काठमाडौँ, नेपाली काँग्रेसका नेताहरुले पार्टीको संस्थापन पक्ष र बिशेष महाधिबेशनबाट निर्बाचित सभापति गगनकुमार थापालाई जिम्मेवार बन्न आग्रह गर्दै पार्टीका सबै तह र पक्षका नेताहरूलाई एकताबद्ध गराएर मात्र पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन । नेपाली काँग्रेसमा पुर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले काठमाडौँमा बुधबार आयोजित भेलामा पार्टी सभापति थापा र हालको संस्थापन पक्ष एकलौटी ढङ्गले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप क्षती व्यहोर्नुपर्ने भन्दै निषेधको राजनीति त्यागेर संवाद र सहमतिको मार्गमा आउन संस्थापन पक्षलाई आग्रह गरेका छन।
देउवा पक्षले आयोजना गरेको बागमती प्रदेशस्तरीय भेलामा बोल्दै नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए । आफूहरू पार्टीमा कुनै पनि किसिमको विग्रह नचाहने र सदैव एकताको पक्षमा रहेको बताउंदै उनले एक पक्षले मात्र निर्वाचित गरेको आधारमा नेतृत्व स्वेच्छाचारी ढङ्गले चल्न नहुने बताए। पार्टी विभाजन गर्ने आफूहरूको कुनै मनसाय नरहेको स्पष्ट पार्दै महतले एकताका लागि नेतृत्वले निश्चित आधार तय गर्नुपर्ने र ती आधारप्रति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
उनले भने, ‘हामी पार्टी एकताको पक्षमा छौँ र कुनैपनि अवस्थामा विग्रह आओस् भन्ने चाहँदैनौँ। तर विशेष अधिवेशनबाट चुनिएर आएको वर्तमान नेतृत्वले सबैलाई मिलाएर लैजाने कानुनी र नैतिक जिम्मेवारी भुल्नुहुँदैन। हामी जे चाहन्छौँ, त्यही मात्र हुन्छ भन्ने सोच राख्ने अनि पार्टीमा योगदान दिएका अन्य नेता कार्यकर्ताको अर्थ छैन भन्ने किसिमले अगाडि बढ्नु गलत हुन्छ, यसले पार्टीलाई फाइदा पुर्याउँदैन।’ नेता महतले १५ औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहमतिको ‘साझा संयन्त्र’ निर्माण गर्नुपर्नेमा समेत जोड दिएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरे। उनले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको गम्भीर आरोप लगाउंदै पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर सङ्गठनलाई कमजोर बनाउने कार्य भैरहेमा आफूहरूले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले पार्टीका सबै तह र पक्षका नेताहरूलाई एकताबद्ध गराएर मात्र पार्टीको नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिए।

नेता सिंहले भने, ‘हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। यो पार्टीमा कुन मुद्दालाई प्राथमिकतामा राख्ने र कुन मुद्दा नराख्ने भन्ने विषयमा समेत डिबेट हुन्छ। तर यहाँ त कस्तो भइरहेको छ भनेदेखि कसैलाई नेतृत्व लिनको लागि हतार भयो भन्दैमा यस्तो हुँदैन। हामीले के बुझ्नुपर्यो भन्दाखेरी नेपाली कांग्रेस पार्टीले ऐतिहासिक आवश्यकता अनुसार जनतालाई अधिकार दिलाउनको लागि सबैभन्दा अग्र भूमिकामा बसेको र पार्टीका नेताहरूले जनताको अधिकार सुरक्षित गर्नको लागि खेलेको भूमिका महत्त्वपूर्ण छ।’
उनले थपे, ‘तर अहिले पार्टीभित्र जुन प्रकारको विधि र प्रक्रिया अपनाउनुपर्ने हो, नेपाली कांग्रेसको विधानअनुसार, नियमअनुसार गर्नुपर्नेमा त्यसको विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य हामीले टुलुटुलु हेरेर बस्नुपर्ने ? अदालतले गर्यो होला, निर्वाचन आयोगले गर्यो होला। तर पार्टी र पार्टीमार्फत मुलुकको हितका लागि पार्टीका अग्रज नेताहरूले गरेको योगदानलाई उपेक्षा गर्न मिल्दैन। पार्टी सदस्यहरूको फर्जी हस्ताक्षरबाट पार्टीलाई कब्जा गर्न खोजिन्छ भने यहाँ कुन पार्टी राम्रोसँग सञ्चालन हुनसक्छ।’
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै नेतृत्वले आफ्ना कमजोरी सुधार नगरे फरक कदम चाल्ने चेतावनी दिएका छन्। बस्नेतले सभापति गगन थापाको नामै लिएर पार्टीलाई ‘हाइज्याक’ गरेको र विधि–विधान विपरीत कब्जा जमाउन खोजेको समेत दाबी गरे। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि उनले केही स्पष्ट सर्तहरू अगाडी सार्दै उनले हाल भइरहेको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य तत्काल खारेज हुनुपर्ने, १५ औँ महाधिवेशनका सन्दर्भमा दुई पक्षले घोषणा गरेका अलग अलग मितिहरू रद्द गरेर सामूहिक भावनाका साथ नयाँ मिति तय गर्नुपर्ने बताए ।

उनले भने, ‘म गगन थापाजीको सुरुदेखि नै विरोधी हुँ। गलत तरिकाले पार्टी कब्जा गर्ने प्रयास भइरहेको छ, साथीहरूको सहमतिबिना म कहिल्यै उहाँसामु लत्रने वा झुक्ने छैन। पहिले यो प्रक्रिया खारेज गरिनुपर्छ। त्यसपछि शेरबहादुर देउवा, डा. शेखर कोइराला र अन्य समूहहरूलाई मिलाएर एउटा साझा क्रियाशील सदस्यता छानबिन समिति गठन गरिनुपर्छ। हामीले प्रजातन्त्र जोगाउन र पार्टीप्रतिको गिद्धे दृष्टि समाप्त पार्न हिम्मतका साथ अगाडि बढ्नुपर्छ। यदि नेतृत्वले सुध्रिने प्रयास गरेन भने दौडिन सक्ने नयाँ नेतृत्व निस्किनेछ।’
वर्तमान नेतृत्वको आलोचना गर्दै बस्नेतले पटक–पटक संसदीय र पार्टी निर्वाचन हारेका व्यक्तिहरूले नेतृत्व गर्दा पार्टी कमजोर भएको टिप्पणी गरे। उनले वार्ता शक्ति र सामर्थ्यसँग हुने भन्दै आफ्नो समूहलाई ७७ वटै जिल्ला र भ्रातृ संस्थाहरूमा सशक्त रूपमा परिचालन गर्ने घोषणा समेत गरेका छन्। पार्टी जोगाउन र प्रजातन्त्रको रक्षाका लागि आवश्यकता परे ‘फरक बाटो’ तय गर्न सकिने सङ्केत गर्दै उनले अबको कार्यक्रम सशक्त रूपमा अगाडि बढाउने उद्घोष गरे।
यसैगरी नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरे। घिमिरेले वर्तमान संस्थापन पक्ष एकलौटी ढङ्गले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिंदै वर्तमान केन्द्रीय समितिको विस्तारको सन्दर्भमा नेतृत्वले ‘पिक एण्ड चुज’ को नीति अपनाएर आफू अनुकूलका व्यक्तिहरूलाई मात्र केन्द्रीय समितिमा मनोनयन गरेको आरोप लगाए। पछिल्लो समय गरिएको १९ जनाको नियुक्तिले पार्टीमा सबैलाई समेट्ने सङ्केत नदेखाएको उनको तर्क छ।
उनले भने, ‘उहाँहरूकै भाषामा यो ५४ प्रतिशतको मात्रै भेलाबाट बनेको समिति हो। ४६ प्रतिशतलाई बाहिर राखेर १०० प्रतिशतको कांग्रेस बन्न सक्दैन। आधा कांग्रेस मात्र बोकेर हिँड्दाको परिणाम हामीले गएको निर्वाचनमा भोगिसकेका छौँ। स्वाभिमान बेचेर राजनीति गर्न सकिँदैन। पार्टीका सम्पूर्ण साथीहरूलाई समेटेर लैजाने दायित्व संस्थापन पक्षको हो, तर उहाँहरूको क्रियाकलापमा त्यो उदारता देखिएन। यदि सबैलाई समेट्ने प्रयास भएन भने आगामी स्थानीय र प्रदेश निर्वाचनमा गत फागुन २१ को परिणामभन्दा पनि खराब अवस्था आउन सक्छ। लगातार तीनवटा चुनाव हारिसकेपछि त्यस्तो असफल नेतृत्वको के अर्थ रहला ? नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ।’
पार्टी एकताका लागि प्रस्ताव पेस गर्दै घिमिरेले विगतमा गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच गरेको एकताको मोडल अपनाउनुपर्नेमा जोड दिए। उनले वर्तमान केन्द्रीय समितिलाई ‘महाधिवेशन तयारी समिति’ मा रूपान्तरण गरी सबै पक्षको सम्मानजनक प्रतिनिधित्व गराउन पनि सुझाव दिए। आफ्ना मागहरूलाई बेवास्ता गरिए वैकल्पिक निर्णयमा पुग्न बाध्य हुने सङ्केत गर्दै उनले कार्यकर्ताहरूको रगत र पसिनाले बनेको पार्टीलाई सुदृढ बनाउन सामूहिक भावनाको खाँचो रहेको औँल्याए। नेता घिमिरेले संस्थापन पक्षलाई निषेधको राजनीति त्यागेर संवाद र सहमतिको मार्गमा आउन आग्रह समेत गरे।














