र भावी कार्यदिशा नाम दिएर आयोजना गरिएको भेलामा बोल्दै बिपी कोइरालाका पुत्र शसांक कोइरालाले कांग्रेसका बर्तमान सभापति गगन थापालाई हृदय अलि फराकिलो बनाएर पार्टीका सबैपक्षलाई समेट्न सुझाब दिए ।
कांग्रेस नेता कोइरालाले भने, ‘नेपाली कांग्रेस दुईपटक फुट्न पुग्यो, यस अगाडी पार्टीभित्रको ग्रुपिज्मको कारणले र यसपटक सर्वोच्च अदालतको कारणले।’ कोइरालाले यस पटक गगन थापाको ग्रुप नहुँदा पनि कांग्रेस फुटेको बिषयलाई अर्को दृष्टिकोणले पनि हेर्नुपर्ने बताए। तर उनले त्यो दृष्टिकोण के हो भन्ने स्पष्ट बताएनन । अरु समयको सभासमारोहमा भन्दा केहि लामो र समसामयिक राजनीतिलाई जोडेर मन्तब्य प्रकट गरेका कोइरालाले आँफुलाई बिपी पुत्रको रुपमा समेत चित्रण गरे।
थापालाई कोइरालाले भने – संस्थापन र ईतर दुवैपक्ष मिलाएर एकताको महाधिबेशन गरौँ
‘म बिपी पुत्र, बिपी कोइरालाले यस्तो राम्रो विचार र सिद्दान्त भएको पार्टी बनाएको भएपनि बिशेष महाधिबेशनबाट नयाँ समिति बनेपछि पार्टीको अबस्था दयनीय बन्न पुग्यो’ उनले चिन्ता प्रकट गर्दै भने। ‘यस्तो राम्रो बिचार भएको पार्टीको चुनाबी परिणाम कस्तो आयो भन्ने हामीले नै भोग्नुपर्यो, त्यसैले अब संस्थापन पक्ष जिम्मेवार भएर बार्ता गरि बिशेष महाधिबेशन पक्षधर र नियमित महाधिबेशनको पक्षधर दुबैतिरका मुख्य मान्छेहरुलाई मिलाएर जतिसक्यो छिटो एकताको महाधिबेशन गरौँ’।
पुर्व महामन्त्री कोइरालाले २०१६ सालमा कांग्रेसले चुनाब जितेपछि बिपी कोइरालाले सुवर्ण शमशेरलाई प्रधानमन्त्री बन्न आग्रह गरेको तर सुबर्णजीले यो उपलब्धि तपाईंको कारण आएकोले प्रधानमन्त्री पनि तपाईं नै बन्नुपर्छ भनेर बिपी कोइरालाई बनाएको प्रसंग उल्लेख गर्दै यस्तै फराकिलो र ठुलो हृदय हुनुपर्नेमा अहिले त्यस्तो नदेखिएको बताए। उनले भने अब गगनजीले अलि फराकिलो हृदय बनाएर विचार र आदर्शले सबैलाई समेटेर पार्टीलाई एक बनाउनु जरुरी छ।
नेपाली कांग्रेसमा बिशेष महाधिबेशनको बिपक्षमा रहेको समुहले शनिबार पोखरामा आयोजना गरेको बिशेष भेलामा बोल्दै कांग्रेस नेता कोइरालाले उक्त कुरा बताएका हुन। कास्की जिल्लाको अतिरिक्त छिमेकी जिल्लाबाट आएका नेपाली काँग्रेस र विभिन्न भातृसंस्थाका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको भेलामा १४ औं महाधिबेशनमा केन्द्रीय सदस्य बनेकाहरु सहित अन्यको सहभागिता रहेको थियो।

पोखरालाई पार्टीका पुर्व सभापति शेरबहादुर देउवा समुहको तुलानामा हाल संस्थापन रहेका गगन थापा र नेता शेखर कोइरालाको प्रभाव रहेको क्षेत्र मानिने गरेको भएपनि शनिबारको भेलामा भने उल्लेखनीय संख्यामा नेता कार्यकर्ताको सहभगिता देखेपछि नेता कोइरालाले समेत प्रशंसा गर्दै भेला महत्वपूर्ण रहेको बताए। ‘आजको भेलामा ठुलो संख्यामा नेता कार्यकर्ताहरुको सहभगिता रहेकोले पनि पार्टी भित्र एकता कायम गर्न संस्थापन पक्ष गम्भीर बन्नुपर्छ’ उनले भने।
मलाइ केहि चाहिन्न तर हृदय ठुलो बनाएर सबैलाई समेटौ र पार्टी एकढिक्का बनाऔं- कोइराला
नेता कोइरालाले पार्टीलाई एकढिक्का बनाउन सबैतिरबाट सुझाब दिन आग्रह गर्दै पार्टी एकता गर्दा आँफुलाई केहि नचाहिने स्पष्ट पारे। ‘हाम्रो काँधमा ठुलो जिम्मेवारी छ, नेपाली काँग्रेस एक भयो भने राष्ट्र बाँच्छ, लोकतान्त्रिक संबिधान बाँच्छ।’ यसै सन्दर्भमा उनले पार्टी एक नभए नेपाली काँग्रेसमात्र कमजोर हुने नभई मुलुक नै कमजोर बन्ने ठोकुवा गरे । ‘यस्तो अबस्थामा नेपाली काँग्रेस एक भएर बर्तमान संविधानको रक्षा गर्दै नेपाल र नेपालीको पक्षमा काम गर्नुपर्ने खाँचो छ, हामीले लामो सङ्घर्ष र ठुलो त्यागबाट संविधान प्राप्त गरेका छौँ । यसको रक्षा गर्नु हाम्रो मूल कर्तव्य हो ।’
पार्टीभित्रका समस्या समाधानका लागि नेताहरूबिच निरन्तर संवाद आवश्यक रहेकोमा कोइरालाले जोड दिए । ‘महाधिवेशन वा महत्त्वपूर्ण निर्णयहरू गर्दा सबै पक्षलाई समेटेर समिति गठन गर्नुपर्छ।’ उनले थपे, ‘सबैलाई समेटेर अघि बढ्ने नीति नै कांग्रेसलाई बलियो बनाउने बाटो हो । नेतृत्वले ध्यान दिनुपर्छ ।’ उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पार्टी नै सबैभन्दा माथि भन्ने भावना आत्मसात गर्नुपर्ने बताए ।
उक्त भेलामा बोल्दै नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य किरण शर्मा पौडेलले बिशेष महाधिबेशनबाट बनेको नेतृत्वका कारण फागुन २१ मा सम्पन्न चुनाबमा कांग्रेसको पक्षमा कस्तो नतिजा आयो भन्ने सबैले महशुस गरेको कारण अब एकताको महाधिबेशन गरेर कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । यसतर्फ संस्थापन पक्ष गम्भीर नबन्ने हो भने अब हुने स्थानीय र प्रदेश तहको चुनाबमा कांग्रेसको अबस्था झनै कमजोर बन्नसक्ने उनको भनाई थियो ।

देउवाको अनुहार र हस्ताक्षरले मत घट्छ भन्ने प्रचार गरियो, नतिजा कस्तो आयो त ?- तिवारी
पार्टीका पुर्व केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले पार्टीका पुराना र इतिहास बोकेका थुप्रै नेताहरु वडा तहमा रहेर काम गरिरहेको र उनीहरुले कांग्रेस भित्रको एकता कुरेर बसेको भन्दै बिशेष महाधिबेशनबाट निर्बाचित साथीहरुले शेरबहादुर देउवाको अनुहार र हस्ताक्षर देखे मतदाताले मत दिंदैनन भनेर प्रचार गरेको बताइन । उनले देउवा सहित पार्टीका नेताहरुको तस्बिर समेत हटाएर प्रचार गर्दा कांग्रेस कस्तो परिस्थितिमा आइपुग्यो भन्ने नेतृत्वले बुझ्नुपर्नेमा जोड दिंदै उनले राजा, राणा, पंचायत र शसस्त्र माओबादीसंग नझुकेको कांग्रेस यतिबेला भने आँफै कमजोर बनेको कारण राष्ट्र, राष्ट्रियता पनि कमजोर बन्ने हो कि भन्ने चिन्तामा रहेको बताइन ।
बिदेशीको कुत्सित लक्ष पुरा गर्न घन्टी पार्टीको जन्म र कांग्रेसमा बिशेष महाधिबेशन- बराल
नेपाली काँग्रेसका अर्का पुर्व केन्द्रिय सदस्य गुरु बरालले कांग्रेस सभापति देउवा प्रधानमन्त्री रहेको बेला अमेरिकाको चाहना बिपरित एसपीपी कार्यक्रम अस्वीकृत गरेपछि बिदेशीको चाहना अनुरुप नै कांग्रेस पार्टी र नेतृत्वमाथि प्रहार शुरु गरिएको बताए । उनले विदेशीहरुको कुत्सित लक्ष पुरा गर्न घन्टी पार्टीको जन्म र कांग्रेसमा बिशेष महाधिबेशन हुन पुगेको बताए। उनले सबै तहका सरकारमा नेतृत्व गरेको कांग्रेसलाई ३८ सिटमा झार्ने काम गगन थापाको हुंकार बाट भएको भन्दै अब कांग्रेसलाई पुरानै अबस्थामा फर्काउन आबश्यक रहेकोमा जोड दिए।
उनले कांग्रेसबाट गुमेको जनमत फिर्ता गराउन आबश्यक रहेको र त्यसका लागि पहल गर्न डा. कोइरालालाई आग्रह गरे। बरालले गगन थापा र विश्वप्रकाश शर्मा प्रति लक्षित गर्दै हिजो कम्युनिष्टसंग गठबन्धन गरेकोमा तिब्र बिरोध गर्नेहरु अहिले गुन्डुमा पुगेर गठबन्धन नतोड्न भन्दै धर्ना बसिरहेको आरोप लगाए।
नाटकीय शैलीमा पार्टी अपहरण गरियो – बस्नेत
नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य एबम पुर्व मन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसका नेताहरुमाथि बिभिन्न किसिमबाट आक्रमण भैरहेको बेला एकापसमा हिलो छ्याप्ने र बिशेष महाधिबेशनको नाममा बाहिरका शक्ति समेतको साथ् लिएर नाटकीय शैलीमा पार्टी अपहरण गरिएको बताए। बस्नेतले बिशेष महाधिबेशनको लगत्तै निर्बाचन आएको कारण सबै नेता कार्यकर्ताहरुले जतिसुकै अपमान र आलोचना सहेर पनि निर्बाचनमा होमिएको जानकारी गराउंदै अब पनि पार्टीलाई मिलाउने प्रयास नगर्ने हो भने कांग्रेस एकादेशको पार्टी जस्तै बन्नसक्ने आशंका प्रकट गरे।

उनले क्रियाशील सदस्यता अधाबधी गर्ने नाममा केहीलाई हटाउने र वडा पालिका एबम जिल्लाको नेतृत्वमा रहेका साथीहरुलाई जिम्मेवारी मुक्त गर्ने हो भने देशभरका कार्यकर्ता आएर पार्टी कार्यालयबाट नै नेतृत्वलाई बाहिर निकाल्नुपर्ने अबस्था आउन सक्ने चेतावनी दिए।
उही व्यक्ति हिजो कसरि गलत र आज कसरि सहि ? – काफ्ले
नेपाली काँग्रेसका अर्का पुर्व केन्द्रीय सदस्य कुन्दन काफ्लेले कांग्रेस सक्ने र कांग्रेस भित्र कित्ताकाट गरेर अगाडी बढ्न खोज्ने नेतृत्वको कार्यशैलीको बिरुद्धको अभियान स्वरूप पोखरामा पनि भेला भएको भन्दै कांग्रेसलाई एकढिक्का बनाएर पहिलेको जस्तो ठुलो पार्टी बनाउन आँफुहरु प्रतिबद्द रहेको बताए । उनले हिजोका दिनमा देउवाको नेतृत्वले आर्थिक प्रभावमा परेर उमेश श्रेष्ठ र बिनोद चौधरीलाई अवसर र जिम्मेवारी दिएको भन्दै आलोचना गर्नेहरुले नै अहिले केन्द्रीय सदस्यसमेत नरहेका उमेश श्रेष्ठलाई नै कोषाध्यक्ष मनोनयन गरेको भन्दै उही व्यक्ति हिजो कसरि गलत र आज कसरि सहि ? भनि प्रश्न गरे।
कांग्रेसका नेता कार्यकर्तालाई दास र लास सम्झिनुभएन – पुर्व मुख्यमन्त्री कार्की
कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्कीले बिशेष महाधिबेशनको बेला तत्कालिन महामन्त्री गगन थापाले कांग्रेस दास र लासहरुको पार्टी हैन भन्ने अभिव्यक्ति दिएर चर्चामा आएको स्मरण गर्दै अहिले थापा स्वयमले पार्टीका नेता र कार्यकर्ताहरुलाई दास र लास सम्झिन थालेको भन्दै आक्रोश पोखे। यदि सभापति थापाले पार्टीमा एकता नचाहने र आंफ्नो निर्देशन पालना नगरेको नाममा पार्टीको तल्लो तहका साथीहरुलाई जिम्मेवारीबाट हटाउने हो भने देशभरका कार्यकर्ता सानेपा पुगेर कब्जा गर्ने अबस्था आउनसक्ने बताए ।

पार्टीका पुर्व आमन्त्रित केन्द्रिय सदस्य पुष्पराज पराजुलीले बिशेष महाधिबेशनबाट नेतृत्व सम्हालेका साथीहरुले पार्टी भित्र अन्यायपूर्ण गतिबिधि संचालन गरेको, भातृसंस्थालाई तदर्थबादको रुपमा मात्र संचालन गर्ने प्रयास गरेको भन्दै पार्टीमा बृहत्तर एकता कायम गर्न र पुरानै अबस्थमा फर्काउन पोखरामा भेला आयोजना गरिएको बताए ।
कार्यकर्तालाई धम्कि दिने कार्य बन्द होस् – राजु थापा
नेपाली काँग्रेस स्यांग्जाका सभापति एबम पुर्व सांसद राजु थापाले क्रियाशील सदस्यता अधाबधी गर्ने विषयलाई लिएर वडा सभापतिलाई दबाब वा धम्की दिने कार्य बन्दा गर्न चेतावनी दिए। उनले सभापति थापाप्रति लक्षित् गर्दै तपाईँको उमेरभन्दा लामो योगदान गरेका अनुभवी वडा सभापतिहरू पार्टीमा सक्रिय रहेकोले अनाबश्यक धम्की नदिन आग्रह गरे।
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले भेला आयोजना गर्नुको उद्देश्य पार्टीको विभाजन गर्नु नभएर एकता कायम गर्नु रहेको भन्दै पार्टीको नेतृत्वमा रहेका साथीहरुलाई जिम्मेवार बन्न आग्रह गरे। कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य यामबहादुर मल्लले नेतृत्वलाई सच्चिन दावाब दिन, कांग्रेसलाई एकताबद्ध बनाउन र पार्टी फुटाउन नभई जुटाउन भेलाको आयोजना गरिएको बताए।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमिल्सिना, पार्टीको कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राई, स्यांग्जा कांग्रेसका नेता छायाराम खनाल, पर्बत कांग्रेसका नेता नबराज गुरुङ र सृजना मल्ल, कास्की कांग्रेसका नेताहरु ऋषिराम काफ्ले, पोषनाथ शर्मा र आशिक गुरुङ लगायतले आआफ्नो भनाई राखेका थिए।
भेलाको निष्कर्ष

बिपी बिचारबारेमा बहस गरि समयानुकुल सैद्दान्तिक दृष्टिकोण तय गरिने
भेलाले पार्टीका निबर्तमान सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुर्वमन्त्री आरजु राणा देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै प्रतिशोधपूर्ण ढंगले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको र बिभिन्न भातृसंस्थाको बिघटन गरिएको कुराको बिरोध गरेको छ। भेलाले बिपी कोइरालाबाट प्रतिपादित सिद्दान्त र आदर्शबाट पार्टी बिमुख हुँदै गएकोमा चिन्ता प्रकट गर्दै बिपी बिचारको सन्दर्भमा राष्ट्रव्यापी बहस संचालन गर्ने र समयानुकुल परिमार्जित र परिष्कृत सैद्दान्तिक दृष्टिकोण तय गर्नुपर्ने आबश्यकत औंल्याएको छ।
बैशाख १५ भित्र बिबाद समाधान नभए महासमिति बैठक डाक्नुपर्ने
हालै सम्पन्न प्रतिनिधिसभाको निर्बाचनमा कांग्रेसको पराजय हुनुमा पार्टीका नेताहरुको सहमति बेगर बिशेष महाधिबेशन र उमेदवारी चयन गरिनु नै प्रमुख कारण भएको निष्कर्ष निकालेको भेलाले कांग्रेसको आन्तरिक द्वन्दका कारण युवा र पाका नेताहरुको नेतृत्व क्षमतामा प्रश्न उठेको बर्तमान अबस्थामा एकताको सन्देस दिन बिलम्ब नगर्न र सभापति थापा सहित नेताहरु पूर्णबहादुर खड्का र डा. शेखर कोइराला लगायतका नेताहरु समक्ष आग्रझ गरेको छ। यसका लागि बैशाख १५ भित्र निकास निकाल्न र अन्यथा महासमितिको बैठक डाकेर सामाधान खोज्न भेलाले आव्हान गरेको छ ।
भेलाले अल्प सूचनाको आधारमा सुकुम्बासी बस्तीमा डोजर आतंक मच्चाएकोमा सरकारको बिरोध गर्दै संबिधान प्रदत्त मौलिक अधिकार अनुरुप उनीहरुलाई अबिलम्ब आवाश सुबिधा उपलब्ध गराउन, कानुन बिपरित प्रतिशोधपूर्ण ढंगले उधोगी, ब्यबसायी, निर्माण ब्यबसायीहरु, राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई गरिएको धरपकडको बिरोध गर्दै यस्तो कार्य नदोहोर्याउन माग गरेको छ। भेलाले पोखरामा अन्तराष्ट्रिय हवाईसेवा संचालनको पहल गर्न, देबघाट धाम, मुक्तिनाथ, शालिग्राम क्षेत्र र पर्यटकीय राजधानी पोखराको प्रबर्द्दनमा सरकारको ध्यानाकर्षण गराएको छ ।















