धनगढी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन् । कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले क्रियाशील सदस्यहरूले रूखबाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताए ।
‘नेपाली कांग्रेसको क्रियाशील सदस्य हुने, कांग्रेसको नेता हुने, पार्टीका तर्फबाट सांसद बन्ने, मन्त्री बन्ने, पार्टीका तर्फबाट स्थानीय तहमा विभिन्न जिम्मेवारी लिने, वा कांग्रेस पार्टीको आधिकारिक सदस्य हुने,’ सभापति थापाले भने, ‘तर, यो चुनावमा मलाई उम्मेदवार मन परेन । त्यस कारणले गर्दा मैले अन्तै चिन्हमा भोट हाले भन्न पाइँदैन । त्यसको कुनै तर्क हुँदैन । पाइँदै पाइँदैन । मेरो डिस्नरीमा त्यो छैन ।’

कांग्रेसको मान्छेले चुनावको दिनमा रूख चिन्हबाहेक अर्को चिन्हको बारेमा सोच्न पनि सक्दैन र सोच्न पनि पाउँदैन भन्ने बुझाई राखेर आफू हुर्केको भन्दै उनले अहिले पनि त्यही कुरा बुझ्ने गरेको बताए । सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने पनि बताए । ‘हामी सबै जना प्रस्ट बनौँ । जसले यो निर्वाचनमा पार्टीको जिम्मेवारीमा बसेर पार्टीका उम्मेदवार असहयोग गर्नुभयो, उहाँहरूलाई पार्टीको जिम्मेवारीबाट केही समय बाहिर राख्नैपर्छ,’ सभापति थापाले भने, ‘राखिन्छ । यसमा कहाँ, को, के, यसमा इफ बट केही पनि छैन ।’
अग्रज नेताहरुलाई संगसंगै यात्रामा लैजाने हो – उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुदूरपश्चिमका अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहेको बताएका छन् । सोहि भेला’ लाई सम्बोधन गर्दै उनलेआज पार्टीभित्र सबैलाई यो भूगोलमा उभिएर भन्दै गर्दा गगनजी या विश्वप्रकाश, अरु साथीहरूको उमेर जति राजनीति गरिसक्नुभएका नेताहरूलाई पनि सँगसँगै हामी यात्रामा लिन जान चाहन्छौं,’ शर्माले भने, ‘खासगरी सुदूरपश्चिमको भूगोलका साथीहरू ।’
उनले कांग्रेस नेतृत्वले कसैका प्रति पनि पूर्वाग्रह राख्न नहुनेमा जोड दिए । ‘प्रत्येक साथीलाई एउटा विश्वास रहोस् कि नयाँ नेतृत्व आइसकेपछि त्यो नेतृत्वले हामीलाई यो वा त्यो कारणले, कोणले, रंगले हेर्ने, पूर्वाग्रह राख्ने बिल्कुल हुँदैन,’ उपसभापति शर्माले भने । शर्माले पार्टीलाई बलियो बनाएर अगाडि जाने सन्दर्भमा सबै एकताबद्ध हुन जरूरी रहेको औंल्याए । ‘हरेक मुद्दामा स्पष्टताको, हरेक मुद्दामा प्रखरताको, पार्टीभित्र संयमको, पार्टीभित्र एकताको, पार्टीभित्र एउटाले अर्कोलाई स्वीकार्ने हृदयको, कांग्रेस बलियो बनाएर जाने कुराको सन्दर्भमा तपाईं–हामी एकताबद्ध हुनुछ,’ उनले भने ।
उपसभापति शर्माले २१ भदौमा सम्पन्न निर्वाचनमा पार्टीको पक्षमा खसेको १७ लाख मतलाई लोकतान्त्रिक पद्दतिका लागि भएको पनि जिकिर गरे । ‘त्यो १७ लाख मत लोकतान्त्रिक पद्दतिका लागि, कांग्रेसको जीवनका लागि, भोलिको उज्यालोका लागि तपाईं हाम्रो साथमा उभिएको तागत हो,’ उनले भने । शर्माले संविधान र लोकतान्त्रिक मूल्य-मान्यताभित्र रहँदासम्म सरकारलाई कांग्रेसको साथ र समर्थन रहने पनि बताए । तर, उनले सरकारका गतिविधिहरू संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभित्र नरहेका टिप्पणी गरे । ।
नयाँ बनेको सरकारलाई हाम्रो साथ, समर्थन, शुभेच्छा छ । तर, त्यहाँसम्म मात्रै जहाँसम्म संविधान भित्र सरकार रहन्छ । त्यहाँसम्म मात्रै जहाँसम्म सरकार लोकतान्त्रिक मूल्य–मान्यताभित्र रहन्छ । त्यहाँसम्म मात्रै जहाँसम्म यो देशको समग्र अग्रगतिलाई केन्द्रीय भागमा राखिन्छ,’ शर्माले भने, ‘तर, अहिले सरकारका गतिविधिहरू त्यो दिशातर्फ भएको देखिँदैन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापा धनगढी आउँदै गर्दा उनी आउने चर्चाभन्दा बढी सरकार फेरबदलको चर्चा चलेको बताएका छन् । भेलाको उद्घाटन सत्रमा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सभापति थापाअघि नै सो कुरा बताएका हुन् । ‘सभापति ज्यु, तपाईँ आउने चर्चासँगै तपाईँ आउने कार्यक्रमको चर्चाभन्दा बढी सरकार परिवर्तन र सरकार फेरबदलका कुराहरू सुदूरपश्चिममा चर्चाको विषय बन्यो,’
मुख्यमन्त्री शाहले भने, ‘म भन्न चाहन्छु ती मित्रहरूलाई तपाईँहरूसँग यो मुख्यमन्त्री कमल शाह ड्यासमा उपस्थित हुँदैगर्दा म शारिरीक रूपले पनि, मानसिक रूपले पनि, वैचारिक रूपले पनि प्रतिस्पर्धा गर्नसक्ने हिम्मत छ। मसँग त्यो साहस छ । त्यसैले गैरजिम्मेवार र गैर राजनीतिक संस्कार नदेखाउन म सबैलाई आग्रह गर्न चाहन्छु ।’ त्यस्तो हल्ला गर्नेहरूले सभापति थापालाई बदनाम गर्न खोजेको बताएका छन् । उनले अगाडि भने, ‘म भन्न चाहन्छु– जसरी तपाईँहरूले बजारमा, मिडियाहरूमा कुरा ल्याउनुभएको छ।
सभापतिलाई बदनाम गर्न पनि समानुपातिक सांसदलाई फिर्ता ल्याएर भएपनि सभापतिले सरकार परिवर्तन गर्छ भन्दै हुनुहुन्छ ।’ तर त्यो कुरामा आफूलाई विश्वास नभएको उनले बताए । ‘मलाई विश्वास छैन, म नेपाली कांग्रेसको सिपाही हुँ, म नेपाली कांग्रेसको मूल्य र मान्यतामा हिँड्ने व्यक्ति हुँ । त्यसकारण यस्ता भ्रमित कुराहरू, कांग्रेसलाई विवादमा ल्याउने कुराहरू, कांग्रेसलाई कमजोर बनाउने कुराहरू, पार्टी सभापतिलाई कमजोर बनाउने अभिव्यक्ति कसैले नदिनुहोला,’ मुख्यमन्त्री शाहले भने ।
आफू गगन थापालाई स्वागत गर्न एयरपोर्ट गएको र उनीसँगै मञ्चमा उपस्थित भएको पद जोगाउन नभएको उनले बताए । ‘म तपाईँहरूलाई भन्न चाहन्छु ‘मुख्य मन्त्रीको पद गौण हो, हाम्रो लोकतान्त्रिक विधि र प्रक्रिया छ, हाम्रा नेताहरू छन्, नेतृत्व कसलाई दिने ? गठबन्धन कोसँग गर्ने ? नेतृत्वको कुरा हो,’ उनले भने ।सिंगो कांग्रेस एक होस् भन्ने मनशायका साथ आफू यो मञ्चमा उभिएको उनले बताए । उनले भने, ‘म यहाँ उभिँदै गर्दा गगन थापा सिंगो कांग्रेसको सभापति बनोस् भन्ने भावनाका साथ उभिएको छु । कांग्रेसको शक्ति क्षीण भएका बेला त्यो शक्ति पुनर्जागरित कसरी गर्न सकिन्छ भनेर उभिएको छु ।’
मुख्यमन्त्री शाहले पार्टीका तत्कालिन सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभाको टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगन कुमार थापासँग प्रश्न गरेका छन् । कांग्रेसको जरा अभियानको क्रममा शनिबार धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले जेनजी आन्दोलन, देउवा दम्पति माथिको कुटपिट र टिकट पाउन बाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरे ।
‘ भदौ २३ र २४ गते शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वभाविक हो कि अस्वभाविक हो ? शरबहादुर देउवालाई टिकक नदिने कुरा स्वभाविक हो वा अस्वभाविक हो ? त्यो भन्नुपर्छ,’ उनले सभापति थापासमक्ष भने । देउवालाई टिकट दिनबाट बञ्चित गराइनुको कारण सोध्दै उनले अब देउवाको स्थान के हुने ? भन्नेबारे पनि प्रश्न गरे ।
गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताउँदै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको उनले बताए । ‘अबको १० बर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्नसक्छन्,’ उनले भने । साथै, उनले सिंगो नेपाली कांग्रेसलाई एक बनाएर अघि बढ्न सुझाव पनि दिए ।
सभापति थापा पहिलोपटक सुदुर पश्चिम प्रदेशमा, देउवा पक्षिय केहि नेता अनुपस्थित
विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि गगन थापा पहिलाेपटक सुदुर पश्चिम र्थात निवर्तमान सभापति शेरबहादुर देउवाकाे गृह प्रदेशमा भइरहेको कार्यक्रमलाई सम्बाेधन गर्न पुगेका हुन । थापालाई कांग्रेस नेता कार्यकर्ताले धनगढी विमानस्थलमा स्वागत गरेका थिए। उनकाे स्वागतमा देउवा पक्षीय मानिने मुख्यमन्त्री कमलबहादुर शाह आफ्नाे क्याबिनेटका मन्त्री लिएर धनगढी विमानस्थल पुगेका थिए ।
मुख्यमन्त्री र मन्त्रीहरू थापाकाे स्वागतमा पुगेपनि देउवा पक्षीय प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली सभापति नारायणदत्त भट्ट भने देखिएनन् । प्रदेश सभापति बलायर भने भेलामा सहभागी हुनेछैन् । कैलाली सभापति भट्टले भने कार्य व्यवस्तताका कारण कार्यक्रममा सहभागी हुने नपाएको बताए । राष्ट्रिय सभा सदस्य समेत रहेका भट्टले राजनीतिक कारण नभएर संसदकाे कार्य व्यवस्तताका कारण सहभागी हुन नपाएको बताए ।
‘संसदीय कामकाजका कारण म काठमाडौंमै छु । राजनीतिक रूपमा सहमति असहमति राख्ने कुरा अर्कै हाे’, भट्टले भने, ‘अहिले कार्य व्यवस्तताका कारण सहभागी हुन नपाएको हुँ ।’ भेलामा देउवा पक्षका अन्य केही जिल्ला सभापति पनि सहभागी नहुने सम्भावना रहेको नेताहरू बताउँछन् । दुई दिनसम्म चल्ने भेलामा प्रतिनिधि सभाकाे परिणाम र स्थानीय तहका जनप्रतिनिधिका काम कारवाहीबारे समीक्षा हुने जनाएको छ ।













