इटहरी, कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजित ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन गरिएको छ । उक्त अवार्ड कार्यक्रम फागुन ७ गते इटहरीमा हुने भनिएकोमा अब चैत्र ७ गते हुने भएको जानकारी आयोजक नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन गइरहेको र निर्वाचन आयोग नेपालले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको समयतालिका पुनरावलोकन गरिएको आयोजकले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै जनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।















