पोखरा, नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले आफ्नो चुनावी अभियानलाई सहर केन्द्रित बनाएका छन् । पहिलो चरणमा मादी र रुपा गाउँपालिकामा भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन सकेर उनी बजार क्षेत्रको घरदैलोमा होमिएका हुन् ।
अभियानअन्तर्गत रानाभाटले सोमबार पोखरा महानगरपालिका–२६ का विभिन्न टोल र बस्ती गरी १४ स्थानमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन् । सो क्रममा उनले वडाभित्र भएका विकास निर्माणका कामको अवलोकन गर्दै थप योजनाका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
घरदैलोका क्रममा पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले अहिलेसम्म भएका जनप्रेमी कामलाई निरन्तरता दिन रानाभाटको जित आवश्यक रहेको बताए । ‘अबको युग डिजिटल युग हो, त्यसैले युवामैत्री र डिजिटल विकासमा सबैले हातेमालो गर्नुपर्छ,’ थापाले भने ।
वडाध्यक्ष थापाले रानाभाटको विजयसँगै केन्द्रमा कांग्रेसको सरकार बन्ने र गगन थापा प्रधानमन्त्री हुँदा पोखराको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जनप्रतिनिधिहरू तीर्थराज भाट, सुदीपराज ढुंगाना, स्थानीय समाजसेवी तथा राजनीतिज्ञ ध्रुव विक, श्रीमाया विक, विनीमाधव अधिकारी, पार्वती बराल, बद्रीनाथ ढुंगाना, सरोज विक, जगन्नाथ तिमिल्सिना, सरस्वती गौतम, विक्रम ओझा, शारदा बराल, राजु गुरुङ, क्षेत्र प्रधान, माया भण्डारी, हरिबहादुर लामिछाने र रामबहादुर रानामगर लगायतले रानाभाटलाई जितको शुभकामना दिएका थिए ।
नेपाली कांग्रेस पोखरा–२६ का सभापति शिवबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव ईश्वरी अधिकारीले गरेको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिए ।















