घोराही, दाङको तुलसीपुरमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच तनाव चर्किएको छ। रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनापछि आक्रोशित एमाले निकट युवाहरूले रास्वपाको क्षेत्र नम्बर–३ को सम्पर्क कार्यालयमा तोडफोड गर्नुका साथै रास्वपाका बरिष्ठ नेता बालेन शाहको पुत्ला जलाएका छन्। आक्रोशित एमालेका कार्यकर्ताहरु रास्वपाको कार्यालयमा पुगेर सुरक्षाकर्मीको अगाडी नै तोडफोड गर्दै नाराबाजी गरेका थिए।
बिहीबार राति करिब ९ः३० बजे तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही व्यक्तिले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद सुरु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दांगको घोराही आउने क्रममा आयोजना गरिएको स्वागत कार्यक्रममा एमालेको झण्डा जलाइएको थियो।
झण्डा जलाएको विरोधमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरूले शुक्रबार साँझ तुलसीपुरस्थित रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड गरेका हुन्। उनीहरूले बालेन शाह र रास्वपाविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको छ। घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार घटनामा संलग्न तीन जनाको पहिचान भएको र तीमध्ये दुई जना फरार रहेको र तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बस्नेतलाई मात्र पक्राउ गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको भन्दै उनी पक्राउ परेका हुन् ।
बिहीबार रास्वपा सभापति लामिछानेको स्वागतका लागि आयोजित कार्यक्रमको भीडमा केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न साथै संयमित एवं जिम्मेवार व्यवहार प्रदर्शन गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई प्रहरीले अनुरोध समेत गरेको छ।
प्रहरीका अनुसार घोराहीमा आयोजित कार्यक्रममा सहभागी हुन रवि लामिछाने र बालेन शाह आउने भन्ने खबरपछि तुलसीपुरको वीरेन्द्रचोकमा भेला भएका समर्थकहरूले एमालेको झण्डा जलाएको आरोप एमाले कार्यकर्ताहरुले लगाएका छन। चुनाब नजिकिंदै गर्दा दलका कार्यकर्ताको बिचमा तनाव बढेपछि तुलसीपुर क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ। चुनाव नजिकिँदै गर्दा दलहरूबीचको टकराव सडकसम्म पुगेपछि जिल्लामा राजनीतिक माहोल थप तातिएको छ।















