पोखरा, पर्यटकीय राजधानी पोखरामा बिगतमा हुँदै आएको नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप लाई निरन्तरता दिईने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिताको २१ औं संस्करण सञ्चालन गरिने भएको हो स्वदेशी एबम बिदेशी प्याराग्लाइडिङ पाइलटहरुको सहभागितामा हुने गरेको प्याराग्लाइडिङ च्याम्पियनसिप संचालन हुन् थालेको साढे दुई दशक बितेको भएपनि पछिल्लो पाँच बर्ष भने प्रतियोगिता हुन सकेको थिएन।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कोभिड महामारी र सोलो उडानमा लागेको प्रतिबन्धका कारण ५ वर्षदेखि यो प्रतियोगिता भएको थिएन । हालै सोलो उडानमाथिको प्रतिबन्ध हटेपछि प्रतियोगितालाई निरन्तरता दिन लागिएको हो।
प्रतियोगिता संयोजक सुनीलबहादुर भट्टराईले दिएको जानकारी अनुसार प्रतियोगितामा सहभागी हुन सोमबारसम्म ९० जना पाइलटले अनलाइनमार्फत नाम दर्ता गराइसकेको कारण समयसीमा भित्र १ सय जना पाइलट सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा एक्युरेसी पुरुष (ओभरल) विधामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीयलाई १ लाख र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
एक्युरेसी महिला (ओभरल) र टिम (ओभरल)मा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने खेल संयोजक भट्टराइले जानकारी दिए । यही प्रतियोगिताबाट प्याराग्लाइडिङमा गण्डकी प्रदेश स्तरीय खेलाडीसमेत छनोट गरिनेछ ।
प्रतियोगिता गर्नका लागि ३० लाख खर्च हुने अनुमान छ । खेलमा मौसमको अवस्था महत्वपूर्ण हुने भएकाले उडानअघि आधिकारिक मौसम पूर्वानुमानमा ध्यान दिइने सुरक्षा निर्देशक योगेश भट्टराईले जानकारी दिए । ‘खेलाडीलाई हावाको दिशा, तामक्रम, थर्मल गतिविधि तथा सम्भावित जोखिमबारे जानकारी सहितको ब्रिफिङ पनि गरिनेछ,’ उनले भने, ‘आकस्मिक उद्धार टोली, मोटर बोट लगायतको पनि व्यवस्था गरिनेछ ।’
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवर्धनमा हुने कार्यक्रमलाई प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा पर्यटन परिषद् र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) लगायतका संस्थाले सहयोग गरेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।















