पोखरा, पोखराको गण्डकी मेडिकल कलेज अर्थात जिएमसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । कलेजमा एमएस (ओटोलेरिंगोलोजी) दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डा. अमिर उप्रेतीको पोखराको बुलौंदीस्थित जंगल फरेस्ट रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा यहि वैशाख २६ गते साँझ डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो । उप्रेती डुबेपछि उनि संग गएका साथीले उद्धारको प्रयास गरे पनि उनलाई बचाउन नसकिएको प्रवक्ता बस्नेतले जानकारी दिए । मृतक उप्रेतीको शव पोस्टमार्टमपश्चात अन्तिम संस्कारका लागि परिवारलाई बुझाइ सकिएको प्रहरीले जनाएको छ ।

नेपाल राष्ट्रिय वाणिज्य संघका पूर्व सचिव ओमप्रसाद उप्रेतीका छोरा डा. अमिर उप्रेतीको निधन प्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समेत दुख व्यक्त गर्दै श्रद्दान्जली प्रकट गरेका छन । ‘यो अकल्पनीय पीडाको क्षणलाई धैर्यतापूर्वक सामना गर्ने शक्ति प्राप्त होस् तथा यस दुःखद घडीमा परिवारजनलाई धैर्य धारण गर्ने सामर्थ्य मिलोस् भन्ने प्रार्थना गर्दछु।’ आचार्यले भनेका छन।
यसैगरि गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्राचार्य प्राडा रबीन्द्रप्रसाद श्रेष्ठले डा. उप्रेतीको निधनले कलेज परिवार स्तब्ध भएको जनाएका छन। उनले डा. उप्रेतीको आत्माको चिर शान्तिको कामना गर्दै उप्रेतीको परिवारजनमा समवेदना प्रकट गरेका छन् ।













