पोखरा, पोखराको रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटले संयुक्त रुपमा आयोजनामा गरेको २४ औं वृहत रक्तदान कार्यक्रममा १५० युनिट रगत संकलन भएको छ । ‘रक्तदान म पनि गर्छु’ भन्ने मूल नाराका साथ पोखरा–४ गैह्रापाटनस्थित रेडियो प्राङ्गणमा भएको कार्यक्रममा १२० पुरुष र ३० महिलाले रक्तदान गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले पहिलो रक्तदाता कृष्ण बहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरे । अभियन्ता थापाले यसपटक ८४ औं पटक रक्तदान गरेको बताइन्छ । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कार्कीले मानवीय जीवन बचाउने कार्यमा रेडियोले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
रेडियोकी प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व पूरा गर्न रक्तदान आयोजना गर्दै आएको जानकारी दिइन् । उनले रक्तदानलाई सबैभन्दा ठूलो पुण्य काम मान्दै यस अभियानलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन् । रक्तदान अभियन्ता कृष्णबहादुर थापाले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अरुको ज्यान बचाउने पवित्र उद्देश्यले रक्तदान गरेको बताए ।
कार्यक्रममा रेडियोका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा इन्टरनेटका प्रबन्ध निर्देशक बिजेश पालिखे, स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, मार्केटिङ म्यानेजर नारायण पौडेल र पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले रेडियोका गतिविधि र रक्तदानको आवश्यकतामाथि प्रकाश पारेका थिए । कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग उपलब्ध गराएको कार्यक्रम संयोजक सिता क्षत्रीले गुरुकुल खबरलाई जानकारी दिईन ।















