पोखरा, गण्डकी प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री जीत शेरचनले गण्डकी प्रदेशको राजधानी शहर पोखराको क्षेत्रमा विकास गर्न सकिएमात्र प्रदेशका अन्य जिल्ला र शहरहरुमा समेत विकास पुग्ने बताएका छन। ‘जति ठुलो संख्यामा भारतीय वा अन्य मुलुकका पर्यटकहरुलाई पोखरामा भित्र्याउन सकिन्छ, त्यति नै छिटो पोखराको बिकास हुन्छ र त्यसको प्रभाव आसपासका अन्य जिल्लामा समेत पर्ने भएकोले पोखरासंगै अन्य क्षेत्रको समग्र विकासले गति लिनसक्छ।’ गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री शेरचनले गुरुकुल खबरसंग भने।
पोखरा गण्डकी प्रदेशको राजधानी मात्र नभएर राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा प्रमुख पर्यटकीय शहर पनि हो । यहाँ स्वदेशी एबम बिदेशी पर्यटकहरु बस्न मिल्ने सुबिधा सम्पन्न होटल एबम उनीहरुको लागि आबश्यक बिभिन्न पुर्बाधारहरु पनि बनेका छन। तर पोखरा आउने पर्यटकहरुको संख्यामा उल्लेखनीय वृद्धि हुन् भने सकेको छैन। पोखरा आउन चाहने पर्यटकहरुको लागि हवाई एबम स्थलमार्ग सहज हुन नसक्दा पोखरामा आउन चाहने पर्यटकहरुको संख्या र उनीहरु आउने बाताबरण बन्न नसकेको तथ्यप्रति आँफु जानकार रहेको मन्त्री शेरचन बताउंछन।
पोखरा र आसपासका क्षेत्रमा रहेका प्राकृतिक सुन्दरताको अबलोकन सहित बिभिन्न धार्मिक स्थलको भ्रमण गर्ने, मनोरंजन गर्ने, पहाडी क्षेत्रमा ट्रेकिंग गर्ने, हिमाल आरोहण गर्ने एबम साहसिक खेलकुद र गतिविधिमा रमाउने पर्यटकको लागि पोखरामा थुप्रै पुर्वाधार, आकर्षण र सम्भावना रहेको छन । तर पर्यटकलाई पोखरामा भित्रिन आबश्यक हवाई एबम स्थलमार्गको असुविधा भने यथाबत छ । जसका कारण पर्यटकको संख्या र आर्थिक गतिबिधि पनि बढ्न सकेको छैन।
‘पोखरामा पर्यटकको आगमन बढ्ने हो भने पोखराका होटल, रेस्टुरेन्ट, सार्बजनिक गाडी, उपहार पसल सहित अन्य क्षेत्रमा प्रत्यक्ष रुपमा ब्यापार बढ्छ । यसका साथै पर्यटकको रुची अनुसार ट्रेकिंग जाँदा, धार्मिक स्थल पुग्दा, साहसिक गतिविधिमा सरिक बन्दा थप आर्थिक गतिबिधि र सोहि अनुसारका पूर्वाधारसमेत बन्ने हुन्छ।’ गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री शेरचनले बिश्वास प्रकट गरे।

बाग्लुंग जिल्लाबाट गण्डकी प्रदेशको सांसदमा निर्बाचित शेरचन आगामी आर्थिक बर्षको बजेट बनाउने तयारीमा समेत जुट्न थालेका छन। यसका लागि उनले बिभिन्न क्षेत्रका व्यक्तित्वहरुसंग सल्लाह र सुझाब लिन थालेको छन । नेपाली काँग्रेस बाग्लुंगका सभापति समेत रहेका शेरचनले बुधबार मन्त्री पदको शपथ लिएका थिए। त्यस लगत्तै बिहिबार नै संघिय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौँमा राखेको प्रदेशका अर्थमन्त्रीहरुसंग भेटघाट र छलफल कार्यक्रममा उनि सहभागी बनेका थिए।
केन्द्रीय सरकारका अर्थमन्त्रीसहित मन्त्रालयका अधिकारीहरुसंग भएको भेटघाट र छलफलमा पनि आंफुले पोखराको बिकासको लागि संघिय सरकारका मन्त्री समेतको ध्यानाकर्षण गराएको बताए। ‘पोखराको बिकास गर्न थुप्रै सम्भावना छन तर भारतीय पर्यटकहरु मात्र पोखरा ल्याउनसक्ने हो भनेपनि यस क्षेत्रको आर्थिक गतिबिधिमा चलायमान आउने निश्चित छ, तसर्थ केन्द्र सरकारले साथ् दिनुपर्यो।’ उनले भेटघाटमा भनेको प्रसंग उल्लेख गरे।
संघिय सरकारका अर्थमन्त्री सहित मन्त्रालयका अधिकारीहरुसंग ४/५ वटा कुराहरु स्पष्ट रुपमा राखेको अर्थमन्त्री शेरचनले बताए । पोखरामा संचालनमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडानले भने नियमितता पाउन सकेको छैन। तसर्थ, नेपालसंग सिमा जोडिएका भारतका ४/५ वटा प्रदेश वा प्रमुख शहरबाट यथाशिघ्र पोखरामा सिधा हवाई सम्पर्क स्थापित गराउन संघीय सरकारले पहल गर्नुपर्ने आबश्यकता छ। यसका साथै स्थलमार्ग वा पोखरा – बुटवल, भैरहवा जोड्ने सिद्दार्थ राजमार्ग यथाशिघ्र बनाएर भारतीय धार्मिक पर्यटकलाई लुम्बिनी हुँदै पोखरा र मुक्तिनाथसम्म सहज रुपमा पुग्नसक्ने बाताबरण बनाउनु जरुरी छ। उनले संघिय सरकारका अर्थमन्त्री डा. वाग्ले समेतसंग राखेका कुराको फेहरिस्त सुनाए।
उनका अनुसार पोखराबाट बुटवल जोड्ने सिद्दार्थ राजमार्ग छिटो बनाउनसके पनि भारतीय पर्यटकको आगमन बढाउन सकिन्छ। उक्त राजमार्ग बिस्तारको लागि दुई किसिमको डीपीआर बनाइएको छ। एउटा डीपीआर अनुसार १८ अर्ब र अर्को डीपीआर अनुसार ५८ अर्बको हाराहारीमा राजमार्ग बनाउन सकिन्छ। ५८ अर्ब रुपैयाको लागतमा राजमार्ग बनाउने हो भने सुनौली नाकाबाट एक घण्टामा पोखरा आउन सम्भव हुन्छ, किन कि उक्त डीपीआरमा तिन ठाउँमा सुरुंगमार्ग समेत समेटिएको छ, जसले गर्दा राजमार्ग छोटो र सहज बन्छ।
संघिय सरकारले पोखरा जोड्ने उक्त राजमार्ग निर्माण गर्न सहयोग गर्ने र भारतीय पर्यटकहरुलाई पोखराबाट कोराला नाका हुँदै मानसरोवरसम्म पुग्ने ब्यबस्था गर्न सक्ने हो भने ठुलो सङ्ख्यामा भारतीय पर्यटकहरु पोखरा हुँदै आवतजावत गर्ने निश्चित छ। यसले पनि पर्यटन बिकासको लागि नयाँ आयाम थप्न सक्छ, त्यसैले केन्द्र सरकारको ध्यान यसतर्फ जानु आबश्यक छ भनेर केन्द्र सरकारका अर्थमन्त्री वाग्लेसहितको टोलीलाई सुनाएको उनले उल्लेख गरे। आँफुलाई केहि काम गरेर देखाउने हुटहुटी रहेको र यसका लागि प्रदेश सरकार र संघिय सरकारको बिभिन्न जिम्मेवारीमा रहेकाहरुसंग समन्वय र सहकार्य गर्दै नतिजा निकाल्ने तर्फ इमान्दार प्रयासमा जुट्ने उनको भनाई छ ।
मन्त्री शेरचनलाई मन्त्रालयका संघिय मन्त्री र सचिबले गण्डकी प्रदेशले आंफ्नो अधिकार क्षेत्र बाहिर गएर मदिरा सम्बन्धि बिधेयक किन जारी गरेको ? भन्ने जस्ता प्रश्न पनि गरेका थिए । जवाफमा शेरचनले संबिधान अनुसार संघिय संसदले बनाउनुपर्ने दर्जनौं कानुन किन बनाउने तर्फ यतिका बर्षसम्म केन्द्र सरकारले किन पहल नगरेको भनि प्रतिप्रश्न गरेको बुझिएको छ। केन्द्र सरकारले कानुन बनाउन चासो नदिंदा प्रदेशले बाध्य भएर आंफ्नो अधिकार खोज्दै बिभिन्न कानुन बनाउनुपरेको उनको भनाई थियो।
उनले बुढी गण्डकी र उत्तर गङ्गा जस्ता हाइड्रोपावर प्रोजेक्ट संचालनमा तदारुकता ल्याउनसके त्यसले रोजगारीमा समेत टेवा पुग्ने भएकोले केन्द्र सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिएको समेत स्पष्ट पारे। यसका साथै उनले केन्द्र सरकारले चासो नदिएमा भारतका केहि प्रान्तसंग सिधा उडान गर्नको लागि प्रदेश सरकारले समेत आंफ्नो ढंगले कुटनीतिक पहल गर्नुपर्ने खाँचो औंल्याए। उनले गण्डकी प्रदेशका महत्वपूर्ण योजना तयार गरेर आंफ्नो नेतृत्वमा संघिय सरकारका सरोकारवाला मन्त्रीसंग सामुहिक छलफल गर्ने र केहि महत्वपूर्ण योजनाहरु यथाशिघ्र संचालनमा ल्याउन आँफु प्रतिबद्द रहेको शेरचनले सुनाए।














