काठमाडौं, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले कुनै पनि भ्रातृ संगठनको नेतृत्व चयन नगरिएको बताएको छ । बिभिन्न संचार माध्यममा सहित सामाजिक सञ्जालमा भ्रातृ संगठनको नेतृत्वमा मनोनित भएको भन्दै विभिन्न व्यक्तिलाई बधाई आइरहेका बेला सचिवालयले यस्तो प्रतिक्रिया दिएको हो ।
सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलले कुनै पनि भ्रातृ संगठनको नेतृत्व मनोनित नगरिएको जानकारी दिए । ‘कसैलाई पनि मनोनति गरिएको छैन, बेकारको हल्ला मात्र भएको छ।’ उनले भने ।
केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखमा बसेको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका थिए । केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् ।
कार्यसम्पादन समिति बैठकले सभापति थापालाई अधिवेशन नभएका सबै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ । अब सभापति थापाले पाँचवटै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि नयाँ तदर्थ समिति गठन गर्ने छन् । म्याद सकिएका भ्रातृ संगठनहरूको नयाँ कार्यसमिति घोषणा गर्ने र त्यही कार्यसमितिले अधिवेशन सम्पन्न गर्ने बताइएको छ।













