काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बिधालय तह र उच्च शिक्षाको बिभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिजकोर्सको नाममा संचालित बिभिन्न कक्षाहरु आगामी बैशाख १ गतेबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन । मन्त्री पोखरेलले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै बैशाख १ गतेबाट लागु हुनेगरी यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय सहितको निर्देशन जारी गरेको छन ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले यस सम्बन्धमा जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएका कार्यक्रमहरु बन्द गरिएको उल्लेख गरिएको छ । यस्ता कार्यक्रमहरू सञ्चालन भए अनुगमन गरी प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ ।
‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरुले प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै’विज्ञप्तिमा यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समातामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्न जाने भएकोले बन्द गर्न लागिएको स्पष्ट पारिएको छ ।
















