काठमाडौँ, सरकारले अध्यादेशमार्फत पदमुक्त गरेका काठमाडौं विश्वविद्यालय (केयू)का डिनहरूलाई फेरि उही जिम्मेवारीमा फर्काइएको छ। शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनपछि तत्कालका लागि पुरानै डिनहरूले जिम्मेवारी सम्हाल्ने गरी निरन्तरता दिइएको हो।
अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई हटाउने उद्देश्यसहित सरकारले अध्यादेश जारी गरेको थियो। राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि केयूका विभिन्न पदाधिकारी स्वतः पदमुक्त भएका थिए।
तर, विश्वविद्यालयका नियमित कामकाज प्रभावित भएपछि अहिले ७ जना डिनहरूलाई पुनः सोही पदमा फर्काइएको केयू स्रोतले जनाएको छ।
अध्यादेशपछि केयूका उपकुलपति डा. अच्युत वाग्ले पनि पदमुक्त भएका थिए। त्यसपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रा. डा. ऋषिकेश वाग्लेले सम्हालिरहेका छन्। उनले सोमबार शिक्षामन्त्री पोखरेलसँग भेट गरी विश्वविद्यालयको अवस्थाबारे छलफल गरेका थिए।
डिन पद खाली हुँदा विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक काम प्रभावित भएको जानकारी गराएपछि शिक्षामन्त्रीले तत्कालका लागि पुरानै डिनहरूलाई निरन्तरता दिन निर्देशन दिएको स्रोतको दाबी छ।
काठमाडौं विश्वविद्यालयमा मानविकी, शिक्षा, कानून, इन्जिनियरिङ, व्यवस्थापन, मेडिकल साइन्स र साइन्स गरी सात वटा फ्याकल्टी रहेका छन्। प्रत्येक फ्याकल्टीको नेतृत्व डिनहरूले गर्दै आएका छन्।
डिनहरू पदमुक्त भएपछि फ्याकल्टीका कामहरू अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालय प्रशासन दबाबमा परेको थियो। त्यसपछि रजिष्ट्रार कार्यालयले अर्को नियुक्ति नभएसम्मका लागि पुरानै डिनहरूलाई जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ।
यस विषयमा आज पनि शिक्षामन्त्रीसँग थप छलफल हुने बताइएको छ। अध्यादेशमार्फत हटाइएका पदाधिकारीलाई फेरि जिम्मेवारीमा फर्काइएको विषयले भने विश्वविद्यालय र राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।














