काठमाडौँ, राष्ट्रियसभाको आज सोमबारको बैठकमा बोल्ने सांसदहरुले सरकारको कार्यशैलीको आलोचना गर्दै अध्यादेशबाट मुलुक चलाउन खोजिएको भन्दै बिरोध जनाएका छन । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा दलीय आधारमा सम्बोधन गरेका सांसदहरुले सरकारको कार्यशैलीको आलोचना गरेका हुन। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी रहेका थिए ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले संसद्को सर्वोच्चतालाई अवमूल्यन गरेर अध्यादेश मार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाए । सुवेदीले जननिर्वाचित प्रतिनिधिहरूको सामूहिक विवेकलाई अपमान नगर्न सरकारलाई सचेत गराउंदै संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा बैठक नै प्रारम्भ नभई हठात अध्यादेश ल्याइनु लोकतान्त्रिक मूल्य, मान्यता र बहुदलीय राजनीतिक प्रणालीको परम्परा विपरीत भएको बताए ।
नेता सुवेदीले संविधानको धारा ११४ ले तत्काल केही गर्न आवश्यक परेको अवस्थामा मात्र अध्यादेशको परिकल्पना गरेको स्मरण गराउँदै सरकारले शक्तिको दुरुपयोग गरेको बताए । विशेषगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको आलोचना गर्दै उनले ६ सदस्यीय परिषद्मा तीन जनालाई बहुमत मान्ने प्रावधान गणितीय र कानुनी रूपमै त्रुटिपूर्ण रहेको बताए । सरकारले न्यायपालिका र व्यवस्थापिकाको अधिकार समेत कार्यपालिकाले नै प्रयोग गर्न खोजेको भन्दै उनले शक्ति पृथकीकरणको सिद्धान्तमाथि चुनौती थपिएको बताए ।
उनले भने, ‘सदनलाई छलेर अध्यादेश ल्याउने प्रक्रिया लोकतन्त्रको खिलापमा छ । दुई तिहाइ बहुमतको समर्थन प्राप्त सरकारले गम्भीर विषयमा अध्यादेशको सहारा लिनुले नेपाली राजनीतिमा नयाँ प्रश्न उब्जाएको छ । दशौँ लाख सुकुम्बासीलाई रुवाएर देश हाँस्न सक्दैन, विस्थापन अघि उचित व्यवस्थापन गर्नु सरकारको दायित्व हो, तर सरकार दमनमा रमाएको देखिन्छ ।’
नेता सुवेदीले सुकुमवासी व्यवस्थापनका नाममा सरकारले मानवीय संवेदना गुमाएको टिप्पणी गरे । उचित विकल्प र व्यवस्थापन बिना नै डोजर चलाएर आतंक सिर्जना गरिएको भन्दै उनले यसलाई ‘मानवता विरोधी अपराध’ को संज्ञा दिए । बागमती किनारामा भएको मृत्यु र सुकुमवासीहरूको आत्महत्याका घटनाको जिम्मा सरकारले लिनुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको आरोप लगाइन । प्रधानन्यायाधीश सिफारिस प्रकरणको मुद्दा उठाउँदै सांसद पन्तले सोमबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री शाहप्रति यस्तो कटाक्ष गरेकी हुन् ।पूर्ववर्ती सरकारको विकल्पका रूपमा परिवर्तनको नाराका साथ सत्तारोहण भएको वर्तमान सरकारले पहिलो गाँसमै अध्यादेश मार्फत संवैधानिक परिषद्को कार्यविधिमा पुरानै चलखेललाई समेत उछिन्ने गरी पराक्रम देखाएको उनको भनाइ थियो ।
उनले भनिन्, ‘कुनै दिन आफ्नो श्रीमतीसँग जोडिएको एउटा घटनामा खुबै संवेदनशील देखिएर सामाजिक सञ्जालमा नानाभाँती लेख्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यूले आज अर्को सक्षम महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभएकोबाट समग्र महिलाको मन दुखेको छ। हामी महिलाहरू दुःखी छौं । महिला भएकै कारणले निमित्त चलाइ सकेको सिनियर महिला प्रधानन्यायाधीशमाथि आक्रमण गरिएको छ । अध्यादेश र अंकगणितको आडमा गरिएको यो जगन्य महिला हिंसा हो भन्ने आम ठम्याई छ ।’













