काठमाडौँ, प्रतिनिधिसभाको निर्बाचनको दिन फागुन २१ गते नजिकिंदै गर्दा सरकारले निर्बाचनको बिरोध गर्नेहरुलाई पक्राउ गर्ने क्रमलाई तिब्रता दिन थालेको छ। निर्बाचनको सम्बन्धमा र सरकारमा बस्नेहरु एबम अन्यको बिरुद्धमा बिभिन्न किसिमको अभिव्यक्ति दिएको आरोपमा मेडिकल ब्यबसायी दुर्गा प्रसाईंलाई पटक पटक पक्राउ गरेको सुशिला कार्की नेतृत्वको सरकारले अन्यलाई पनि पक्राउ गर्ने क्रमलाई निरन्तरता दिएको छ। यस क्रममा प्रसाईंका समर्थकहरु र अन्य बिभिन्न दलका नेतालाई पनि पक्राउ गरिरहेको छ ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिए । हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको उनले बताए ।
उनका अनुसार मंगलबार राति नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको छ । उनीहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएका थिए । नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचनविरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई निगरानीमा राखेको छ ।
यसैगरी, सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहमा आबद्ध सुनिल प्रसाद(एसपी) शाहलाई पनि पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ पक्राउ परेपछि उनको पक्राउको विरोधमा शाहले गाडी आगजनी गर्न र भिडियो खिचेर पठाउन समर्थकहरूलाई निर्देशन गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।
उनलाई बबरमहलबाट मंगलबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन । शाह बाराका स्थानीय हुन् । यसअघि साेमबार प्रहरीले मेडिकल ब्यबसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे थियाे । दुर्गा प्रसाईंलाई उनको निवासबाट रातिको समयमा पक्राउ गर्न ठुलो संख्यामा प्रहरी परिचालान गरिएको थियो यसरि सरकारले एक पछि अर्को गर्दै पक्राउको अभियानलाई तिब्रता दिएको छ
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले महासचिव धर्मेन्द्र बास्तोलाको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ पार्टीले मंगलबार राति प्रेस वक्तव्य जारी गर्दै पक्राउ परेका बास्तोलासहति पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको हो । जारी वक्तव्यमा महासचिव बास्तोला र काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई संगठनात्मक कामकै क्रममा साँझ काठमाडौँको खिचापोखरी स्थित टेबहालबाट गिरफ्तार गरिएको उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका महासचिव कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र काभ्रे जिल्ला सेक्रेटरी कमरेड विष्णु तिमिल्सिनालाई संगठनात्मक कामको सिलसिलामा गएको बेला काठमाण्डौंको खिचापोखरी स्थित टेबहालबाट वर्तमान सरकारले गिरफ्तार गरेको छ । उक्त बक्तव्यमा ‘देशव्यापी नेपाल बन्दको कार्यक्रम शान्तिपूर्णरुपमा र जनताको भरपुर सहयोगकासाथ सम्पन्न भए लगतै साँझको समयमा अत्यन्त कायरतापूर्ण शैलीमा गरिएको गिरफ्तारीप्रति पार्टी घोर भर्त्सना गर्दछ ’ भनिएको छ।
पार्टीले चुनावको विरोधका क्रममा गरिएको गिरफ्तारीलाई न्यूनतम लोकतान्त्रिक अधिकारको उपहास भन्दै संवाद र सहमति विपरीत कदम भएको टिप्पणी गरेको छ । साथै मानवअधिकारवादी संघ–संस्थालाई रिहाइका लागि पहल गर्न अपिल समेत गरेको छ।















