पोखरा, पर्यटकीय राजधानी पोखरामा झण्डै एक महिनासम्म फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित हुन थालेको छ । फोहोरको सही व्यवस्थापनमा चुक्दा पोखरा महानगरपालिकाको लागि टाउको दुखाइको विषय बन्दै आएको छ।
यसैक्रममा, विभिन्न राजनीतिक दल, सरोकारवाला निकायले फोहोरमैला व्यवस्थापन समस्या सम्बन्धमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार पोखरा महानगरपालिकाको आयोजनामा भएको सर्वदलीय, सर्वपक्षीय बैठकका सहभागीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले पर्यटकीय नगरी पोखराको साख विश्वबजारमा रहेको उल्लेख गर्दै पोखरालाई सफा राख्नुको विकल्प नभएकोमा जोड दिए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर अधिकारीले पोखरेलीको मर्यादा अन्तराष्ट्रियस्तरसम्म फैलिएको जनाउँदै त्यसमा पछिल्लोपटक फोहोर व्यवस्थापनले चुनौती थपेको धारणा राखे । ‘हाम्रो काम समन्वय एवं अनुगमन गर्ने हो । त्यसमा लागि समिति सधैँ तयार छ,’ उनले भने, ‘गर्मी बढ्दैछ, चाँडै नै फोहोरको व्यवस्थापन गर्नुपर्दछ ।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हालको फोहोर अल्पकालीन व्यवस्थापन गरी दीर्घकालीन उपायका लागि स्थायी प्रशोधन केन्द्र निर्माणतर्फ महानगर अग्रसर रहेको जनाए । उनले विभिन्न बाध्यता, विवशता एवं कतिपय अवस्थामा हेलचक्राइँले फोहोर व्यवस्थापनमा समस्या आएको तर्क गर्दै महानगर फोहोरको दीर्घकालीन व्यवस्थापनमार्फत मोहर आर्जन गर्ने पक्षमा रहेको बताए ।
‘हामीले स्थायी प्रशोधन केन्द्रमार्फत फोहोरबाट ग्यासदेखि बिजुलीसम्म निकाल्ने गरी प्रक्रिया अगाडि बढाएका छौं । त्यसका लागि युरोपियन टेक्नोलोजिबाट पिपिपी मोडलमा कार्य हुँदैछ,’ उनले भने । उनले अबको ३ दिनभित्र पोखराका सडकबाट फोहोर उठ्न सुरु हुने आश्वासनसमेत दिए ।

पोखरा महानगर अस्थायी रुपमा फोहोर बिर्सजन गर्ने ठाउँको खोजीमा रहेको स्पष्ट पार्दै उनले त्यसका लागि सहयोग गर्ने राजनीतिक दल, नागरिक समाजलगायत आमपोखरेलीमा आग्रह पनि गरे ।
गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले पोखरामा फोहोरमा राजनीति हुनु दुःखद भएको बताए । उनले फोहोर व्यवस्थापन तीनवटै सरकार एवं महानगरवासीको साझा दायित्व भएको उल्लेख गरे ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले फोहोर व्यवस्थापन सबै तहको दायित्व भएको धारणा राख्दै सबै मिलेर समाधान गर्नुपर्ने जनाइन् ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मापदण्डअनुसार फोहोर व्यवस्थापनमा सघाउन गृह प्रशासन तयार रहेको स्पष्ट पार्दै व्यवस्थापनमा चुनौती खडा गर्नेलाई कानूनी दायरामा ल्याइने बताए ।
नेपाली काँग्रेसका प्रतिनिधि नवीन सिग्देलले फोहोर व्यवस्थापनमा सहयोग गर्न पार्टी तयार रहेको स्पष्ट पार्दै फोहोरको डङ्गुरमा राजनीति नहुने स्पष्ट पारे ।
नेकपा (एमाले) कास्कीका उपाध्यक्ष भेषराज बरालले स्वास्थ्य सबैको सम्पति भएको उल्लेख गर्दै पार्टीले फोहोरमा राजनीति नगर्ने स्पष्ट पारे । उनले पार्टी संकारलाई जीवन्त राख्न प्रमुख आचार्यलाई सुझाव दिँदै चुनावको बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आचार्यको ध्यानाकर्षण गराए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विश्वप्रकाश लामिछानेले प्राविधिक हिसाबले तत्काल उपयुक्त स्थानमा फोहोर बिर्सजन गर्नुपर्ने जनाउँदै व्यवस्थापनबारे दीर्घकालीन योजना कार्यान्वयनलाई शीघ्र अगाडि बढाउन सुझाव दिए ।
कार्यक्रममा नागरिक अभियन्ता रामबहादुर पौडेल, गैरसरकारी संस्था महासंघका रामप्रसाद सुवेदी, वातावरण अभियन्ता चन्द्रबहादुर गुरुङ, महानगरका इञ्जिनियर नेत्र तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका नारायणप्रसाद आचार्य, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर केसी, श्रम संस्कृति पार्टीका आशीष थापा, जनता समाजवादी पार्टीका मधुकर न्यौपाने, स्वतन्त्र उम्मेदवार डा. नीरञ्जन कोइराला, स्थानीय दीपकबहादुर थापा लगायतले पनि धारणा राखे ।
उनीहरुले फोहोर व्यवस्थापनमा स्वयम्सेवक बन्न आफूहरु तयार रहेको, महानगरले फोहोर वर्गीकरण गर्नुपर्ने, फोहोरलाई मानवबस्ती तथा खानेपानी मुहान क्षेत्रभन्दा टाढा लगी खाडल खनेर पर्नुपर्ने, मापदण्डअनुसार फोहोर व्यवस्थापन हुनुपर्ने, वडा कार्यालयलाई पनि फोहोर व्यवस्थापनमा सहभागी गराउनुपर्नेसमेतका सुझाव दिए ।
महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले गरे ।
यसअघि, फोहोर व्यवस्थापनका लागि महानगरले विभिन्न वडाका १६ ठाउँमा जग्गा खोजी गरे पनि हालसम्म उपयुक्त ठाउँ छनोट गर्न सकेको छैन ।
वास्तवमा पोखराको फोहोरमैला व्यवस्थापन पेचिलो बन्दै आएको छ । पोखरा–१४, बाच्छेबुडुवामा विगतमा सञ्चालित ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल आएकै दिनदेखि बन्द गरिएको थियो । तत्पश्चात् पोखरा–३२, लामेआहालमा ६ महिनाका लागि भनी अस्थायीरुपमा सारिएकोमा ठिक ३ वर्ष बितिसक्दा महानगरले अझसम्म विकल्प दिन सकेको छैन ।
पछिल्लो समय पोखरा–३३, झाक्रीखोला देव्रेवरमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रियाको प्रारम्भिक प्रक्रिया सुरु गरिएकोमा स्थानीय त्यहाँ अवरोध गर्दा काम अघि बढेको छैन ।















