Play

कांग्रेसमा बिबाद बढ्दै : संसदीय दलमा केहीलाई नियुक्ति, इतरसमूहमाथि कारबाही र राजिनामाको शृंखला शुरु

गुरुकुल खबर


पोखरा, मुलुकको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसमा बढ्दै गएको आन्तरिक बिबादका कारण कसैलाई कारबाही गरेर निष्काशन गर्ने त कसैलाई नियुक्त गरेर महत्वपुर्ण जिम्मेवारी दिने क्रम पनि शुरु भएको छ। बिशेष गरि प्रतिनिधि सभा र राष्ट्रिय सभामा संसदीय दलको नेता सहित अन्य पदाधिकारी नियुक्त गर्दा गगन थापा र बिशेष महाधिबेशन पक्षधरलाई मात्र मौका दिईएको छ।  देउवा पक्ष वा इतरपक्षलाई कारबाही गर्ने र जिम्मेवारीबाट अलग हुने बाताबरण बनाईएसंग केहिको राजिनामा समेत आएको छ । यो संगै कांग्रेस भित्रको बिबाद अझ बढेर जाने सम्भावना छ ।

सर्वोच्च अदालतले गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेसंगै थापा नेतृत्वको केन्द्रीय समिति एबम तल्लो तहमा रहेका उनका समर्थकहरु उत्साहित बन्दै बिशेष महाधिबेशनको पक्षमा नरहेकाहरु माथि कारबाही र बिशेष महाधिबेशनको पक्षमा रहेकाहरुलाई बिभिन्न जिम्मेवारी र अवसर दिने क्रमलाई तिब्रता दिईएको छ।

यसक्रममा सभापति गगन थापाको दवाबमा राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता रहेका कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई संसदीय दलको नेता बनाइएको छ। कांग्रेसको विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था अनुसार नै कमला पन्तलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् ।

आङ्दम्बेलाई प्रतिनिधि सभा संसदीय दलको नेता चयन गर्दा नै सभापति थापाले सिटौलालाई राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाउनुपर्ने शर्त राखेको र सोहि अनुसार नै आङ्दम्बेले सिटौलालाई हटाएर पन्तलाई संसदीय दलको नेता चयन गरेको हुन। सिटौला बिशेष महाधिबेशनको बिपक्षमा रहेको र १४ औं महाधिबेशनबाट नै उनि तत्कालिन सभापति शेरबहादुर देउवाको निकट रहँदै आएका थिए। पन्त भने गगन थापा समूहकी हुन्। उनी विशेष महाधिवेशनको पक्षमा समेत खुलेर लागेकी थिइन् ।

यसैगरी, नेपाली काँग्रेसले राष्ट्रिय सभाको सचेतकमा पदम बहादुर परियारलाई मनोनीत गरेको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले परियारलाई सचेतक पदमा मनोनयन गरेका हुन् ।यसअघि राष्ट्रिय सभाको सचेतकमा कृष्णबहादुर रोकाया रहेकोमा उनलाई हटाएर परियारलाई सचेतक बनाइएको हो । रोकाया पनि बिशेष महाधिबेशनको पक्षमा नरहेको कारण हटाइएको बताइन्छ।

यस अगाडी प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको थियो। संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज मनोनयन गरेका हुन्। कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ (३) बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।

बिशेष महाधिबेशनको पक्षमा नरहेकाहरुलाई छानीछानी कारबाही गर्ने क्रममा नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बनको कारबाही गरिएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउने गरी निलम्बनको कारबाही गर्ने निर्णय गरेको हो ।

जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको थियो । केही दिनअघि कान्छारामले दिएको ‘पार्टी सभापति गगनकुमार थापासँग तीन अर्ब रूपैयाँ छ’ भनेर दिएको विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो ।

उनले २१ फागुनको चुनावमा एक अर्ब खर्च गर्दा पनि थापाले चुनाव जित्न नसकेको दाबी गरेको भिडियोमा सुनिन्थ्यो । यही प्रकरणमा कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा ७ वैशाखमा बसेको बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसैगरी, नेपाली कांग्रेसले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण भने हाल तामेलीमा राख्ने निर्णय गरेको बुझिएको छ ।बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै स्पष्टीकरण तामेलीमा राख्ने निर्णय अनुशासन समितिले गरेको दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि २ वैशाखमा बसेको अनुशासन समितिको बैठकले खड्कालाई स्पष्टीकरण सोधेको थियो । तर, बैशाख ४ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको अनुशासन समितिले तर्क गरेको छ ।

नेपाली काँग्रेस भित्रको आन्तरिक किचलो पछि पार्टीको युवा संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पनि पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् । २०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका गुरुङले पार्टीले दिएको जिम्मेवारीका लागि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान केन्द्रीय कार्यसमितिप्रति आभार प्रकट गरेका छन् ।

राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने पूर्वअध्यक्षहरू, कार्यसमिति सदस्यहरू, जिल्ला सभापतिहरू र देशभरका तरुण साथीहरूलाई धन्यवाद दिएका छन् । राजीनामा पत्रमा पार्टीले २०८३ मंसिर मसान्तभित्र पाँचौँ महाधिवेशन सम्पन्न गर्ने समय सीमा तोकेको भए तापनि देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितिका कारण महाधिवेशन सम्पन्न गर्न नसकिएको समेत स्वीकार गरेका छन् ।

उनले लोकतन्त्रको सुदृढीकरण र नयाँ जनादेशलाई संस्थागत गर्न तरुण दललाई समय र युग सुहाउँदो ढङ्गले अगाडि बढाउनुपर्ने कुरा आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

१६ बैशाख २०८३, बुधबार १८:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा