Play

पोखराका पूर्व कार्यकारी अधिकृत झलकराम बिरुद्ध ७० लाखको भ्रष्टाचार मुद्धा, कुटी रिसोर्टका देबेन्द्र पनि जोडिए

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाका पुर्व प्रमुख कार्यकारी अधिकृत एबम राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित अन्य केहीको बिरुद्ध ७० लाख रुपैयाँ भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व चुहावट सम्बन्धी छानबिनमा सहजीकरण गरिदिने भन्दै श्रीकृष्ण श्रेष्ठबाट ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेको बेला अधिकारीले एचके इन्टरप्राइजेजका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट ७० लाख रुपैयाँ बुझेको पुष्टि भएको अख्तियारले जनाएको छ । उक्त रकममध्ये २० लाख रुपैयाँ पोखराको लेकसाइडमा संचालित द कुटी रिसोर्ट प्रालिका कर्मचारीहरु ममता पुरी, मिसन लामिछाने र देवराज अर्यालको नाममा चेक जारी गरी देवेन्द्र केसीको खातामा जम्मा गरिएको देखिएको छ । उक्त रकम रिसोर्टको ऋण र ओभरड्राफ्ट कर्जा भुक्तानीमा प्रयोग भएको समेत अख्तियारको दाबि छ ।

बाँकी ५० लाख रुपैयाँ विकास कुमार चापागाईं र रवीन्द्र लामिछानेको मिलेमतोमा जग्गा खरिदमा प्रयोग गरिएको पाइएको छ । अधिकारीको निर्देशनमा श्रीकृष्ण श्रेष्ठले ५० लाख रुपैयाँको चेक चापागाईंको नाममा जारी गरेका थिए । सो रकमबाट भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २ मा रहेको १ सय ६४ दशमलव १४ वर्गमिटर जग्गा लामिछानेको नाममा खरिद गरिएको अनुसन्धानमा देखिएको छ । जग्गाको भुक्तानीका लागि जग्गाधनी नरेन्द्र प्रसाद न्यौपानेको नाममा ५० लाख रुपैयाँको चेक बुझाइएको थियो ।

अख्तियारले अधिकारीलाई ७० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम कारबाहीको माग गरेको छ । अधिकारीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी लाभ लिएको र सो रकमलाई विभिन्न बैंक खाता तथा जग्गामा लगानी गरी शुद्धीकरण गर्ने प्रयास गरेको आयोगको ठहर छ । यस मुद्दामा देवेन्द्र केसी र रवीन्द्र लामिछानेलाई पनि मतियारको रुपमा प्रतिवादी बनाइएको छ । केसीसँग २० लाख र लामिछानेसँग ५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

आयोगले अधिकारी राष्ट्रसेवक कर्मचारी भएकाले उनलाई थप सजायको मागसमेत गरेको छ । घुस रकमबाट खरिद गरिएको भक्तपुरको कित्ता नम्बर ९९८ को जग्गा र रिसोर्टको कर्जा भुक्तानीमा प्रयोग भएको रकम जफत गर्नसमेत मागदाबी गरिएको छ । अधिकारीले राजस्व चुहावट जस्तो गम्भीर विषयको छानबिन रोक्न बदनियत राखेर घुस लिएको तथ्य प्रमाणबाट पुष्टि भएको अख्तियारले उल्लेख गरेको छ । अधिकारीले घुसको रकम लुकाउन र वैधानिकता दिन विकास चापागाईं लगायतका व्यक्तिको नाममा रहेका बैंक खाताहरु प्रयोग गरेको आयोगको दाबी छ ।

१ चैत्र २०८२, आईतवार १७:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा